राजा वीरेन्द्रले महिना दिन बिताएको बुलबुले ताल


सुर्खेत बुलबुल ताल
मै सानी हुनाले छुट्यो मायाजाल

प्रस्तुत लोकगीतले बुलबुले ताललाई मात्र नभई, सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ । लोक संकलक पे्रमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेकर्ड भएको यो गीतले बुलबुले तालसँगै सुर्खेत जिल्लालाई नै चर्चित बनायो । अहिलेजस्तो यातायात र घुम्ने संस्कार विकास नभइसकेको त्यो समयमा रेडियो नेपालबाटै सुर्खेत जिल्ला र बुलबुले तालबारे धेरैले थाहा पाए ।

रेडियो नेपालबाट बारम्बार गुञ्जिरहने हुँदा अधिकांशको जनजिब्रोमा बस्न सफल भयो–सुर्खेतको बुलबुले ताल । गीतकै प्रभाव हुनुपर्छ, सुर्खेत आइपुगेकाले बुलबुले ताल नहेरी फर्कंदैनन् । तालमा बोटिङ गर्ने, बगैंचामा सेल्फी खिचेर भ्रमणलाई यादगार बनाउने जोकोही लालायित हुन्छन् ।

बुलबुले उद्यान व्यवस्थापक सन्तोष केसीका अनुसार पछिल्ला वर्षयता दैनिकजसो अवलोकन भ्रमणमा आउनेले बुलबुले खचाखच भरिने गरेको छ । ‘कामविशेषले कर्णालीप्रदेश आउनेदेखि रारालाई मुख्य गन्तव्य बनाउनेले समेत यसलाई छुटाएको पाइँदैन,’ उनले भने, ‘बुलबुले ताल सानो भए पनि यहाँको उद्यानले पर्यटकलाई लोभ्याउने गरेको छ ।’ हिजोआज सुर्खेतका मात्र होइन, बाह्य जिल्लाका पर्यटकको भीडभाड लाग्ने गर्छ ।

गीत–संगीतले बुलबुलेको प्रवद्र्धन हुन थालेको ४५ वर्ष बिते पनि यसको भौतिक विकासले भने बल्ल गति लिँदै छ । सुर्खेत उपत्यका नगर विकास समितिले पहिलोपटक वृहत् बुलेबुले क्षेत्र विकास गुरुयोजना निर्माण गरेको छ । गुरुयोजना निर्माणले भौतिक संरचना विकासको बाटो खुलेको छ ।

गुरुयोजना बन्नुपूर्व गत वर्षदेखि ताल, पार्क (उद्यान) व्यवस्थापन सुरुवात गरिएको थियो । समितिले पाँच लाख खर्चेर गुरुयोजना निर्माण गरेको हो । ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णालीप्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पर्छ । नगर विकास समिति अध्यक्ष नारायण कोइरालाले गुरुयोजनाअनुसार यसलाई रमणीय बनाउन आवश्यक बजेट व्यवस्थापनमा जुटिरहेको बताए ।

‘बुलबुलेलाई केवल ताल र पार्कमै सीमित राख्दैनौं, यो प्रदेशकै महत्वपूर्ण सम्पदा हो,’ अध्यक्ष कोइरालाले भने, ‘थप संरचना बनाउन प्रदेश सरकारसँग बजेट मागेका छौं ।’ गुरुयोजनाको मर्मअनुसार नै वीरेन्द्रनगरका प्रमुख पर्यटकीय गन्तव्य बुलबुले र काँक्रेविहारलाई सडक सञ्जालमा जोड्ने कार्य सम्पन्न भएको छ । बुद्धको ठूलो प्रतिमा स्थापना गरिएको छ । तालपरिसरकै उद्यानमा तत्कालीन राजा वीरेन्द्रले एक महिना यहीं बिताएका थिए । जसले गर्दा बुलबुलेको गरिमा उँचो भएको स्थानीयको भनाइ छ ।

गुरुयोजनाअनुसारकै संरचना निर्माण गर्न ३१ करोड बजेट खर्च हुनेछ । स्वीमिङ पुल, स्नान घर, बोटिङ, ताल वारपार गर्न पुल, वनभोजस्थल, बाल उद्यान, बुलबुले प्लाजा, टिकट घर, मन्दिर, पार्किङ, पर्यटन सूचना केन्द्र र कार्यालय भवनजस्ता संरचना निर्माण गर्ने नगर विकास समितिको योजना छ । त्यस्तै, ताल क्षेत्रलाई पनि विस्तार गरिनेछ । यसअघि जथाभावी प्रयोगमा आउने गरेका वनभोजस्थललाई व्यवस्थित बनाइएको छ । वनभोजका लागि आवश्यक सामग्री त्यहीँ किन्न सकिने व्यवस्था मिलाउन लागिएको अध्यक्ष कोइरालाले बताए ।

बुलबुलेमा हिजोआज पनि खुला स्थानमै नुहाउने गरिन्छ । अब महिला–पुरुषका लागि बेग्लाबेग्लै स्नान घर बनाउने योजना अघि सारिएको छ । जिल्ला समन्वय समितिका उपसंयोजक देवी भट्टराई बुलबुलेलाई अझै सुन्दर एवम् व्यवस्थित गराउन ढिलाइ गर्न नहुने बताउँछन् । ‘प्रदेश राजधानीको मुटुमै रहेको यो आकर्षक गन्तव्य हो,’ उनले सुनाए, ‘यसका लागि कुनै पनि निकायले बजेट छुट्ट्याउन आनाकानी गर्नुहुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्