दम्कु (कुभिन्डे), खोटाङ । जनप्रतिनिधिको भूमिकासँगै विशाल राई किवी खेतीमा रमाइरहेका छन् । रावाबेंसी गाउँपालिका–१, कुभिन्डेका वडासदस्य राई संवत् २०७२ देखि किवी खेतीमा लागेका हुन् । दम्कुवासी उनले पहिलोपटक ५० बोट किवी रोपेका थिए ।
केपिलासगढी गाउँपालिका–१ फेदीबाट ल्याएर परीक्षणका लागि रोपेका ५० बोट किवीले सोचेभन्दा धेरै फल दिँदा उनी कम्ती खुसी भएनन् । ४५० रुपैयाँका दरले ५० बोटको २२ हजार ५०० खर्चेर रोपेको किवी रोपे । सोचेजस्तो उत्पादन दिन थालेपछि ६ रोपनी जग्गामा १५० बोट किवी रोपेका छन् । समुद्र सतहदेखि १८०० मिटर उचाइ (दम्कु) मा रोपिएका एक बोट किवीमा ५० किलोग्रामसम्म फल्ने बताइन्छ । किवीका लागि दम्कु उपयुक्त ठाउँ हो ।
‘एकपटक रोपेको किवीले ६० वर्षसम्म उत्पादन दिन्छ,’ वडासदस्य राईले सुनाए, ‘यसलाई अरूजस्तो मल प्रशस्त चाहिँदैन । थोरै पानीले पनि पुग्छ । थाँक्रो आवश्यक पर्छ । किवीको पातलाई किराले खानेभन्दा अरू रोग लागेको छैन ।’ नेपालमा सम्भवतः ६० वर्षदेखि किवी खेती गर्ने किसान नहुन सक्छन् ।
कुभिन्डेलाई किवीको पकेट क्षेत्र बनाउन सकिने उनको भनाइ छ । भूगोलको हिसाबले पनि कुभिन्डेलाई पालिकाले योजना बनाएर किवी खेतीको पकेट क्षेत्र बनाउन उपयुक्त मानिन्छ । उनले ‘हेबाड’ प्रजातिको किवी धेरै लगाएका हुन् । थोरै मात्रामा ‘इलिसन’ प्रजातिका । ‘हेबाड’ को माग काठमाडौंमा पनि राम्रै छ । इको हिमालबाट किवी खेतीसम्बन्धी तालिम लिएका उनले गत वर्ष ‘हेबाड’ प्रजातिको किवी बिक्रीका लागि काठमाडौंसम्म पठाए । बिक्री राम्रै भयो । अन्यभन्दा ‘इलिसन’ तुलनात्मक रूपमा सानो फल्छ । तसर्थ, बजारको माग पनि कमै छ ।
किवी बिक्री नभए वैकल्पिक उपाय पनि छ । जाम, वाइन, जुस बनाएर बेच्न सकिन्छ । रावाबेंसी गाउँपालिकाको तल्लो क्षेत्र लिचीको पकेट क्षेत्रका रूपमा परिचित छ । माथिल्लो क्षेत्र किवीको पकेट क्षेत्र बनाउन सकिन्छ ।
मिश्रित खेती गरिरहेका उनले २०० बोट तेजपत्तासमेत लगाएका छन् । वयस्क हुँदै गए पनि तेजपत्ता बिक्री गरेका छैनन् । बजार नबुझे पनि पाइन्छ भन्नेमा विश्वस्त छन् ।
यसैगरी, मौरीपालन थालेका छन् । किवी खेतीका लागि मौरीको भूमिका अहम् हुन्छ । भाले र पोथी किवीको मिश्रण हुनलाई मौरीको भूमिका महत्वपूर्ण मानिन्छ । मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाउने योजनाबद्ध योजना बनाएका उनको ठम्याइ छ, ‘आधुनिक तरिकाले कृषि कर्ममा लाग्ने हो भने आत्मनिर्भर बन्न सकिने सम्भावना प्रशस्तै छ ।’
जनप्रतिनिधि (वडासदस्य) मा निर्वाचित भएपछि मतदातासँग घुलमिल भएर सिक्ने र सिकाउने मान्यता राखेको छु । ‘मतदातासँग घुलमिल हुन नसक्ने जनप्रतिनिधिको उपादेयता रहँदैन । त्यसमाथि हामी त ‘ग्रास रुट’को जनप्रतिनिधि हौं,’ वडासदस्य विशाल राईले पुछारमा भने, ‘भूगोलका आधारमा कृषि कार्यक्रम बनाइनुपर्छ । मतलब लेक र बेंसीको भूगोललाई हेरेर कृषि कार्यक्रम बनाइए व्यावहारिक हुन्छ ।’