गहुँ काट्न खेतबारीमा सामाजिक दूरी


दैलेख । कोरोना संक्रमणबाट बच्न स्थानीय सरकारले सचेतना अभियान तीव्र पारेसँगै खेतबारीमा किसानले दूरी कायम गरेर बाली काट्न थालेका छन् । गहुँबाली बारीमै झर्न थालेपछि राकम कर्णालीका किसान गहुँ काट्न व्यस्त छन् ।

सरकारले लकडाउनको घोषणा गरेसँगै अन्तरपालिका आवतजावतसमेत रोकिएका बेला गहुँ पाकेर खेतमै झर्ने अवस्था आएपछि किसानले यस्तो उपाय अपनाएका हुन् । दैलेख पश्चिम क्षेत्रमा पर्ने राकम कर्णालीका किसान बाली पाकेर बारीमै झर्नुभन्दा टाढा दूरी कायम गरेरै भए पनि गहुँ काट्न थालेको बताउँछन् ।

‘मकैपछिको मुख्य बाली गहुँ नकाट्ने हो भने अन्न अभाव हुन्छ । बारीमा नजाऔं भोकमरीको डर । जाऔं कोरोनाको डर,’ किसान कमला बोहोराले भनिन्, ‘त्यसैले रोग र भोक दुवैको डर हटाउन बारीमा पनि सुरक्षित हुँदै गहुँ काट्न थालेका हौं ।’

राकम कर्णालीको उब्जनीयोग्य फाँटमा उत्पादन हुने गहुँले किसानलाई तीनदेखि चार महिनासम्म खाद्यान्न जोहो हुन्छ । जिल्लामा यस वर्ष १३ हजार ६५० हेक्टरमा गहुँ खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डेले जानकारी दिए ।

‘पहिला घरभित्र अन्न भित्र्याएपछि भित्रै बसी अरू काम गर्ने,’ गौरी बोहोराले सुनाइन्, ‘त्यसपछि सरकारले जति दिन भन्छ त्यति नै घर बस्ने हो ।’

प्रतिक्रिया दिनुहोस्