चोलो सिलाएरै महिनामा ५० हजार


प्रविका राई

लगन र परिश्रमसाथ काम गरेमा धन कमाउन विदेश होइन स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उदाहरण विराटनगरका बुटिक सञ्चालकले दिएका छन् । काम गर्दा पनि आफूभित्रको गहिराइ र आफूवरिपरिको वातावरणचाहिँ बुझ्नुपर्ने विराटनगर–९ स्थित एक बुटिक सञ्चालकले देखाएका छन् ।

न्यु लक्की बुटिकका सञ्चालक लक्की अलीले अहिले अन्य कामदारलाई रोजगार उपलब्ध गराई वार्षिक राम्रो आम्दानी गर्न सफल भएकी छन् । अली भन्छिन्, ‘काम भन्ने कुरा सानो र ठूलो हुँदैन । आफूलाई सन्तुष्टि प्राप्त हुने सीपमा परिश्रम र लगनशील भएर काम गरेमा परिवारको पालनपोषण राम्ररी गर्न सकिन्छ ।’

पहिला आफू मेकानिक भएर काम गर्ने गरेको तर पछि आफ्नो आमाले घरमा एकजना लुगा सिलाउने मास्टर हुनुपर्ने कुरामा जोड दिन थालेपछि लुगा कटाइ र सिलाइको काम सिकेको बताउँछिन् । उनले बजारमा नयाँ–नयाँ फेसन आउने हुनाले त्यसका लागि दक्षता हासिल गर्न काठमाडौं, भारतको कोलकाता, मुम्बई, दिल्ली र कस्मिरसम्म पुगेर विभिन्न नयाँ फेसनसम्बन्धी तालिम लिएको बताइन् । बुटिकको काम गर्दा रमाइलो लाग्ने गरेको र यो विशुद्ध हातको कला र सीप रहेको विचार व्यक्त गरिन् । उनले सञ्चालन गरेको बुटिकमा २४ जनालाई रोजगारी दिनुका साथै विवाह, व्रतबन्ध र विभिन्न धार्मिक कार्यक्रममा कामको चाप बढ्ने हुनाले थप कामदार करारमा राख्ने गरेको जानकारी दिइन् । उनले काम गर्ने कामदारको तलब न्यूनतम ३० देखि ५० हजारसम्म भुक्तानी गर्ने गरेको बताइन् ।

बुटिकका आफूले बनाएको लुगा सामान्यता तीन हजार ५०० देखि सुरु भई तीन लाखसम्म ग्राहकको रोजाइमा निर्माण गरी बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । ग्राहकले देखाएको र चाहेजस्तो सबै डिजाइन सामग्री बनाउने गरेको जनाउँदै ग्राहकको चाहना नयाँ–नयाँ नेपाली र भारतीय चलचित्र र टेलिभिजनको सिरियलमा नायिका लगाउने गरेको बताएका आधारमा निर्माण गर्ने अलीले जानकारी दिइन् ।

‘मुख्यतः महिला तथा युवतीले बनाउने लुगामा लेहेङ्गा चोली, गाउन, ब्राइडल लेहेङ्गा, डिजाइनर चोलो, सारी, भेलभेटको सारी र साना केटाकेटीको लेहेङ्गा र कपडा पास्नीमा लुगाको निर्माण गर्न आउने गरेको सुनाइन् । उनले बुटिकमा विराटनगरको मात्र नभएर अन्य ठाउँबाट समेत कपडा बनाउन ग्राहक आउने गरेको र नेपालबाहिर अमेरिका, जापान, अस्ट्रेलियामा समेत आफूलाई माया गर्ने ग्राहक रहेको बताइन् । उताबाट पनि धेरै अर्डर आउने र बनाएर बाहिर पठाउने गरेको उनको भनाइ छ ।

बुटिक सञ्चालक अलीले आफूले विभिन्नप्रकारका चलेको कपडा काठमाडौं, भारतको सुरत, कोलकता, धरानबाट मगाउने गरेको जानकारी गराइन् । उनले अहिले विभिन्न डिजाइनमा चलेका कपडा ग्राहकको रोजाइमा परेको नेपाली ढाका, भेलभेट कपडा, सिल्क, जरजेट, नेट, बनारसी, प्रिन्ट बुटाजस्ता कपडा ग्राहकको रोजाइमा परेको बताइन् ।

