गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य



तनहुँ (दमौली) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा छनोट गरेको छ ।

मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेका आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा पहिचान गरेको हो ।

मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चुम भ्याली, लमजुङको काउलेपानी, तनहुँको कालिका सहिद तथा शान्ति पार्क र सिद्धगुफा भिमाद, कास्कीको मौजा होमस्टे, सिक्लेस पर्यटकीय क्षेत्र, मनाङको नार फु ट्रेल, मुस्ताङको लोमान्थाङ दरबार गुफा क्षेत्र, पर्वतको दुर्लुङ क्यानोनिङ (छाँगावरोहण), केभिङ र होमस्टे तथा महाशिला नयाँ पर्यटकीय गन्तव्यका रूपमा छनोट भएका हुन् ।

त्यसैगरी, स्याङ्जाको सतौ–चण्डिकालिका क्षेत्र, आलमदेवी, बागलुङको भकुन्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र, नवलपरासी पूर्वको दाउन्नेदेवी, म्याग्दीको घोरेपानी पर्यटकीय क्षेत्र र रघुगंगा रुइसेडाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्ग नयाँ पर्यटकीय गन्तव्यका रूपमा छनोट गरिएको हो ।

पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पुर्याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्न जरुरी रहेको छ ।

सरकारले चालू आव २०७५/०७६ को बजेट वक्तव्यमार्फत नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने घोषणासहित बजेट विनियोजन गरेको थियो । मन्त्रालयका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दा बढीको आवेदन परेको थियो । मन्त्रालयले देशभर एक सय नयाँ गन्तव्य पहिचान गरेको थियो । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले पाँच आधार तय गर्दै सूचना प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्