बाहुनीडाँडा (खोटाङ) । बाहुनीडाँडा कदुवाका फौदसिं कार्कीले पाँच सय बोट केरा रोपेको थुप्रै भयो । कार्कीको केरा बगानमा दैनिक एक सयदेखि डेढ सय कोसा केरा पाकिरहेका हुन्छन् । लसी व्यापारीसमेत रहेका उनले त्यही केराबाट लसी बनाएर बेच्ने गरेका छन् । उनले दुई वर्षअघि परीक्षणका लागि ५० बोट केरा रोपेका थिए । परीक्षणका लागि रोपेको केराले आस जगाएपछि उनले पाँच सय बोट केरा रोपेका हुन् । त्यतिबेला ९० हजार रुपैयाँजति लगानी गरेर रोपेको केराले उत्पादन दिन थालेपछि उनी हर्षित छन् ।
लुलिमाबेंसीको बाँझो खेत खनजोत गरेर केरा रोप्दासम्म ९० हजार रुपैयाँ खर्च भए पनि लगानी र मिहिनेतले आम्दानी दिन थालेको छ । ‘अब पाँच सय बोट केरा थप्दै छु,’ उनले भावी योजना सुनाए, ‘एक वर्षमा एक लाख कोसा केरा बेच्ने उद्देश्य लिएको छु । उद्देश्य पूरा नभइन्जेल केरा थप्दै जान्छु ।’
सम्बन्धित किसानमात्रै मिहिनेती भएर नपुग्ने उनको भनाइ छ । ‘नमुना किसानका लागि नगरबाट आर्थिक सहयोग पाए धेरै काम गर्न सकिन्छ,’ उनले भने, ‘सुलभ कृषि कर्जाका लागि नगरले सहजीकरण गरिदिए मजस्ता किसान लाभान्वित हुने थिए ।’
त्यतिले मात्रै पुग्दैन । ‘हलेसीबाट हप्तैपिच्छे प्राविधिक ल्याएर मैले केरा देखाउन सक्दिनँ,’ उनको अपेक्षा छ, ‘नगरपालिकाले निःशुल्क प्राविधिक सुविधा दिए मजस्ता किसान लाभान्वित हुने थियौं ।’
फौदसिं कार्कीले आफ्नै तरिकाले केरा खेती गरिरहेका छन् । केही समस्या देखिए कृषि प्राविधिक विशेषज्ञको सल्लाह लिन चितवनमा फोन गर्छन् । त्यतिले नपुगे वागबानीतिर धाउँछन् ।
किसानलाई प्राकृतिक विपत्तिले दुःख दिनु अस्वाभाविक होइन । हावाहुरी चल्यो भने केरा ढालिदिन्छ । ‘समाधानको उपाय पनि छ,’ उनले सुनाए, ‘इन्सुरेन्स गर्न चाहेर पनि पाएको छैन । इन्सुरेन्स सुविधा भए घाटैघाटा सहन पर्दैनथ्यो ।’
बजार अभाव छँदै छ । बजार व्यवस्थापनका लागि नगरले पहल गर्नुपर्ने उनको ठम्याइ छ । सम्भव भए त नगरले नै किसानको उत्पादन बजारसम्म पुर्याउन यातायात व्यवस्था गरिदिनुपथ्र्यो ।
केरा किसानका रूपमा परिचित कार्कीले एकजनालाई प्रत्यक्ष र चारजनालाई अप्रत्यक्ष रूपमा रोजगारी दिएका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाएकालाई उनले सालिन्दा तीन लाख रुपैयाँ पारिश्रमिकै लागि छुट्ट्याउनुपर्छ ।