सालको पात बिक्री नभएको दिन भोकै



तौलिहवा । चाउरिन लागेको अनुहार । जिङ्ग्रिङ परेको कपाल । एउटा टिनको छानामुनि बस्दै आएका अधबैंशे दम्पती । कपिलवस्तुको वाणगङ्गा–४ का दम्पत्ती भीममाया र रुकबहादुर रेश्मीको पहिचान हो । गाउँमा पात बच्ने बाआमा भन्दै चिनिने उनीहरूको निवासमा भाँचिनै लागेको खाट, पुराना र मैला परेका बिस्तारा र स–साना भाँडाकुँडा देखिन्छ ।

वर्षात्को पानी घरभित्र राखिएको खाटमुनि आहाल परेको छ । ती दम्पती बिहान जंगलका सालका पात टिपेर गाउँगाउँमा लैजान्छन् । पात बेचेर भएको आम्दानीबाट दैनिक गुजारा चलाउँदै आएका छन् । उनीहरूको घर बाँसका कुहिन लागेका भाटा तेर्साएर त्यसमाथि च्यातिएको कपडाले बेरेको शौचालयजस्तो बास बस्ने थलोमा साँच्चिकै कष्टकर जीवन बिताउँदै आएका छन् ।

बुढ्यौली शरीर । जिउमा गतिला कपडा छैनन् । घरमा अन्नको गेडो छैन । बाँसको झिक्राले बारेको टहरो मर्मत गर्न नसक्दा छानाको ठाउँठाउँमा प्वाल परेको छ । घरमा नुन, तेलसहित दैनिक उपभोगका सामान किन्न समस्या छ ।

छिमेकमा कहिलेसम्म मागेर खाने ? दुई दिन काम नगरे पेटमा माड पस्दैन । उमेरले भीममाया ६० र उनका श्रीमान्ले ७० नेटो काटिसके पनि परिश्रम गर्ने आँट र हिम्मत भने कम छैन । यो उमेरमा पनि अहिले उनीहरू जंगलमा गएर पात टिपेर बेच्दै आएका छन् । रुकबहादुरले भने, ‘मुठाको ६० पर्ने सालका पात बिक्री नहुँदा कुनै दिन त भोकै बस्छौँ ।’ चाडबाडका बेला त सोचेजस्तै कमाइ हुन्छ । पात पनि राम्रै बिक्री हुन्छ । तर, कहिलेकाहीँ दुःख गरेर ल्याएका पात पनि कुहिएर जान्छन् ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका कार्यालयबाट तीन/चार किलोमिटरको दूरीमा बस्दै आएका यी दम्पतीको जिउने साहारा भनेकै सालको पात हो । रुकबहादुर भन्छन्, ‘बिहान बेलुका हातमुख जोर्न पनि ठेगान नभएका हामी कहिलेकाहीँ त खाना नपाएरै मर्छौंजस्तो लाग्छ ।’ दिनभर जंगलबाट खोजेर ल्याएको पात बिक्री नहुँदा कहिले नुन, भात त कहिले तातोपानी मात्रै पिएर सुत्ने गरेको उहाँ बताउनुहुन्छ । ‘कहिलेकाहीँ जंगल बन्द हुँदा आफ्नो गाँस नै खोसिएजस्तो लाग्छ,’ भीममायाले सुनाइन् ।

फुर्सद हुँदा गाउँघरमा मल बोक्न जाने गरेको उनी बताउँछिन् । शरीरमा तागत नहुँदा डोकोमा मल खेतबारीमा पुर्याउन पनि निकै गारो हुन्छ । बुढेसकालमा यी दम्पती नेपाली नागरिकताविहीन छन् । यसकारण उनीहरू सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । ‘घरमा पानी पसेर नागरिकता बगाएको छ/सात वर्ष भयो अझैसम्म नागरिकता बनाइदिन्छौँ भन्दै कोही आएका छैनन्,’ भीममायाले दुःखेसो पोखिन् ।

नागरिकता बनाउन धेरैसँग हारगुहार गरे पनि नागरिकता अझै बनाउन नसकेको भीममायाले गुनासो गरिन् । कहिलेकाहीँ श्रीमान् श्रीमती नै बिरामी हुँदा पानी र औषधि खुवाउने कोही हुँदैनन् । केही दिन पहिले घरकै आँगनमा चिप्लिएर श्रीमान्को हात भाँच्चिदा पात टिप्न जंगल जान नपाउँदा उपचार खर्चसमेत जोड्न समस्या परेको उनले बताइन् ।

वाणगङ्गा नगरपालिका–४ का वडाध्यक्ष गणेश क्षेत्रीले नागरिकताका लागि वर्ष दिनबाट पहल भएको बताए । उहाँहरूको अवस्था नाजुक भएको थाहा पाएबाटै वडाले सानोतिनो सहयोग गरिरहेको बताउँदै आगामी दिनमा उनीहरूका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्