बसी–बसी भुँडी भर्छन् कुनै खतिवडा


पैसामा सही गर्छन् कुनै खतिवडा
औषधिविना मर्छन् कुनै खतिवडा ।

वंश एउटै तर पनि भाग्य आफ्नो–आफ्नो
नुन बोक्न बेल्टार झर्छन् कुनै खतिवडा ।

साहुको ऋणले थिचिएर गुमेपछि घरखेत
धनेले झैं बसाइँ सर्छन् कुनै खतिवडा ।

दुःखीलाई सधैं दुःख, सुखीलाई छ सुख
बसी–बसी भुँडी भर्छन् कुनै खतिवडा ।

कोही जान्छन् ताज जित्न विश्वसुन्दरीमा
हारे पनि अब्बल ठहर्छन् कुनै खतिवडा ।

मन्त्री बन्न नपाए नि गर्दैनन् गुनासो
हेटौंडामा चुनाव लड्छन् कुनै खतिवडा ।

कोही साह्रै भाग्यमानी पदले खोज्छ उनलाई
मनोनीतमा सधैं पर्छन् कुनै खतिवडा ।

देशमा रोजगारी नपाएर वाक्कदिक्क हुँदा
सात समुद्र पनि तर्छन् कुनै खतिवडा ।

प्रतिक्रिया दिनुहोस्