कासेथुम्कामा कटेज


कासेथुम्का, हलेसी (खोटाङ) । पाँच वर्षअघिदेखि ट्राफिक चोक हलेसीनजिकै एक घरमा इलामेली होटल सञ्चालनमा आएको थियो । होटल व्यवसाय राम्रै चलेको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणले व्यवसाय चौपट बनायो ।

‘व्यवसाय अस्त–व्यस्तमात्रै होइन, ध्वस्त भयो,’ हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीमा बसोवास गर्ने सुस्मा राई र महध्वोज राईको ठम्याइ छ, ‘कोभिड–१९ नभएको भए हामी यो व्यवसायमा हुने थिएनौं होला ।’

प्रत्येक समस्याले उपाय पनि ल्याएको हुन्छ भन्ने भनाइ प्रचलित छ । यही भनाइ चरितार्थ गर्दै छन्– राई दम्पतीले । हलेसी आइपुगेपछि आफ्नै होटलमा बसेकाले कटेजसम्बन्धी कुरा गर्थे । ग्राहकले एकान्त ठाउँमा होटल तथा कटेज छैन भनेर सोध्थे । कोरोना कहरले फुर्सदिलो भएपछि उनीहरूले ग्राहकले सोधेका प्रश्नको उत्तर खोज्न थाले ।

नभन्दै कटेजतिर आकर्षित भए । आफ्नै स्वामित्वमा रहेको कासेथुम्का सदुपयोग गर्ने योजना बनाए । संवत् २०७७ असारदेखि काम थाले । काम पूरा भइसकेको छैन । ‘अहिलेसम्म ६ वटा कटेज र एक किचन निर्माण गरिसकेका छौं,’ महध्वज राईले जानकारी गराए, ‘अब तीनवटा कटेज र एउटा सामूहिक भवन बनाउँदै छु । सामूहिक भवन भयो भने सानोतिनो कार्यक्रम, जन्मोत्सव मनाउन, पार्टी, भोज गर्न सकिन्छ ।’

निर्माण सम्पन्न भएको कटेजमा स–साना समूहमा खान, बस्न मिल्नेछ । सामूहिक भवनमा सभा–समारोह र पाहुना धेरै आउँदा सदुपयोग गर्न सकिन्छ । रात बिताउनेगरी आएका पाहुनालाई कटेजनजिक रहेको आफ्नै घरमा सञ्चालित होमस्टेमा स्वागत गर्नेछन् ।

आठ रोपनी जग्गामा निर्माणाधीन कटेजको कम्पाउन्डवरिपरि बगैंचा बनाइनेछ । कटेजको काम ५० प्रतिशत पनि पूरा भएको छैन । ५० प्रतिशत काम सकिन लाग्दा ११ लाख रुपैयाँ खर्च भइसकेको छ । कटेजसम्म पुग्ने बाटो आफैंले खन्दा पैसाको खोलो बग्ने नै भयो ।

कटेजसँगै ५० खुड्किले भ्युटावर निर्माण भइरहेको छ । यहाँबाट खोटाङको पूर्वी क्षेत्रसहित भोजपुरका केही भू–भाग, उदयपुरका पहाडी क्षेत्र, ओखलढुंगा र सोलुखुम्बुसम्म देख्न सकिन्छ ।

तत्कालका लागि कटेज पुगेकाले चाउमिन, मःमः, थुक्पा, सुकुटीलगायतका परिकारको स्वाद लिन पाउनेछन् । लोकल भालेको सुपसँग गाउँले खाना खाँदा जिब्रोमै झुन्डिनेछ । कटेज निर्माणाधीन अवस्थामै रहे पनि पाहुनाको भीडभाड लाग्न थालेको छ । पंक्तिकारसँग कुराकानी चलिरहँदा २५ जना पाहुना आइसकेका थिए ।

हलेसी गुफाबाट पाँच किलोमिटर दूरीमा रहेको निर्माणाधीन कटेज हिँडेर पनि एक घन्टामा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्