तिलुङ भाषा बचाउने २ जुक्ति



क्राउसले (इस्वी संवत् १९९९) विश्वका ५० देखि ९० प्रतिशत भाषा २१औं शताब्दीको अन्त्यसम्ममा लोप हुनेछन् भनेका थिए । उनकै एस्टिमेसनलाई आधार मानेर क्रिस्टलले (इसं २०००) विश्वमा प्रत्येक दुई हप्तामा एउटा भाषा मर्दै छ भनेका थिए । दुवैजनाको एस्टिमेसन सही नभए पनि स्थिति राम्रो छैन । हालसालै युनिभर्सिटी अव हवाई एट मनोवाद्वारा सञ्चालित दी एनड्यानजर्ड ल्याङवेज क्याटलग प्रतिवेदनअनुसार विश्वमा तीन महिनामा एउटा भाषा लोप हुँदै छ । हाम्रो नेपालको स्थिति अझ दयनीय छ । यहाँ सबैभन्दा बढी भोट–बर्मेली परिवारका भाषाहरू बोलिन्छन् र सबैभन्दा बढी लोप हुने खतरा पनि यसै परिवारका भाषाहरूलाई छ । जसमा एउटा उदाहरण हो– तिलुङ भाषा ।

–प्रा.डा. विष्णु एस राई/तिलक चाम्लिङ । तिलुङ राई भाषाका ऐतिहासिक अवस्था । भाषा आयोग–२०७५ बाट

बेलुका हुँदै थियो । घाम भुम्जुडाँडा कटिसकेको थियो । तिलुङ भाषा अनुसन्धान गर्ने भनेर प्रा.डा. विष्णु एस राई र म च्यास्मिटार पुग्यौं । उपसचिव झुमप्रसाद राईको पहलमा भाषा आयोगले यो काम गर्ने अवसर दिएको थियो । प्रा.डा. विष्णु एस राई र म यस काममा छानिएका थियौं । महासेर राईको स्टेसनरी पसल (च्यास्मिटार) मा तत्कालीन नेकपा एमाले जिल्ला नेता सुरेन्द्र राई र एमाओवादी केन्द्र जिल्ला नेता जीवन राई ‘संगीन’ सँग भेट भयो । उनीहरूलाई तिलुङ भाषाका लागि आउँदै छौं भन्ने थाहा रहेछ । हामीलाई दुवै नेताले चिनिहाले । सुरेन्द्रले प्रा.डा. विष्णु एस राईलाई दुई हात जोडेर मलाई हेर्दै भने, “लु साह्रै राम्रो । असल गुरु असल चेला । तिलुङ भाषा यहाँहरूको हातमा फेलापर्यो ।” गफ गरिरहने सुरेन्द्र रमाइलो मान्छे । विष्णु सर पनि दुई नेताहरूलाई भेटेर खुसी भए । गफ गरियो । च्यास्मिटारमा दुई नेतासँग रमाइलो भयो । स्थानीय दुई नेताको भेटले मलाई तिलुङ भाषाप्रति झन् ठूलो उत्तरदायित्व बोध भयो । सोचें, “तिलुङ भाषा मरिहाल्यो भने मलाई मर्नुहुन्छ ।” तिलुङ भाषा बचाउन सकिने अवस्था छ कि छैन भनेर प्रारम्भिक अनुसन्धानका लागि मात्रै हामी च्यास्मिटार पुगेका थियौं । यो भेटले मलाई झनै चिन्तित बनायो ।

म तीन कारणले चिन्तित भएँ । एक, मेरी आमा तिलुङ राई । मेरो मावली भाषा तिलुङ । किराती समूदायमा माउलीलाई ज्यादै ठूलो सम्मान गरिन्छ । यसको सांस्कृतिक महत्व छ । ‘कुरुङ्पा’ (मावली) बारे मुन्दुमी कथा छ । दुई, म स्थानीय व्यक्ति परें । हाम्रो अनुसन्धान प्रभावकारी भएन भने बिहान बेलुका भेटिने तिलुङ राईहरूले अनुसन्धान के खाले भयो हौ भनेर घोचिरहनेछन् । तीन, गोरखापत्र दैनिक पत्रिकामा राई भाषाहरूको सहसंयोजक (संयोजक भोगीराज चाम्लिङ) भएर दशकभन्दा बढी काम गरेको भाषिक अभियन्ता परें । मलाई यी तीन चिन्ताले बढी पोल्यो । भाषा आयोगले दिएको कामभन्दा बढी काम गर्न कसरी सकिन्छ भनेर सोच्न थालें । मलाई यो चिन्ताले झन् उर्जा थपिदियो ।

