चार वर्ष लगाएर जनस्वास्थ्य कार्यालय भवन निर्माण



खोटाङ । जिल्ला जनस्वास्थ्य कार्यालयको नयाँ भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण विभागको दुई करोड ३६ लाख ६९ हजार ९२२ लागतमा बनेको तीनतले भवन गत शुक्रबार निर्माण कम्पनीले जनस्वास्थ्य कार्यालयलाई बुझाएको हो ।

खानी निर्माण सेवा कम्पनीले चार वर्ष लगाएर निर्माण गरेको भवनमा २८ कोठा छन् । भवनभित्रै चिसो र तातोपानीको व्यवस्था रहनेगरी भौतिक संरचना निर्माण गरिएको निर्माण कम्पनीका प्रतिनिधि दिनेश पौडेलले जानकारी दिए ।

भवनको पहिलो तलामा प्रयोगशाला तथा आकस्मिक कक्षसहितको सेवा उपलब्ध गराउनेगरी तयारी गरिएको अस्पताल विकास तथा सञ्चालक समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले बताए । दोस्रो तलामा कार्यालय र तेस्रो तलामा कर्मचारी आवास रहने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

संवत् २०७३ वैशाख ३० गते सम्झौता गरेर २०७७ असोज ३० गते भवन निर्माण सम्पन्न गरिए पनि कोभिड–१९ का कारण भवन हस्तान्तरणमा केही ढिलाइ भएको थियो । नयाँ भवनबाट कार्यालयका सम्पूर्ण उपकरण व्यवस्थापन गरी चाँडै सेवा–सुविधा उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख छविलाल आचार्यले जानकारी दिए ।

०४८ मा स्थापित जिल्ला अस्पतालमा भौतिक संरचना नहुँदा कार्यसम्पादनमा समस्या हुँदै आएको थियो । स्थापनाकालदेखि हालसम्म १५ शय्या सञ्चालन हुँदै आएको जिल्लाको एकमात्र सरकारी अस्पताललाई यस वर्ष ५० शय्यामा स्तरोन्नति गर्ने तयारी गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्