करुवाका लागि सङ्खुवासभा, ढाकाटोपीका लागि पाल्पाले प्रसिद्धि पाएजस्तै गरा–गरा ‘ट्यारेस’ का लागि काभ्रेपलाञ्चोकको बल्थली चर्चित मानिन्छ । काठमाडौंदेखि ४० किलोमिटर दूरीमा रहेको बल्थलीको ‘ट्यारेस’ रूसपछिको आकर्षक मानिने बल्थली माउन्टेन रिसोर्टका सचिन हुमागाईंले जानकारी गराए । बल्थलीको ख्याकु फाँटका ‘ट्यारेस’ त्यत्तिकै लोभलाग्दो देखिन्छ । ‘ट्यारेस’ हेर्न बल्थली पुग्ने आन्तरिक तथा बाह्य पर्यटक बाक्लै भेटिन थालिएको छ ।
हाइकिङ र ट्रेकिङका लागि बल्थली उपयुक्त ठानिन्छ । बल्थली–नमोबुद्ध चारदेखि पाँच घन्टा, बल्थली–पडगाउँ छदेखि सात घन्टा र बल्थली–लुकुवा चार घन्टाको हाइकिङ/ट्रेकिङमा रमाउन सकिन्छ । त्यतिमात्रै होइन, बल्थलीदेखि पौवासम्म खाली खुट्टा ‘रिभर वाक’ गर्नुको मज्जा शब्दमा वर्णन गर्न नसकिने बल्थली पुग्नेको भनाइ छ ।
हाइकिङ/ट्रेकिङका लागि बल्थली तीन दिन दुई रातको ‘प्याकेज’ हो । प्राकृतिक र सांस्कृतिक रूपले भरिपूर्ण बल्थलीबाट सगरमाथा, मनास्लु, नुम्बुरलगायत ४० प्रतिशत हिमशृङ्खला प्रस्टै देख्न सकिन्छ । बल्थली माउन्टेन रिसोर्टका हुमागाईंका अनुसार बल्थली थोरै समय र पैसामा घुम्न सकिन्छ ।
बल्थली पुगेपछि विश्वकै ठूलो त्रिशूल, लड्केश्वर महादेव र कमलादेवी मन्दिर नपुगे यात्रा अधुरो हुन्छ । हाइकिङ र ट्रेकिङका लागि ख्याकु, डाँडागाउँ, नेपाने, लुकुवा रोज्जा ठाउँ हुन् । योगा र ‘मेडिटेसन’ का लागि बल्थली त्यत्तिकै उपयुक्त ठाउँ हो ।
बल्थलीमा खुवाइने खानेकुरा स्थानीय उत्पादन हुन् । सहरमा एउटै स्वादका खाइरहनेका लागि यहाँका अर्गानिक खानेकुरा खाँदा जिब्रोले नयाँ स्वाद पाउँछ । मन पराउनेले लड्कुखोलाको सङ्लो पानीको माछा खान पाउनेछन् । मौसमअनुसारको फलफूलसमेत खान पाइन्छ । बल्थलीमा उत्पादित तरकारी काठमाडौं उपत्यकासम्म पुर्याइने स्थानीय किसान बताउँछन् ।
बल्थलीमा रात बिताउन चाहनेले चाहेअनुसारको सुविधा उपलब्ध छन् । बिल्डिङ, कटेज वा टेन्ट कुनमा रात बिताउने सम्बन्धित व्यक्तिको इच्छामा भर पर्छ । ‘मर्निङवाक’ निस्कँदा वीरचुलीडाँडा पुगेर सूर्योदयको दृश्य नियाल्नुको आनन्द अरू केहीसँग तुलना गर्न सकिँदैन ।
स्थानीय पर्यटन व्यवसायी बल्थलीलाई नमुना गाउँ बनाउन लागिपरेका छन् । उनीहरूले होमस्टे चलाउने तयारी थालेका छन् । बल्थलीमा एउटै परिवारको ६ जनासम्म जर्मनी पथप्रदर्शक ‘गाइड’ छन् । शान्त र सुरम्य बल्थलीमा तामाङ र ब्राह्मण समुदायको बसोबास रहेको छ । कल्चरका विद्यार्थीले ‘मिक्स्ड कल्चर’ बारे अध्ययन गर्न परे बल्थलीसम्म पुगे हुन्छ ।
बदलिँदै गएपछि आन्तरिकमात्रै होइन, जर्मनी, जापान, अमेरिका, चीनलगायतबाट काठमाडौं टेकेका पर्यटक बल्थली जान रहर गर्छन् ।