मेवा किन्नेको भीडभाड : वागबानीबाटै बिक्यो ५० क्वीन्टल


भद्रपुर (झापा) । मेचीनगर नगरपालिका–१० मा रहेको नन्दाखोला बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भीडभाड लाग्ने गर्छ । एफेक्स वागबानी तथा बीउविजन उद्योगका सञ्चालक शेखर गुरागार्इंले बन्दाबन्दीको अवस्थामा ५० क्वीन्टल मेवा बोटबाटै बिक्री भइसकेको जानकारी गराए ।

गुरागाईंका अनुसार दैनिक मेवा किन्नकै लागि ३० देखि ४० जनासम्म कृषि फार्ममा आउने गरेका छन् । ‘मागअनुसार दिन सकेका छैनौं,’ उनले भने, ‘खाँदा रसिलो र मीठो छ । सायद सबै बजार ठप्प हुँदा मान्छेहरू फलफूल खोज्दै यहीं आइपुग्छन् ।’

गत वर्ष नन्दाखोला बगरमा रहेको १८ बिघा जमिन खरिद गरी मेवा, कागती, खरबुजालगायत अर्गानिक खेती लगाइएको छ । जहाँ पाँच बिघा जमिनमा मेवाखेती छ । बोटमै मेवा प्रतिकेजी ५० रुपैयाँले बिक्री भइरहेको उनले बताए ।

धुलाबारी मोडबाट एक किलोमिटर उत्तरको नन्दाखोला बगरमा कागती, मेवा, खरबुजालगायत खेती गरिएको छ । एक करोडको लगानीमा पाँचजना युवा मिलेर सञ्चालन गरेको फार्ममा माछासमेत पालिएको छ ।

स्थानीय किसान डिल्लीराम उप्रेतीको फार्मबाट उन्नत जातको मेवा, कागतीको बिरुवा र मोरङको उर्लाबारीको फार्मदेखि विभिन्न प्रजातिका माछाका भुरा केन्द्रमा ल्याएर उत्पादन गरिरहेको उनको भनाइ छ ।

केन्द्रमा सात हजार मेवा, तीन हजार कागती, तीनवटा ठूला पोखरीमा विभिन्न जातका चार लाख माछाका भुरा पालिएको उद्योगका अध्यक्ष मोहनचन्द्र भट्टले जानकारी दिए । दुई पोखरी २÷२ कठ्ठाको र एउटा पोखरी ढेड बिघा क्षेत्रफलमा फैलिएको छ । पोखरीमा ग्रासकार, कमनकार, सिबलकार, रोउ, कत्ला, मागुर, नैनीलगायत जातका माछा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्