कोरोना गीत : ‘रोगभन्दा बढी त्रास फैलियो हैरान’


‘संसारभरि दसौं हजार मान्छे मरिरा’छ

अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ

डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ

यो बेलामा हामी सबै सचेत बन्नुपर्छ

आउँदै छ कोरोना भाइरस

विश्वभर आतंक छाइरहा’छ…..’

विश्वव्यापी संक्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरू गीत, संगीतका माध्यमबाट यस अभियानमा जुटेका छन् । लकडाउन लागू भएदेखि अत्यावश्यक सेवाबाहेक बन्द मानिस घरमा परिवारसहित बसेर मनोरञ्जन लिँदै हेर्न मिल्ने यस्ता कोरोनाविरोधी सचेतनामूलक गीत युट्युब र सामाजिक सञ्जालमा छाउन थालेका छन् ।

चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको यो भाइरसबारे सुरुमा आमनेपालीले धेरै बुझेका थिएनन् । पछि विश्वव्यापी संक्रमण भएपछि सञ्चारमाध्यमबाट यसको जोखिम र असरबारे चाल पाए । नेपाल टेलिकमको ‘रिङ ब्याक टोन’का माध्यमबाट पनि धेरै मानिस सचेत भएका थिए । यी गीतले कोरोना भाइरसलाई अझ सरल रूपमा बुझाएको छ भने यसबाट बच्ने तरिकालाई जनहितमा गीतिशैलीमा प्रस्तुत गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका लागि गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको यो गीतमा नरेश खाती र एनिला चौहानको स्वर र गोमा परिवारको शब्द रहेको छ भने कलाकार कोमल वली, दीपाश्री निरौला, बद्री पंगेनी, रमेश बीसी, पशुपति शर्मा, पत्रकार ऋषि धमला आदिले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

‘अंकमाल हात लाउन आजैबाट छोडौं
भेटघाट हुँदा नमस्कार गर्दै हात जोडौं
स्वस्थ बन्न सक्छौं आफ्नै आनी र बानीले
मास्क लगाऊ, हात धोऊ हजुर साबुन र पानीले
डराउनैपर्ने त छैन है
ख्यालठट्टा गर्ने नि होइन है…’

मानवीय सुरक्षासँग जोडिएको यस सवालमा ‘बाँचौं र बचाऔं’को उद्घोषसहित डा. बाबुराम अधिकारीको शब्द रचना, सागर गुरुङ र प्रेक्षा लम्सालको स्वरमा प्रिज्म स्टुडियोले अर्काे गीतिभिडियो प्रस्तुत गरेको छ :

‘नजाऊँ कतै भीडभाड हुने ठाउँ
आउन सक्छ सहर सबै गाउँ
बनौं सचेत
आत्तिनुपर्दैन
सावधानी अपनाऊँ है हुन्नौं अचेत….’

कोरोनाविरुद्ध चेतनामूलक गीतका साथै विभिन्न टेलिभिजनका हास्यकार्यक्रम र टेलिशृंखला यही अभियानमा सामेल भएका छन् । नेपाल टेलिभिजनको ‘मुन्द्रेको कमेडी क्लब’ले कोरोनाविरुद्ध जनचेतनामूलक हास्य प्रस्तुति दिन थालेको छ । चिकित्सकलाई नै कार्यक्रममा उपस्थिति गराएर रमाइलो शैलीमा कोरोना भाइरस र यसको बचावबारे प्रस्तुति दिन थालिएको छ ।

‘एमएमएस इन्टरटेन्ट’ले पनि रिमिक्स शैलीमा ‘रोगभन्दा बढी त्रास फैलियो हैरान’ बोलको ‘कोराना…’ गीत बाहिर ल्याएको छ । सचेत रहन नागरिकले नागरिकका लागि भन्दै सामाजिक सञ्जालमा विभिन्न चेतनामूलक र जानकारीमूलक सन्देश पनि समावेश गर्न थालेका छन् । यस्तो संवदेनशील घडीमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट गलत सूचना र अफवाह फैलाउनेलाई कानुनी काराबाहीको प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्