हलेसीमा ३ करोड २८ लाख रुपैयाँमा बन्दै १५ शय्याको अस्पताल


हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङमा १५ शय्याको अस्पताल बन्ने पक्कापक्की भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा २०७७ जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ३ करोड २८ लाख रुपैयाँ विनियोजन गरेपछि हलेसीमा अस्पताल बन्ने पक्कापक्की भएको हो ।

हलेसीमा अस्पताल बन्ने भएपछि नगरवासीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । नेकपा हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य सर्वधन बस्नेतले सामाजिक सञ्जालमार्फत हलेसीमा अस्पताल बन्ने सुखद सन्देश सार्वजनिक गरेपछि नगरवासीले खुसी व्यक्त गरेका हुन् ।

‘विकास निर्माणमा सधैं पहलकदमी र आवश्यकताको पहिचान गर्ने काम माननीय विशाल भट्टराईबाट भइरहेको छ,’ कुमार बुढाथोकी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘उहाँलाई धेरै–धेरै धन्यवाद ।’

हलेसीमा अस्पताल बन्ने पक्कापक्की भएपछि जीवन राई त्यत्तिकै खुसी छन् । राई भन्छन्, ‘जनताप्रति सधैं उत्तरदायी रहिरहनुहुने माननीय विशाल भट्टराईज्यू र वडाध्यक्ष चइन्द्र राईलाई हार्दिक धन्यवाद ।’

‘हलेसीमा स्वास्थ्य सेवाको सुनिश्चितता’ हुने भयो भनेर हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका भूपेन्द्रकुमार राईले पनि खुसी व्यक्त गरेका छन् ।

‘त्यतिबेला प्राथमिक उपचार केन्द्र नहुँदा विभिन्न समयमा हलेसी आइपुगेका चार/पाँचजना पर्यटकले अकालमा ज्यान गुमाएका थिए,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थाननिवासी दर्शन किरातले फेसबुकमा लेखेका छन्, ‘त्यतिबेला हलेसीमा अस्पताल भएको भए आफन्तलाई बचाउन सकिन्थ्यो भनेर ज्यान गुमाउनेका आफन्तले बिलौना गरेका थिए । अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको हो भने धेरै राम्रो काम हुने भयो ।’

नेकपा खोटाङ जिल्ला कमिटी सदस्य राजुविक्रम चाम्लिङले यो पुनित कार्यका लागि ‘ग्रेट कङ्ग्य्राचुलेसन’ भनेका छन् ।

अस्पताल निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थाननिवासी रत्न राई, गोपाल गिरी, हरि गिरी, दुर्गबहादुर केसी, प्रकाशचन्द्र गिरी, प्रेमबहादुर बस्नेत र गोरीमाया विकले दान गरेको जग्गा यसअघि नै अस्पतालको नाममा पास गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्