पर्यटकीय स्थल बनाउन ३ करोडमा कृत्रिम घुमाउने ताल


तनहुँको घिरिङमा तीन करोड रुपैयाँ लागतमा कृत्रिम तालको निर्माण गरिने भएको छ । पचास रोपनी क्षेत्रफलमा निर्माण गरिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो तालबीचमा मन्दिर बनाउने योजनासमेत बनाइएको छ ।

ताल निर्माणका लागि घिरिङ गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका एक्लैको बजेटले ताल निर्माण पूरा नहुने भएकाले प्रदेश र संघीय सरकारसँग आर्थिक सहयोग गर्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष रणबहादुर रानाले बताए । उनले कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन डीपीआरसमेत तयार पारिसकेको जानकारी दिए ।

‘घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको छ,’ अध्यक्ष रानाले भने, ‘ताल निर्माण सुरु भएको तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।’

अध्यक्ष रानाले सुनाए, ‘डुंगा चढेर तालबीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन् । उक्त ताललाई पोखराको फेवातालजस्तै गरी विकास गरिनेछ ।’ तालवरपरका क्षेत्रमा रेस्टुराँ, वनभोजस्थलसमेत सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले वडा नम्बर ३ मा गोफाखोला थुनेर बनाउन लागेको कृत्रिम तालको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्थलगत अवलोकन गरिसकेका छन् । सो अवसरमा मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनमा उत्कृष्ट प्रदेश रहेको भन्दै स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि चाल्ने हरेक गतिविधिमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । उनले भने, ‘पर्यटनबाटै प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना छ । हरेक स्थानीय तहले यो लक्ष्य पूरा गराउन सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्