कोरोनाका कारण अधिकांश मानिस बेरोजगारी तथा फुर्सदिला छन् । कोरोना संक्रमणको दर बढ्दै गएपछि मानिस एकान्त, खोलानाला र प्राकृतिक सौन्दर्यमा रमाउन थालेका छन् । एकान्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण गलकोट नगरपालिका–३ हटियाको सहस्रधारा झरनाले आन्तरिक पर्यटकलाई आकर्षण गर्न थालेको छ ।
तीन वर्ष अघिदेखि मात्रै प्रवद्र्धन गर्न थालिएको उक्त झरना कोरोना छल्ने निहुँ बन्दै आएको छ । कोरोनाका कारण सहरमा लकडाउन र निषेधाज्ञा भएपछि हटियाको सहस्रधारा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । अहिले सहस्रधारामा दैनिक १०० देखि २०० आन्तरिक पर्यटक रमाउन पुग्ने गरेका छन् । कोरोनाले आक्रान्त पारेको मान्छेलाई झरनाको कलकल बग्ने पानीले मनै लोभ्याउन थालेपछि आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ ।
बागलुङ बजारमा व्यवसाय गर्दै आएका कृष्ण लामिछाने लामो समयको बन्दाबन्दी र पुनः निषेधाज्ञाका कारण घुम्नका लागि एकान्त स्थान खोज्दै सहस्रधारा झरनामा आएको बताऐ । ‘सहरमा भीडभाड बढी हुन्छ तर अहिले व्यापार व्यवसाय ठप्प छ,’ लामिछानेले भने, ‘कोरोना छल्न गाउँमा बस्दा कहिले एकान्तमा रहेका पर्यटकीय स्थलमा पुगेर आनन्द लिने गरेको छु ।’
कोरोनाका कारण गलकोट नगरपालिकाले झरना अवलोकनका लागि कुनै रोकावट र फुकुवा नगरे पनि आन्तरिक पर्यटक स्वतःस्फूर्त रूपमा झरना अवलोकनका लागि पुग्ने गरेको नगरपालिकाले जनाएको छ । पर्यटकको संख्या ह्वात्तै बढेको छ । कोरोनाका कारण फुर्सदिला विद्यार्थी तथा व्यवसायीले अहिले दिनभर झरनामै रमाउने, तस्बिर खिच्ने तथा टिकटक बनाउने गरेका छन् ।
नगरपालिकाको केन्द्र हटियादेखि तीन किलोमिटरको दूरीमा पदमार्ग र सडक मार्गमार्फत पुग्न सकिने अनकन्टार जंगलबीचमा रहेको झरनाले पर्यटकको मनै लोभ्याउन थालेपछि पूर्वाधारलाई समेत जोड दिइएको छ । उक्त झरनामा साहसिक खेलका रूपमा रहेको क्यानोनिङ (छाँगा आरोहण)लाई व्यावसायिक बनाएर बाह्य पर्यटकलाई समेत भित्र्याउन थालिएको गलकोट–३ हटियाका वडाध्यक्ष वीरजंग भण्डारीले जानकारी गराए ।
हालसम्म झरनाको पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारको ११ लाख र गलकोट नगरपालिकाको नौ लाख गरी २० लाख रकम खर्च भइसकेको भण्डारीले सुनाए । ‘हामीले सहस्रधारा झरनालाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेका छौं,’ उनले थपे, ‘क्यानोनिङ खेलका लागि चार लाखबराबरको आवश्यक सामग्री खरिद गरिसकेका छौं । कोराना महामारीपछि स्थानीय १२ जना युवालाई क्यानोनिङको तालिम दिन्छौं ।”
झरनामा क्यानोनिङ खेल सञ्चालनका लागि सफल परीक्षणसमेत भएपछि व्यावसायिक रूपमै वडा कार्यालयले क्यानोनिङ सुरु गर्न थालेको हो । हालसम्म झरनामा पुग्ने पदमार्ग, झरनामा पोखरी निर्माण, शौचालय, पोसाक परिर्वतन कोठा, बगैंचा निर्माण भएको छ । झरनाको पानीले बर्खामा पदमार्ग बगाउन थालेपछि आगामी वर्ष पक्की नाली निर्माण गरी झरनाको पानी व्यवस्थित गर्ने वडा कार्यालयको योजना छ ।
आन्तरिक पर्यटक शंकर जिसीले झरना आसपासमा अझै भौतिक संरचना अभाव रहेको भन्दै भौतिक संरचना निर्माण गर्दा झरनाको प्राकृतिक रूप बचाउनुपर्ने बताए । वडा कार्यालयले तीन वर्षअघि झरनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको छ । डीपीआरमा झरना हेर्नका लागि झोलुंगेपुलदेखि स्वीमिङपुलसमेत बनाउने उल्लेख छ । झरना नजिकै गलकोटका ओम पन्तले रिसोर्टसमेत निर्माण गरिरहेका छन् ।
कोरोना महामारी र बन्दाबन्दीकै अवस्थामा बागलुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने र स्थापित गन्तव्यमा स्वास्थ्य सुरक्षा अपनाएर घुम्ने काम भइरहेको छ । बन्दाबन्दीमै बागलुङ–६ र ७ को सिमानास्थित बैजनीको पाखोमा बुद्धको आकृति भएको पहाड फेला परेपछि नयाँ गन्तव्यका रूपमा बुद्ध हिल नामकरण गरी प्रचार–प्रसारसमेत थालिएको छ ।