कोदाको रक्सी ‘ब्रान्ड’ बनाउन मन्त्री राईको तयारी



दिक्तेल (खोटाङ) ।  सामाजिक विकासमन्त्री उषाकला राईले कोदाको रक्सीलाई ‘ब्रान्ड’ बनाउन कानुनी र व्यावहारिक पक्षको अध्ययन थालेको बताइन् ।

मन्त्री राईले प्रधानमन्त्री केपी शर्मा वली र मुख्यमन्त्री शेरधन राईलाई जानकारी गराउँदै ‘ब्यान्ड भर्सेस ब्रान्ड’लाई कानुनी मान्यता दिलाउन आफू लागिपरेको सुनाइन् ।

सामाजिक विकासमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखिन्, ‘साना उद्योगका रूपमा विस्तारित कोदाको रक्सी उत्पादनलाई कानुनी वैधता दिने प्रबन्ध मिलाउने पहल गर्नेछु ।’ नभन्दै उनले काम थालेकी छन् ।

कोदाको रक्सीलाई ब्रान्ड बनाउन चर्को बहस गर्दै आएकी उनले चैत १८ गते पत्रकार सम्मेलन गरेरै कोदाको रक्सीलाई ब्रान्ड बनाउने तयारीमा जुटेको जानकारी गराइन् ।

उषाकला राईले मन्त्रीको पदभार ग्रहण गरेलगत्तै प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘नेपालको आर्थिक समृद्धिका लागि तपाईंले उठाउनुभएको ब्यान्ड भर्सेस ब्रान्डको नारा प्रदेश १ बाट सार्थक होस् ।’

प्रतिक्रिया दिनुहोस्