पानी उत्पत्तिसम्बन्धी किराती लोककथा–१



उहिले–उहिले निराकार युगमा सृष्टि थिएन । शून्यसान्य थिएन । घाम, जून थिएन । प्रकृति थिएन । वायु, जल, थल, अग्नि थिएन । सृष्टिकर्ता थिएनन् । सृष्टिभन्दा पहिले केही थिएन । अनादिकालमा जब पञ्चतत्वको उत्पत्ति भयो । त्यहींबाट सृष्टिको सुरुवात भयो ।

अन्धकारै अन्धकारबीच वायु (हावा) सँगसँगै पानी उत्पन्न भयो । त्यसपछि सूर्य उत्पत्ति भएको शक्ति ढुङ्गा सृष्टि भयो । त्यसबाट पाँच शक्ति प्राप्त भयो । ती पाँच शक्तिमा हावा शक्ति र सूर्य शक्ति पहिले आयो । त्यसपछि चन्द्र शक्ति, पृथ्वी शक्ति र जल शक्ति उत्पन्न भयो । यी सबै–सबै परमात्माले उत्पन्न गर्यो ।

घाम उत्पत्ति भएको धेरै कालपछि चन्द्रमा उत्पत्ति भयो । चन्द्रमा उत्पन्न भएको धेरैकालपछि पानी उत्पन्न भयो । चन्द्रमाको उत्पत्ति भएपछि खनिज ढुंगा उत्पन्न भयो । ज्यादै चिसो पानी ढुंगा पनि बन्यो । जसलाई नागेलुङ भनियो । भनिन्छ अझै । त्यसपछि छिपछिपे पानी उत्पन्न हुने ढुंगा बन्यो । पानी उत्पत्ति भएपछि जम्न थाल्यो । पानी जम्दै–जम्दै जाँदा सतह बन्यो । पानीको सतह तर बाट बब्योङ्मा (पानीको माउ, पानी कीरा) उत्पन्न भई पानीको तर खान थाल्यो । बब्योङ्माले पानीको तर खाई दिसा (गुहु) गरेको बाट उन्यू उत्पन्न भयो । उन्यु कुहिएपछि धमिराले देवल बनायो अनि माटो उत्पत्ति भयो ।

त्यसपछि पानीको सतहमा माटो फैलँदै गयो । माटोको जन्मबाट जमिन (भूमि)को जन्म भयो । भूमिको आकार बढ्दै–बढ्दै पृथ्वी बन्यो । पृथ्वी धेरै–धेरै ठूलो बन्यो । पृथ्वीको गर्भमा खनिज बनिए । स्लेट ढुंगा (पत्रेचट्टान), खनिज, धातु ढुंगाहरू बने । कुरिनढुंगा, मोतीढुंगा, मणिढुंगा बने । पृथ्वी चिराचिरा परेर पानी जम्दा खण्ड–खण्ड टापु बन्यो । यसरी पृथ्वी पाटापाटा बन्यो ।

हिमाल, पहाड, तराई, लेक, बेंसी, चुली, मैदान बन्यो र जहाँतहीँ पानीका मुहान भए । ती मुहानबाट खोला, नदी, ताल, पोखरी उत्पन्न भएको बूढापाकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्