५६ फिट अग्लो ‘छाँगेझरना’ पुग्नेको भीडभाड


पर्यटकीय क्षेत्र धुलिखेलमा रहेको ‘छाँगेझरना’ प्रचार–प्रसार अभावले ओझेलमा परेको छ । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१ र २ को संगमस्थलमा रहेको ‘छाँगेझरना’ प्रचार–प्रसार अभावमा ओझेलमा परेको हो ।

५६ फिट अग्लो झरना हेर्न तथा झरनाको पानीमा खेल्न र नुहाउन जानेको संख्या पछिल्लो समयमा वृद्धि भए पनि प्रचार–प्रसार कम भएका कारण पर्यटकको रोजाइमा पर्न नसकेको स्थानीय बताउँछन् ।

बनेपा र धुलिखेल बजारबाट नजिकै पर्ने देवीटार र रविओपीको संगमस्थल छाँगेटोलनजिकै रहेको ‘छाँगेझरना’ प्रचारमा आउन थालेसँगै पछिल्लो समय घुम्न जानेको वृद्धि हुन थालेको हो । धुलिखेल–१ छाँगेटोलका अम्बिका बजगार्इंले छाँगा पहिलादेखि नै भए पनि बन्दाबन्दीपछि चर्चामा आउन थालेको बताइन् । ‘पछिल्लो समयमा बन्दाबन्दीका कारण मानिस कहाँ जाने, कता जाने भइरहेको अवस्थामा बनेपाबाट नजिक रहेको झरनामा रमाउन र नुहाउनका लागि धेरै मानिस आउन थालेका छन्,’ उनले भनिन्, ‘पहिला–पहिला कम मात्रामा मान्छे आउने गरेका थिए । पछिल्लो समयमा सबैले थाहा पाउन थालेसँगै छाँगेझरनामा रमाइलो गर्न आउनेको संख्या बढ्न थालेको हो ।’

यो ठाउँ छाँगा भएकाले टोलको नाम नै देवीटारको छाँगेटोल भन्दै आएका छन् । बिस्तारै प्रचार हुन थालेपछि गाडीसहित आउनको भीडभाड लागेको छ । सोही टोलका अर्का युवा जयराम बजगार्इंले छाँगेझरनालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न वडा र नगरपालिकालाई आग्रह गरिरहेको बताए ।

‘हामीले सुरुमा त्यहाँको पूर्वाधारका लागि मोटरबाटो लैजानुपर्छ भनेर भनिरहेका छौं । वडाले पनि सकारात्मक लिएको छ,’ उनले भने, “अहिले बाटो नहुँदा त पाखापाखा हिँडेर मानिस आउन थालेका छन् भने बाटो र अन्य सुविधा भएपछि आन्तरिक पर्यटकको आगमन बढ्ने भएकाले त्यसका लागि सबै लागिपरेका छौं ।’

झरनाको प्रचार–प्रसारमा कमी भएकाले स्थानीय युवाको अगुवाइमा बनेपाबाट छाँगेझरना आउनेका लागि सजिलो होस् भनेर ठाउँ–ठाउँमा साइन बोर्ड राखेर सहज बनाइएको छ । वडा नम्बर १ का वडाध्यक्ष रमेशप्रसाद घोरसाइनेले छाँगेझरनालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न वडा र नगरपालिकाबाट प्रयत्न भइरहेको बताए । झरना हेर्न जानेको संख्या बढ्दै गए पनि अझै प्रचार–प्रसार कमीका कारण ठाउँ–ठाउँमा झरना जाने बाटोमा साइन बोर्ड राख्ने र त्यसबारे जानकारी दिने काम भइरहेको वडाध्यक्ष घोरसाइनेले बताए ।

त्यसका लागि नगरपालिकाले गुरुयोजना बनाइसकेको उनले जानकारी गराए । ‘झरना वडा नम्बर १ र २ को संगमस्थलमा पर्ने भएकाले झरनासम्म जानका लागि वडा नं १ बाट मोटरबाटो निर्माण गर्ने र वडा नम्बर २ बाट पैदलमार्ग बनाउने विषयमा प्रक्रिया अगाडि बढाउने काम छिट्टै हुनेछ,’ उनले थपे, ‘त्यससँगै त्यहाँ घुम्न जाने पर्यटकका लागि झरना हेर्न मिल्नेगरी दुई गाउँबीच जोड्ने झोलुंगेपुल बनाउने, वरिपरि घुम्ने, विश्रामस्थल र खानपानका लागि होमस्टे (घरवास) व्यवस्थापन गर्न स्थानीयलाई समेत आग्रह गरेका छौं ।’

पर्यटकीय गन्तव्य बनाउन वडासँगै स्थानीयको साथ र सहयोग आवश्यक भएकाले त्यसतर्फ समेत छलफल र पहल भइरहेको उनले बताए । सहरको भीडभाड र कोलाहलबाट मुक्त हुन सहरनजिकै शान्त ठाउँमा रहेको झरनामा रम्न सकिने भएकाले यस ठाउँको विकास गर्न सकेमा छाँगेझरना पर्यटकीय गन्तव्य स्थल बन्ने प्रबल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्