शिक्षणको तलबले घर धान्न धौ–धौ परेपछि तरकारी खेती



कुश्मा (पर्वत) । मानिस व्यस्त रहनु उसको सफलताको सुरुवात हो । शिक्षण पेसाबाट मात्र नभएर, बिहान बेलुकाको समय कृषिमा रमाउन थालेका शिक्षक रामकृष्ण रेग्मी शिक्षण पेसाबाट मात्र तृप्त हुन सकेनन् । शिक्षक रेग्मीले जीवनलाई सार्थक बनाउन र आर्थिक रूपमा समृद्ध बन्दै परिवारको भविष्य थप सुनिश्चित गर्न कृषिलाई पनि सँगसँगै लैजाने निधो गरे ।

फलेवास नगरपालिका–३ रुग्दीका उनकोे बारीमा हरेक मौसममा लटरम्म गोलभेंडा र मौसमअनुसारका तरकारी फलेका हुन्छन् । मौसमअनुसार खुला ठाउँमा र हिउँदमा प्लास्टिकको घर बनाएर उनले तरकारी फलाउने गरेका छन् । आफ्नै गाउँनजिकैको निम्न माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका उनी बिहान र बेलुकाको समय बारीमै तरकारी गोडमेलमा व्यस्त हुन्छन् । बारीमा काउली, गोलभेंडाजस्ता तरकारी हुर्किरहेका हुन्छन् ।

तरकारीको गोडमेल गर्नु उनको साँझ–बिहानको दिनचर्याजस्तै बनेको छ । उनी शिक्षक तथा तरकारी कृषकमात्र नभएर कुखुरापालन र गाउँकै थोक किराना पसल गर्ने एक व्यवसायीसमेत हुन् ।

शिक्षणबाट आफूले घरपरिवार तथा छोराछोरीलाई पढाउनसमेत धौ–धौ हुने गरेको अनुभव सुनाउँदै उनले अहिले आफ्नो परिवार धान्न तथा घर खर्च चलाउन सहज हुने गरेको बताए । पछिल्लो आठ वर्षयता उनको परिवारले व्यावसायिक तरकारी खेती गरिरहेको छ ।

रेग्मी परिवारले खर्च कटाएर कृषिबाटै वर्षको तीन लाखसम्म आम्दानी गर्छ । घरमै तरकारी खेती र कुखुरापालन व्यवसाय राम्रो हुँदै गएपछि उनको परिवार अहिले एकदमै खुसी छ । उनको परिवारमा छोटो समयमा उल्लेख्य परिवर्तन आएको छ । उनको परिवारले ल्याएकोे परिवर्तनले अहिले रेग्मीको घरमा मात्र नभएर शङ्करपोखरी रुग्दीका हजारभन्दा धेरै किसानको घरमा यस्तै परिवर्तन आउन थालेको छ । विदेश गएर फर्केकासमेत अहिले कृषिमा होस् या पशुपालन व्यवसाय, सबै आफ्नो गाउँ आफैं बनाऊँ अभियानमा जुटेका छन् । पछिल्लो समय गाउँमा आएको जनचेतना र नयाँ प्रविधिलाई आत्मसात् गरिएकाले यस्तो परिवर्तन आएको बताइएको छ ।

कृषक रेग्मीले बिदेसिने युवालाई लक्षित गर्दै आफूले गाउँमा कृषि क्रान्तिको सुरुवात गरेको बताए । झन्डै ७० प्रतिशत तरकारी बारीबाटै बिक्री हुने गरेको छ । बाँकी तरकारी उनले सदरमुकाममा लगेर विक्री गर्छन् । उनका अनुसार अहिले तरकारीबाहेक कुखुरापालन व्यवसाय तथा किराना व्यवसायबाट मात्रै महिनाको एकदेखि दुई लाखको हाराहारीमा कमाइ हुन्छ । सबै खर्च कटाएर उनले मौसमअनुसार महिनामा एक लाख रुपैयाँसम्म बचत गर्छन् ।

विद्यालयमा अध्यापन गराउँदै आएका रेग्मी देश र परिवारसँगै बसेर कमाउने सपना पूरा गर्न पाएकोमा खुसी छन् । दुई छोरा र श्रीमतीसाथ खेतीकिसानी र शिक्षण पेसामा रमाइरहेका उनलाई माटोको जस्तो मीठो सुगन्ध केहीमा छैन जस्तो लाग्छ । लाखौं खर्च गरेर विदेशमा पसिना बगाउने युवाका लागि नेपालमै धेरै सम्भावना छ भन्ने गतिलो उदाहरण बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्