रमणीय राजारानी : पूर्वाञ्चलकै उचाइमा रहेको ठूलो ताल


सुनसरी र धनकुटाको संगमस्थल भेडेटारबाट झन्डै १९ किलोमिटर दूरीमा साबिक राजारानी गाउँ विकास समिति रहेको छ । राजारानी गाविस वडा नम्बर ३, ६ र ८ को सिमानामा राजारानी ताल पर्छ । राजारानी पूर्वाञ्चलकै उचाइमा रहेको सबैभन्दा ठूलो ताल हो । पहिले यहाँ राजा र रानीताल थियो । अहिले भएको ताल रानीताल हो भने राजाताल खेतमा परिणत भइसकेको छ । राजाताल खेतमा परिणत भए पनि रानीताललाई नै राजारानी ताल भन्ने गरिन्छ ।

राजारानी ताल झन्डै एक किलोमिटर क्षेत्रमा फैलिएको छ । यहाँ बाह्रै महिना चिसो हुनाले गर्मी मौसममा आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड लाग्छ । राजारानी ताल पुगेकाले डुंगामा सयर नगरे यात्रा अधुरो हुने बताइन्छ । डुंगामा ताल घुम्नुको मज्जा शब्दमा व्यक्त गर्न कठिन छ ।

तालको चारैतिर डाँडाले घेरिएको छ । तालवरिपरिका डाँडाबाट हिमाल, पहाड, तराई नियाल्दै नरमाउने को होलान् र । तालवरिपरि निर्मित चिटिक्क परेका स–साना विश्रामस्थलमा सुस्ताउँदा कम्ती आनन्द लाग्दैन । तालपरिसरमा सुरक्षा, यातायात र पानी व्यवस्था गरिएको छ । तालछेउमै शान्तिपार्क रहेको छ ।

स्थानीय आमा समूहले राजारानी ताल संरक्षण गर्दै आएका छन् । समुद्री सतहदेखि झन्डै १,६०० मिटर उचाइमा रहेको तालमा अन्य समयभन्दा शनिवार आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड लाग्छ । पूर्वाञ्चलका अलावा भारत र भुटानबाट समेत राजारानी ताल पुग्ने गर्छन् । पछिल्लो समय वनभोजप्रेमीका लागि राजारानी रोज्जा ठाउँ बनेको छ ।

खाने बस्नेको राम्रो प्रबन्ध । होटल तथा होमस्टे सञ्चालनमा छ । स्थानीय राजारानी भिलेज रिसोर्टको मेनुमा ब्ल्याक टी २५, ब्ल्याक कफी ४५, मिल्क कफी ६० रुपैयाँ उल्लेख छ । मेनुका अनुसार, त्यति महँगो होइन ।

प्राचीनकालमा मावरक (आमा) र पावरक (बाबु) नाम गरेको पोखरी थियो । पोखरीमा खदम राजा र खदम रानी बस्थे । संवत् १८६२ मा पोखरी फुटेपछि खदम राजा र खदम रानी पाँचथरको याङ्वरक गई बस्न थालेको नेपाली विकिपिडिया डट ओरआरजीमा उल्लेख छ । पत्रकार देवेन्द्र सुर्केलीका अनुसार, लिम्बू भाषामा मावरक भनेको आमापोखरी र पावरक भनेको बाबुपोखरी हो । मावरक र पावरकलाई नै कालान्तरमा राजारानी पोखरी भन्न थालिएको हो ।

सुनसरीको धरानबाट झन्डै ३२ किलोमिटरमा रहेको राजारानी भेडेटार, डाँडाबजार हुँदै जानुपर्छ । कच्ची बाटो भएकाले भेडेटारबाट राजारानी पुग्न बसमा दुई घन्टा बढी लाग्छ । राजारानी ताललाई पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गर्न राजारानी ताल विकास समिति गठन गरिएको छ । समितिले राजारानीपोखरीलाई पर्यटकीयस्थल बनाउन लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस्