गाउँ फर्केर मिश्रित खेतीमा रमाइरहेका गायक



दुर्छिम (खोटाङ) । ‘त्यतिबेला जंगलमा भेटिएका फूलका बिरुवासमेत घर ल्याएर रोप्थें,’ गायक तथा संगीतकार नरेन्द्र राईले अतीत सुनाए, ‘६ कक्षा पढ्न दुर्छिम माध्यमिक विद्यालय छापडाँडा पुग्दा गुराँस देखें । गुराँस घर झारेर रोपें । तापक्रम नमिलेपछि जगाउन सकिनँ ।’

केटाकेटीदेखि नै बोटबिरुवाप्रतिको मोह । जहाँ कहीं पुग्दा देखेका बोटबिरुवा घर ल्याएर रोप्नैपर्ने । योक्रम चलिरह्यो । चलिरहेको छ । र, चलिरहनेछ ।

एसएलसी उत्तीर्ण गरेपछि गायक तथा संगीतकार राई काठमाडौं पसे । काठमाडौं–खोटाङ ओहोरदोहोर गरिरहे । काठमाडौंमा समेत जीवनको लय समातिरहेको समय कोरोना कहरबाट जोगिन गाउँ फर्के । यो संवत् २०७७ सालको कुरा हो । अपवादबाहेक सहरभन्दा गाउँ सुरक्षित ठानिन्छ । त्यसैले गाउँठाउँमै पसिना बगाउने निष्कर्ष निकाले ।

एजे बहुउद्देश्यी कृषि तथा पशु पक्षी फर्म दर्ता गरे । लिची, आँप, ड्र्यागन फ्रुट, स्याउ, चेरी, अंगुर, एबोकाडो, कागतीलगायत फलफूल रोपे । परीक्षणका लागि १०/१५, १०/१५ बोट हुर्काए । हुर्केका फलफूलले फल दिन थालिसकेको छ । फर्ममा गोलभेंडा, काउली, काँक्रालगायतका तरकारी फलेको देख्नेको मनै लोभ्याउँछ ।

पाउलोनिया, अगरउड, एप्पल वायरलगायत काठ प्रजातिका बिरुवा पनि हुर्कंदै छन् । ४० रोपनी जग्गामा फर्म सुरु गर्ने लक्ष्यसहित थालेको मिश्रित खेतीले १२ रोपनी ढाकिसकेको छ । समुद्र सतहदेखि ८०० मिटर उचाइमा गर्न सकिने खेतिपातीबारे गहिरो अध्ययन गरिरहेका छन् । हलेसी क्षेत्रमा एकमात्र मिश्रित खेती गर्ने उनले नर्सरीसमेत सुरु गरेर स्थानीयस्तरमा विभिन्न प्रजातिका २५ सय बोटबिरुवा वितरण गरिसकेका छन् । ‘बिरुवा उत्पादन गर्ने सीप सिकेको छु,’ उनले स्वीकारे, ‘ग्राफ्टिङ गर्न पनि आउँछ ।’

संवत् २०५९ मा अर्गानिक पाठशालासम्बन्धी तालिम गरे । ललितपुरको खुमलटारमा लिएको तालिम गाउँ फर्केपछि सदुपयोग भएको छ । ‘गाउँमै बसेर के–के उत्पादन गर्न सकिन्छ भनेर परीक्षण गरिरहेको छु,’ उनले थपे, ‘हलेसीजस्तो सुक्खाग्रस्त ठाउँमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भनेर गरेको परीक्षणले लक्षण राम्रै देखाएको छ । गर्न सकिँदोरहेछ भन्नेमा आशावादी छु ।’

गाउँबाट सहर पस्ने घटेका छैनन् । खेतबारी बाँझिएकै छन् । ‘तपाईं–हामी प्रत्येकसँग धेर– जग्गा छ । त्यसलाई सदुपयोग गर्न सकिन्छ,’ उनले सुझाए, ‘इच्छाशक्ति भयो भने गाउँमा व्यवसाय गर्न सकिँदोरहेछ ।’ उत्पादनले बजार नपाउला भन्ने चिन्ता छैन । फर्ममा उत्पादित उत्पादन हलेसीसम्म पुर्याउन आफैं लागिपर्छन् ।

शारीरिक श्रमबाहेक २० लाख रुपैयाँ लगानी भइसकेको छ । दैनिक दुई/तीन घन्टा फर्ममै अल्मलिने युवा व्यवसायी नरेन्द्र राई संगीतका विद्यार्थी भएकाले खोटाङ–काठमाडौं गरिरहन्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्