युद्ध आफैंमा राम्रो मानिँदैन । युद्धलाई कसैले मन पराउँदैनन् । तर, विश्वका अधिकांश मुलुकवासीले दुई–दुईपटकसम्म विश्वयुद्धको तीतो यथार्थ चाख्न बाध्य भएका थिए । प्रथम र दोस्रो विश्वयुद्धले संसारका सबै मुलुकमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठूलो असर पार्यो । त्यो पीडा नेपाली समाजले पनि भोग्नुपरेको थियो ।
नेपाली सोझासिधा युवा दुवै विश्वयुद्धमा सहभागी थिए । दुवै विश्वयुद्धमा धेरैले ज्यान गुमाए । कोही शारीरिक रूपमा अशक्त बने । युद्ध सकिएपछि कतिपय खालीहात घर फर्कनुपर्यो । कतिपयका दिदीबहिनीको सिन्दुर पुछियो । धेरैका छोराछोरी टुहुरा भए । पीडितको पीडा, वेदना, रोदन र दुःखदायी चित्कार हिजोआज पढ्दा र सुन्दामात्रै पनि आङ सिरिङ्ङ हुन्छ ।
हेर्दा सधैंजसो हँसिलो देखिने वीर पुरुषको यथार्थ कथा त्यतिबेला खिचिएको ‘ब्ल्याक एन्ड ह्वाइट फोलेग्राफ्स’ फोटोले प्रस्ट्याउँछ । ठूलो साइजको हेलमेट, फौजी पोसाकमाथि असवाक–२ मटर समातेर ‘स्ट्यान्डिङ पोजिसन’ मा उभिएका राइफलमेन कर्णबहादुर रानामगरको योगदान गोर्खाली इतिहासमा सुनौलो अक्षरले लेखिएको छ ।
खाउँखाउँ र लाउँलाउँको रहरलाग्दो मगरले आफ्नो जवानी प्रथम विश्वयुद्धमा खर्चन पुगे । आफ्नो प्यारो जन्मस्थान गुल्मी जिल्लाको भार्से लिटुङको उकाली–ओराली, देउराली–भन्ज्याङ र साथीसंगीलाई चटक्कै बिर्सेर पराई मुलुकको तर्फबाट युद्ध लड्नुपर्यो । यो रहर र बाध्यता दुवै थिए होलान् ।
१८९८ डिसेम्बर २१ मा जन्मेका राइफलमेन रानामगरको सेकेन्ड बटालियन क्युन एलेक्जेन्डर औन गोर्खा राइफल्स १९१८ अप्रिल १० मा इजिप्टको इलकेपरमा खटिएको थियो । त्यहाँको भौगोलिक बनावट अप्ठ्यारो किसिमको थियो । त्यसो हुनाले दुस्मनको ट्रेन्चमाथि हमला गर्न त्यति सजिलो थिएन । विविध अवरोध हुँदाहुँदै पनि राइफलमेन राना र केही सिपाही दुस्मनको मोर्चातर्फ अगाडि बढिरहे । उनीहरूले सफलता पनि पाए ।
ब्रिटिस बटालियनले लेविस गनद्वारा फायर खोलेको थियो । त्यसको जवाफी फायरमा दुस्मनको गनले केही सिपाही र अफिसरलाई घाइते बनाए । दुस्मनले प्रहार गरेको गोली लागी एकजना गनरको तत्काल मृत्यु भयो । त्यसबेला १९ वर्षीय उनी मृतकको नजिकै थिए । उनले विनाहिच्किचाहट गनरको शवलाई पर घचेटेर उनको गन पुनः सञ्चालनमा ल्याए । दुस्मनले दुवै फ्लाङबाट फायरिङ गरिरहेका थिए । यो सन् १९१८ अप्रिल १० को कुरा हो ।
रानामगरले प्रथम विश्वयुद्धमा दुस्मनको गोलीको तागतलाई कमजोर तुल्याए । त्यसले उनीहरूको मनोबल घट्दै गएको थियो । फलस्वरूप त्यो ठाउँबाट दुस्मन भाग्न प्रयासरत थिए । उनको बटालियनले हमला गर्ने तयारी गरिराखेकै बेला हेडक्वार्टरबाट पछि हट्न आदेश आयो । आदेश आएपछि हट्नैपर्यो । १९१६ डिसेम्बर २१ मा भर्ती भएका राइफलमेन रानाले आफ्नो बटालियन पूर्ण रूपमा पछाडि नहटेसम्म ‘कभरिङ फायर’ गरिरहेका थिए । त्यतिबेला उनी दुस्मनको मुख्य निशाना बनेका थिए ।
भर्ती हुँदा १९ वर्षका राइफलमेन कर्णबहादुर रानामगरले वीरताको कदरस्वरूप बेलायतको राजमहल बकिङ्घम प्यालेसमा किङ जर्ज पाँचौंबाट भीसी पदक प्राप्त गरेका थिए । ७५ वर्ष बाँचेका उनको सन् १९७३ जुलाई २५ मा निधन भएको थियो ।