उहिले–उहिले तायामा र खियामा नाम गरेका किराती दिदीबहिनी थिए । उनीहरूको भाइ हेत्छाकुप्पा थिए । जब उनीहरूको बाबुआमाको मृत्यु भयो, चाक्लुधिमा नामक राक्षसनी (खलनायिका)का कारण तायामा, खियामा र हेत्छाकुपाको जीवन दुःखमय बन्यो । चाक्लुधिमाले उनीहरूको खाद्यसामग्री सप्पै–सप्पै खाएर र नष्ट गरिदिएपछि दुई दिदी र भाइ भोकै पर्थे ।
आफ्नो टुहुरो भाइलाई एक्लै घरमा छाडेर तायामा र खियामा जंगल जान्थे । जंगलबाट वनतरुल र गिठ्ठाभ्याकुर ल्याएर खान दिन्थे । आफ्ना दिदीहरूको माया र स्याहारले हेत्छाकुपा बाँचेका थिए । चाक्लुधिमा भने हेत्छाकुपाको खाद्यपदार्थ सकिदिँदा पनि कसरी बाँचिरहेको छ ? भनेर अचम्म मान्थी । चियो गर्दै हेत्छाकुपाको घरमा आउँदा हेत्छाकुपाले खोक्ली साकी (वनतरुल/गिठा) खाइरहेको चाक्लुधिमाले देखी । उसले जंगल गएर वनतरुललाई पाताल भसाइदिई । गिठ्ठाभ्याकुरलाई डाक्फुक्ली छर्केर खान नहुने तीतो बनाइदिई । त्यही समयदेखि गिठा तीतो हुनुका साथै र वनतरुल पाताल भासिएको हो भन्ने विश्वास किरात समुदायमा छँदै छ ।
त्यसपछि दिदीहरूले ऐँसेलुको रस र पानी ख्वाएर हेत्छाकुपाको सास अल्झाए । तर, यतिले मात्र ऊ बाँच्न नसक्ने भए । दिदीहरू तायामा र खियामाले खानेकुरा खोज्न टाढा–टाढा जाने निधो गर्दै हेत्छाकुपालाई भने, ‘बुचुकुलुकमा खानेकुरा पकाइरहेका छौं । पाक्यो पाकेन छाम्दै गर्नू । पाकेपछि खाँदै गर्नू । हामी अरू खानेकुरा खोजेर ल्याउँछौं ।”
केटाकेटी न हो, हेत्छाकुपा कर्द खेलाउँदै दिदीहरूले अगेनामा बसाइदिएको बुचुकुलुकमा आगो फुक्न थाल्यो । केही समयपछि उसले त्यो खानेकुरा छाम्यो दह्रो थियो । ‘पाकेको रहेनछ’ भनेर उसरी नै आगो फुकिरह्यो । फेरि छाम्यो, उस्तै पायो । खानेकुरा नपाकेको ठानी आगो फुकिरह्यो । हेत्छाकुपालाई भोकले ज्यादै सताए पनि दिदीहरू आइपुगेनन् । उसले अगेनाको बुचुकुलुक उघारेर पकाएको चीज खाने निधो गर्यो । जब हेत्छाकुपाले बुचुकुलुको ढकनी उघा¥यो, तब देख्यो त्यो पकाइरहेको चीज खानेकुरा नभएर ढुंगा थियो । ऊ निराश र हतास भएर भुँइमा लड्यो । हेत्छाकुपा लड्दा बुचुकुलुकको तातोपानी उसको जिउमा घोप्टियो । ऊ भोकले बेहोश भयो ।
जब दिदीहरू तायामा र खियामा घर आइपुगे बेहोश भाइलाई मरेको ठाने । (उनीहरूले पकाउन लगाएको लोहोरोजस्तो ढुंगाको प्रतीक आजपर्याप्त किरात राई समुदायको घरको चुलोछेउमा राखिन्छ । यसलाई हेत्छाकुप्पाले जालमा पारेको ढुंगाको प्रतीकका रूपमा स्वीकारिएको छ । यो ढुंगालाई साब्रे पनि भन्छन् । जुन ढुंगाको प्रयोगचाहिँ तीन चुलोमा सानो भाँडा बसाउँदा एकातिरको चुलोढुंगोमा खापी चुलोलाई सानो बनाउने पनि हो ।) भाइको मृत्युले उनीहरूलाई ज्यादै दुःख लाग्यो । आफ्नो भएको एउटा भाइको पनि मृत्यु भएपछि उनीहरूले आफ्नो भन्ने कोही पाएनन् ।
तायामा र खियामाले भाइको मृत्यु संस्कार गरे । (भनिन्छ, त्यही समयबाट किरात राई समुदायमा छोरा मानिस मर्दा उसको चिहानमा कर्द, खुकुरी राखिदिने चलन भएको हो) र हेत्छाकुपालाई चिहानमा गाडेपछि उनीहरूले भाइको नाममा एक–एकवटा फूल रोपेर उनीहरू पनि छुटेर जाने सल्लाह गरे ।
तायामा र खियामाको मन एकतमासले बहकियो । आफूले रोपेको फूललाई दिदीबहिनी बेलामौकामा हेर्न आउने र त्यसै फूलबाट आ–आफ्नो अवस्था थाहा पाउने सल्लाह गरी रुन थाले । उनीहरू रुँदैरुँदै तायामा डाँफे चरी बनेर लेक हिमालतिर लागिन् भने खियामा मयुर बनेर बेँसी (तराई)तिर झरिन् । तायामाको आँसु बगेर रावाखोला बन्यो भने खियामाको आँसु बगेर तापखोला बगेको बूढापाकाहरू बताउँछन् ।
(नोट : तायामा र खियामा रुँदैरुँदै छुट्टिएपछि तायामा लेक हिमालतिर उडी गई लिम्चुङबुङ बनिन् भने खियामा बेँसी (तराई)तिर गई गोवाबुङ बनिन् । यो कथा ‘लाङ्कुचेप्पा झरी’मा विस्तृत वर्णन गरिएको छ ।)