३ हजार ४४५ जनसंख्या रहेको लेप्चाको परम्परागत सामग्री राख्न संग्रहालय



लापोन्मुख लेप्चा समुदायको भाषा तथा संस्कृति जगेर्ना गर्न इलामको रोङ गाउँपालिकाले २० वर्षे रणनीतिक कार्ययोजना तर्जुमा गरेको छ । लेप्चा समुदायको उत्थानका लागि गाउँपालिकाले रणनीतिक कार्ययोजना बनाएको हो ।

गाउँपालिकाका अध्यक्ष शमशेर राईले कार्ययोजनाभित्र लेप्चाको रहनसहन, बसोवासलाई प्राथमिकता दिएको जानकारी गराए, ‘लेप्चा भनेको हाम्रो संस्कृति हो । यसबारे अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सकियो भने पर्यटकीय दृष्टिले समेत उठ्न सहज हुन्छ ।’ अध्यक्ष राईले लेप्चा समुदायको संस्कृति र लिपि बचाउनका लागि आफूहरूले योजना निर्माण गरेको बताए ।

पाँच वर्षभित्र संग्रहालय निर्माण

गाउँपालिकाले रणनीतिक कार्ययोजनामा आगामी पाँच वर्षभित्रमा लेप्चा समुदायको परम्परागत सामग्री राख्न संग्रहालय निर्माण गरिने भएको छ । रोङ गाउँपालिका अध्यक्ष राईका अनुसार एक वर्षभित्रमा लेप्चाको पुरातात्विक महत्वबारे अनुसन्धान गर्ने र बाँकी चार वर्षमा भौतिक निर्माण सक्ने योजना रहेको छ ।

‘लेप्चाको सामग्रीमात्रै राखेर संग्रहालय बनाउने काम त सहज छ तर हामी त्योभन्दा व्यापक तरिकाले निर्माण गर्नेछौं,’ उनले भने, ‘संग्रहालय बनाउँदा उनीहरूको परम्परा नमर्ने र कस्तो वस्तु प्रयोग गर्दा सहज हुन्छ । त्यसबारे विज्ञ टोलीसित छलफल गरेर हामी संग्रहालय निर्माणमा लाग्नेछौं ।’

बीसवर्षे योजनामा वार्षिक कार्यतालिका निर्माण गर्ने र प्रदेश सरकारसित पनि आर्थिक क्षेत्रमा सहयोग माग्ने उनको भनाइ छ । उनका अनुसार गाउँपालिकाले लेप्चा समुदायका खाद्यान्न प्रवद्र्धन गर्न सामुदायिक घरवाससमेत निर्माण गर्ने भएको छ । उनले सुनाए, ‘लेप्चा समुदायका खाद्यान्नका माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि उनीहरूका आफ्नै हातबाट बनाएका खाद्यान्नमात्रै समेटिएको घरवास निर्माण गर्ने योजना छ ।’

२०६८ को जनगणनाअनुसार लेप्चा समुदायको कुल जनसंख्या तीन हजार ४४५ रहेको छ । उनीहरूमध्ये तीन हजार २६४ जना ग्रामीण अनि १८१ जना सहरी क्षेत्रमा बस्छन् ।

इलामका कोल्बुङ, इरौंटार, जिर्मले, शान्तिपुरमा अधिकांश लेप्चा जातिको बसोवास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्