अहिले नेपालको उत्पादन ढाकाको कपडाको माग एकदमै बढेको र जेन्स र लेडिज दुवैको रोजाइमा यो परेको जानकारी दिँदै अलीले भनिन्, ‘ग्राहकले देखाको डिजाइनलाई पूरै निखार्न सक्नु आफ्नो बुटिकको खुबी हो ।

विराटनगरमा १८ वर्षदेखि गुड ह्वील बुटिक सञ्चालन गर्दै आएका अफताव अलीले पहिलाको तुलानामा अहिले ग्राहकको रोजाइमा बुटिक एकदमै रुचाउन थालेको बताए । अलीले भारतमा तयार हुने विभिन्न सिरियल र चलचित्रबाट प्रभावित नेपाली ग्राहक त्यसैअनुसारको लुगा लगाउन र सिलाउन मन गरेकाले हाम्रो बुटिकको काम बढेको र आम्दानी पनि राम्रो हुने गरेको चर्चा गरे । उनले पहिले सामान्य लुगामात्र सिलाउँथे तर ग्राहकको चाप र माग बढेदेखि बुटिक सेवा प्रारम्भ गरेपछि आम्दानीमा एक्कासि वृद्धि भएको जानकारी दिए । यसबाट आम्दानीमात्र होइन, स्थानीय ग्राहकको आवश्यकता पनि पूरा हुने गरेकाले आफूकहाँ आउने ग्राहक फेरि पनि आफ्नैमा आउने उहाँको भनाइ थियो ।

‘आफ्नो जीवनमा पैसा नभएर धेरै दुःख भोग्नुपर्यो । एक दिन मिल्ने साथीले सिलाइ–कटाइ सिक्न आग्रह गरिन्,’ विराटनगर–१२ मा न्यु जुनु बुटिक चलाउँदै आएकी जुनु मगर विगत सम्झँदै भन्छिन्, ‘पैसा पनि आफैं हालिदिने सर्तमा सामान्य लुगा सिलाउन सिक र गरिखाऊ भन्ने साथीको भनाइबाट प्रेरित भएर मैले यो सीप सिकें । हिजोआज मेरो अवस्थामा निकै सुधार र परिवर्तन आएको छ ।’

मैले सिलाएको लुगा ग्राहकले मन पराइदिएपछि मेरो व्यवसाय टिकेको हो भन्दै मगरले थप तालिम लिएपछि डिजाइजनर भएकी छन् । उनले आफ्नो व्यवसायमा तीनजना महिलालाई रोजगारीसमेत दिएको जानकारी गराइन् ।

आफू महिला भएकाले मकहाँ युवती आउन कुनै संकोच नमान्ने र शरीरको नाप लिएर बनाएका लुगा उनीहरूलाई राम्रो जाँच्ने तथा आकर्षक देखिने भएकाले पनि मेरो व्यवसाय राम्रो चलेको उनको भनाइ छ ।

सोनी सबनम बुटिकका सञ्चालक अली मियाले १२ वर्षदेखि बुटिकको काम गर्दै आएको र विवाहको मौसममा बुटिकबाट आम्दानी राम्रो हुने बताए । अरूबेला सामान्य हुन्छ । अहिले आफ्नो बुटिकमा नेटको कपडाको लुगा सिलाउने ग्राहक बढी आउने गरेको सुनाए । उनले बुटिकमा विराटनगर बाहिर दुहवी, खनारबाट समेत कपडा बनाउन आउने गरेको जानकारी दिए ।

बुटिकमा कपडा सिलाइ गर्दा ढाँचाअनुसारको ज्याला लाग्ने र सामान्य चोलो सिलाएको ४०० देखि दुई हजारसम्म रहेको छ । गाउनको सिलाएको ज्याला तीन हजार, लेहेङ्गा चोलीको ज्याला दुई हजार ५०० देखि १० हजार, कुर्ता सलवार सिलाएको ज्याला ४०० देखि एक हजार ५०० सम्म ज्याला निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्