बुद्धले पानी पिएका बुद्धमंगल ताल



पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमंगल ताल संरक्षण तथा प्रचार–प्रसार अभावमा ओझेल परेको छ । बुद्धसँग सम्बन्धित ताल जसका विभिन्न विशेषता छन् । बुद्धले त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्नेक्रममा बाटोमा पर्ने तालको पानी खाएर र एक रात बिताएरमात्र आउने जाने गर्ने गरेको धार्मिक कथन रहेको पाइन्छ ।

करिब १० देखि १२ बिघा क्षेत्रफलमा फैलिएको ताल वर्षौंदेखि अतिक्रमणको चपेटामा परेर अहिले सात बिघा चार कठ्ठा क्षेत्रफलमा सीमित भएको छ । ताल संरक्षण तथा व्यवस्थापन अभावमा ओझेलमा पर्दै गएपछि पछिल्लोपटक नगरपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा तालको संरक्षण गर्न लागेको छ ।

तालको संरक्षणको जिम्मा नगरपालिकाले लिएपछि प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा तालको व्यवस्थापन गर्ने काम भएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताए । शान्तिका अग्रदूत भनेर संसारले मान्दै आएका गौतमबुद्धसँग सम्बन्धित तालबारे कतिपयलाई जानकारीसमेत छैन । जानकारी भएकाले पनि संरक्षका लागि प्रभावकारी रूपमा आवाज उठाएको पाइँदैन ।

तालको प्रचार–प्रसार गर्नेतर्फ प्राथमिकतासाथ ध्यान पुग्न नसक्दा ताल संरक्षण अभावमा ओझेलमा परेको छ । तालको विशेषतामध्ये ताल सुख्खा मौसममा पनि पानी हुने गर्छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने ताल व्यवस्थापनका साथै थप भौतिक पूर्वाधारको व्यवस्थापन गर्न सके स्थानीय पर्यटकसहित देश–विदेशका पर्यटक भित्र्याउने वातावरणको सिर्जना हुने बताइएको छ ।

ऐतिहासिक तालमा पर्यटक भित्र्याउने बाटो, भोजनालय, बासस्थान, पार्किंङ खानेपानीलगायतको पूर्वाधार विकास गर्न आवश्यक रहेको स्थानीय दीपक बरालले बताए । यस ताललाई संवत् २०५० मा बुद्धमंगल ताल भनेर नामाकरण गरिएको बताइन्छ । धार्मिकमात्र नभई, पर्यटकीय दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको सो ताल पूजाआजा, विवाह तथा अवलोकनका हिसाबले पनि महत्वपूर्ण छ । तालकोवरपर विभिन्न प्रजातिका चराचुरुंगी पाइने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्