खडेरी लाग्यो । लामो समय खडेरी लागेपछि कुवाका पानी सुक्दै गए । पानीको हाहाकार मच्चियो । तर, इन्द्रेणीपोखरीमा रहेको कुवाको पानी सुकेन । अन्तका सुक्न थालेपछि स्थानीयले सोही कुवाको पानी प्रयोग गर्न थाले । सिंगो गाउँवासी त्यही कुवाको पानीले तिर्खा मेट्थे ।
समय बित्दै गयो । ‘गाउँमा पानी अभाव भयो । अन्तका सुके पनि हाम्रो कुवाको पानी सुकेन । यसरी कति दिन चल्ला ?,’ एक दिन गाउँका एकजना टाठाबाठा किराती ठिटोले गाउँका बूढापाकालाई भने, ‘कुनै दिन यो कुवाको पनि पानी सुक्यो भने हामी के गर्ने ? गाउँका जान्ने, बुझ्ने नाक्छोङ माङ्पालाई यारी गराएर चिङ्गो हेर्न लगाउनुपर्यो ।’
किराती ठिटोको कुरा सही ठानेर गाउँका बूढापाकाले जान्ने–बुझ्ने नाक्छोङ माङ्पालाई यारी हान्न लगाई चिङ्गो हेर्दा अन्य कुवाको मूलमा बस्ने नागले ठाउँ छाडेको र धारा तथा कुवाको पानी सुकेको तर यो कुवाको नागले ठाउँ नछाडेकाले पानी नसुकेको बताए ।
नाक्छोङ माङ्पाको कुरा सुनेपछि कुवाको पानी नसुक्ने पक्का भयो । जसोतसो पानी पूर्ति भइरहेकै थियो । अब पनि चल्ला भन्ठानेर गाउँले ढुक्क थिए । ती किराती ठिटोले फेरि भने, ‘नाक्छोङ माङ्पाको चिङ्गोअनुसार यो कुवाको नागलाई यहाँबाट अन्त सर्न दिनुहुँदैन । पूजा गरेर खुसी तुल्याइराख्नुपर्छ ।’ गाउँका बूढापाकालाई तीे ठिटोको कुरा जायज लागेपछि कुवामा धुमधामसँग नागपूजा गरियो । नभन्दै कुवामा पानी बढेको देखियो । कुवामा पानी बढेको हल्ला सबैतिर फैलियो । फेरि त्यही किराती ठिटोले भने, ‘अब कुवाको पानी खेर जान दिनुहुँदैन । कुवामा पानी बढेको छ । पानी रातभरि बगेर जान्छ । बग्ने पानी पोखरी खनेर जम्मा गरौं ।’
गाउँका बूढापाकाले सोचे, कुरा ठिकै हो । कुवानजिकै पोखरी खन्ने निर्णय गरे । गाउँलेले पोखरी खने । पोखरी खन्दै जाँदा नागलाई दख्खल पर्यो । नागले सोच्यो, ‘पहिले मेरो पूजा गरेको त मलाई खुसी पारेर मार्न पो रहेछ ।’ त्यसपछि नाग अन्तै गयो । नाग रिसाउँदा ठूलो पानी पर्यो । पानी परेपछि पोखरी त भरियो तर कुवाको मुहान सुक्यो ।
त्यसैले यो पोखरीको पानीको मुहान नभएको स्थानीय वृद्धवृद्धा बताउँछन् । पानी परेको समयमा मात्रै पोखरीमा पानी भरिन्छ । त्यतिबेला एक ठिटो (वालाली)को सुझावअनुसार पोखरी निर्माण भएको थियो । त्यसैले यसलाई वालालीपोखरी भनिन्थ्यो । वालालीपोखरीमा इन्द्रेणी लागिरहने भएकाले बिस्तारै इन्द्रेणीपोखरी भन्न थालियो ।
खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा रहेको पर्यटकीय स्थल इन्द्रेणीपोखरीको स्तरोन्नति थालिएको छ । समुद्र सतहदेखि १७०० मिटर उचाइमा रहेको पोखरीपरिसरमा पानीको फोहोरासहितको पोखरी निर्माण गरिएको छ । पोखरीमाथि इन्द्रेणीको स्वरूप देखाउन कृत्रिम फलामको पाता राखिएको छ ।