टर्कीका १८ हजार ओखरका बिरुवा डोल्पामा



डोल्पा । व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका १८ हजार बिरुवा खरिद गरी जहाजमा ढुवानी सुरु गरिएको छ ।

क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको ९१ लाख ६२ हजार रकम अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरी मंगलबारदेखि जहाजमा ढुवानी सुरु गरिएको हो । मंगलबारमात्रै समिट एयरको जहाजमा नेपालगन्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालय निमित्त प्रमुख शरद लामाले जानकारी दिए ।

सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा बुधबार डोल्पा ल्याइपुर्याइएको लामाले जानकारी गराए । ओखरको बिरुवा टर्कीबाट खरिद गरी समुद्रीमार्ग हुँदै डोल्पासम्म ल्याइपु¥याउँदा एउटा बिरुवाको एक सय नौ परेको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका सम्पूर्ण ओखर पकेट र ब्लकमा आबद्ध इच्छुक कृषक तथा समूहका लागि बिरुवा वितरणका लागि आइतबारै सूचना जारी गरिएको कार्यालयले जनाएको छ । मंगलबारदेखि नै बिरुवा वितरण सुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाइने कृषि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्