तिलुङ राईहरूको ऐतिहासिक तथा पुरानो थलो च्यास्मिटारलाई केन्द्र बनाएर उदयपुरको खुमलटारसम्म तिलुङ भाषाको अवस्थाबारे खोज गर्दै पुगें । खुमलटारमा नेपाली काँग्रेसका पुराना नेता जन्मजय राईले धेरै सहयोग गरे । तिलुङ भाषा जान्ने पुर्खाहरूसँग भेट गराइदिए । त्यसपछि डिकुवा, छोम्पाङ, ओफ्लाङ, पिप्चाई, पीपलटार, बाखापु, खनियाखर्क, खानीगाउँ, काचुपात्ला, रातमाटे र हलेसीसम्मका तिलुङहरूलाई भेट गरें । तिलुङ भाषाका लागि मलाई गाइड गरिरहेका थिए– पीपलटारका दानबहादुर राई र पिप्चाईका मिद्दिसेर राईले । र, भाषाको प्राज्ञिक गाइड गरिरहेका थिए– प्रा.डा. विष्णु एस राईले । मलाई यो भेटले तिलुङ भाषालाई बचाउन सकिन्छ भन्ने प्रतिवेदन तयार गर्न सजिलो भयो । भाषा आयोग, स्थानीय सरकार, तिलुङ समुदाय र अनुसन्धानदाताको सामूहिक भेला गर्न सक्नु तिलुङ भाषाका लागि ठूलो कुरा हो ।

हाम्रो अनुसन्धानले तिलुङ भाषा बचाउन सकिन्छ भन्यो । यो भाषा मरिसकेको छैन । तिलुङ भाषा बचाउनलाई के–के उपचार गर्नुपर्छ भनेर ‘प्रेस्क्रिप्सन’ लेख्न सजिलो भयो । भाषाविज्ञानले ‘दैनिक व्यवहारमा बोल्न छाडिएको भाषालाई मृत भाषा हो’ भन्छ । यो आधारमा तिलुङ भाषा मृत भाषा हो । तर कोमामा मात्रै पुगेको हो, घाटमा पुगिसकेको छैन । उपचार लाग्छ । बचाउन सकिन्छ । हाम्रो अनुसन्धानले तिलुङ भाषा बचाउने होइन । तिलुङ भाषा कसरी बाँच्छ भन्ने हो । यो २७ दिने लघु (सानो) अनुसन्धानमात्र हो । भाषा आयोगले प्रारम्भिक अनुसन्धानका लागि मात्रै पठाएको हो ।

तिलक चाम्लिङ

मानिस मरेजस्तै भाषा पनि एक दिन मर्छ । त्यसमा पनि तिलुङ भाषा अत्यन्तै डाँडाको घाम जून भएको भाषा हो । तर, तिलुङ भाषाको इतिहास सुरक्षित राख्नु ठूलो काम हो । तिलुङभाषी दानबहादुर राई (पीपलटार), होमबहादुर राई (चन्डिडाँडा), चिनकुमार राई, आलस राई, कालुभान राई, मिल्तसेर राई (पिप्चाई), बलबहादुर राई (भाग्रा), बलबहादुर राई (बाखापु), छत्रबहादुर राई, (बाखापु), दलबहादुर राई (सार्पा), ज्यानसेर राई (पीपलटार) उमेरले ६० भन्दा बढीका छन् । उनीहरू हुँदै तिलुङ भाषालाई डकुमेन्टेसन गर्नुपर्छ । उनीसँग भएका ज्ञानलाई रेकर्ड गरिहाल्नुपर्छ । अडियो भिडियो गरेर राखिहाल्नुपर्छ । उनीहरू हुँदा पनि यति काम गरिएन भने तिलुङ भाषा कोमामा हैन घाटमा पुगिसक्छ ।

तिलुङ भाषा बचाउने जुक्ति

प्रा.डा. विष्णु एस राईले भनेका छन्, “यी बूढाहरू भएकै बेला छिटोभन्दा छिटो काम गर्नुपर्छ । बूढोहरू हुँदै काम गरिएन भने तिलुङ भाषा कुनै माइकलालले बचाउन सक्दैनन् ।” अहिलेसम्म तिलुङ भाषा बचाउन सकिने दुई जुक्ति छन् ।

