एग्रो मनाङ प्रालिको स्याउ फार्म एसियाकै ठूलो


मनाङ । जिल्लाको स्याउ अहिले विश्वबजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ ।

हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आममानिसलाई लोभ्याउने हिउँले मनाङेलाई घरभित्र थन्क्याउँछ । बेंसी झर्न बाध्य बनाउँछ । तीन हजार पाँच सय १९ मिटर उचाइमा रहेको मनाङ सीमित खेतीयोग्य जमिन र उत्पादनमा रमाउँछ । गोराहरू उकालो लागे, पर्यटन फस्टायो तर प्रकृतिले दिएको चिसोलाई ‘क्याच’ गर्नबाट मनाङ चुकिरह्यो । छिमेकी जिल्ला मुस्ताङले लहलह स्याउ फलाउँदा मनाङ जौ, आलु, फापर जस्ता अन्नबालीमा निर्भर रह्यो ।

सर्पमा बिख र मान्छेमा इख चाहिन्छ भनिन्छ । राजनीतिक चेत भएका पोल्देन छोपाङ गुरुङ आफैं मनाङमा केही गर्न चाहन्थे । गुरुङले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गरे । करिब १० वर्षअघि त्यस्तो सपना देख्नु दुस्साहस नै थियो ।

परम्परागत स्याउ खेतीलाई उन्नत र वृहत् बनाउन एग्रो मनाङ प्रालि नामक कम्पनी खडा गरिएको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ । सत्ताइस वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा रसिलो स्याउ फलाउन हालका संघीय सांसदसमेत रहेका पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सिएको छ ।

मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० तिर स्थानीयभन्दा फरकखालका गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउका बिरुवा रोपियो । बिरुवाहरू इटाली र सर्भियाबाट ल्याइएको थियो । ‘हाम्रो ठाउँ (भ्राताङ)मा थप जग्गा पनि छैन, लगभग ७३५ रोपनीको फार्ममा ५५० रोपनीमा अहिले स्याउ उत्पादन भइरहेको छ,’ मनाङ एग्रो प्रालिका निर्देशक युवराज गुरुङले भन्छन्, ‘अहिलेसम्म ३० करोड लगानी भएको छ । हाम्रो आठजनाकै परिवार यही फार्ममा संलग्न छौं ।’ उनका अनुसार स्याउ खेतीका लागि सुरुमा हिमाली परियोजनाले दुई करोड २४ लाख अनुदान दिएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ । बाँकी लगानी बैंकबाट जुटाइएको उनले सुनाए ।

अहिले स्याउ हरियै छ । करिब साढे दुई महिनापछि स्याउ पाक्छ । फार्ममा रहेका ६८ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन् । केही बिरुवा यही वर्ष थपिएको छ । ‘यसपटक ६०० टन उत्पादन होला । मूल्यचाहिँ गुणस्तरअनुसार लिने हो,’ व्यवस्थापन विषय पढेका ३७ वर्षीय युवराजले भने, ‘बजारको समस्या छैन । कति स्याउ वाइन उद्योगलाई दिइन्छ । कति चाना बन्छ । केहीको जुस बनाइन्छ ।’

स्याउ त सबै ठाउँमा फल्छ

विश्व बजारमा निर्यातको सपना पालेका युवराजले दुई हजार ८५० मिटर उचाइमा उत्पादित स्याउलाई ‘हिमालयन फ्रेस’को नाममा ‘ब्रान्डिङ’ गरिरहेका छन् । मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उनले बताए ।

यो स्याउ फार्म एसियाकै ठूलो हो । फार्ममा प्रत्यक्ष २६÷२७ जनाले काम गरिरहेका छन्, सिजनमा अरू २२/२४ जनाले पनि काम पाउने उनको भनाइ छ । फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ । गण्डकी सरकारले मनाङसँगै गोरखाको चुनुब्रीमा सुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो ।

प्रतिक्रिया दिनुहोस्