पहिलो जुक्ति

यो पहिलो जुक्तिले तिलुङ भाषा सबैले फररर्र बोल्न सक्ने बनाउने होइन । तिलुङभाषी वक्ता बढाउने पनि होइन । यसले ‘एकेडेमिक’ काममात्रै गर्छ । तिलुङ भाषालाई ‘डकुमेन्टेसन’ गर्छ । अथवा यी निम्नतपसिलका काम गर्न सकियो भने तिलुङ भाषा सुरक्षित रहन्छ । अर्थात् मरिहाल्न दिँदैन । जसका लागि यी काम तत्कालै गर्नुपर्छ ।

(१) तिलुङ भाषाको पाठ संकलन, (२) तिलुङ भाषाको शब्दकोश निर्माण, (३) तिलुङ भाषाको व्याकरण निर्माण, (४) तिलुङ भाषाको लोककथा संकलन, (५) तिलुङ भाषाको संस्कार संस्कृति (मुन्दुम) सङ्कलन, (५) तिलुङ भाषाका पाठ्यक्रम पाठ्यपुस्तक निर्माण, (६) तिलुङ भाषाको स्थाननाम संकलन, (७) तिलुङ भाषामा अडियो भिडियो तथा साहित्यसम्बन्धी पुस्तक प्रकाशन ।

यी माथिका काम ‘डकुमेन्टेसन’ मात्रै हुन् । यसले तिलुङ भाषालाई सुरक्षा गर्ने काम मात्रै हुन् । यति काम तिलुङ पुर्खाहरू हुँदा नै सक्नुपर्छ । त्यति काम गरिसकेपछि तिलुङ भाषा सुरक्षित हुन्छ । स्थानीय सरकारमा यी काम गर्ने अधिकार भएकाले तिलुङ भाषाका लागि स्थानीय सरकार अर्थात् हलेसी तुवाचुङ नगरपालिकाले यी कामलाई प्राथमिकतामा राख्नुपर्छ ।

दोस्रो जुक्ति

तिलुङ भाषा बचाउन यो ज्यादै अनुकूल समय हो । भाषासम्बन्धी काम गर्ने सबैभन्दा माथिल्लो संवैधानिक निकाय भाषा आयोग हो । भाषा आयोग अध्यक्ष डा. लवदेव अवस्थी स्वयम् तिलुङ भाषा बचाउनुपर्छ भनेर च्यास्मिटार आइसकेका छन् । तिलुङहरूको भेलामा तिलुङ भाषा बचाउन सकिने रहेछ भनेका छन् । तिलुङ भाषाका मूल थलो हलेसी–तुवाचुङ नगरपालिका हो । तिलुङ भाषा यो नगरपालिकाको गहना हो । यहाँ तिलुङ भाषाबाहेक अरू भाषा पनि छन् । तर, तिलुङ भाषाको ऐतिहासिक थाले यही नगरपालिका हो । त्यसकारण तिलुङ भाषा बचाउन स्थानीय सरकारले नै ध्यान दिनुपर्छ । तिलुङ भाषा स्थानीय क्षेत्राधिकारभित्र पर्छ । अर्को निकै राम्रो अवसर भनेको हलेसी–तुवाचुङ नगरपालिकाको उपप्रमुख बिमला राई तिलुङ समुदायकै छन् । उनलाई पनि आफ्नो कार्यकालमा तिलुङ भाषामा काम गर्नुपर्छ भन्ने चिन्ता छ ।

स्थानीय सरकारले यो पालिकामा रहेका सबै भाषाप्रति समान व्यवहार गर्नुपर्छ । तर, समुदायले आफ्नै तिलुङ उपप्रमुखजस्तो शक्तिशाली ठाउँमा रहँदा पनि तिलुङ पहिचाबारे केही गरेनन् भन्ने आरोप नआउला भन्न सकिन्न । तिलुङ भाषा समृद्धिका लागि अहिले उपयुक्त समय हो । यो बेला पनि तिलुङ भाषालाई कोमाबाट फर्काउन सकिएन भने ठूलो भूल हुनेछ । पछिल्ला पुस्ताले गाली गरिरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्