सूचनाका आँखीझ्यालको संस्थापक



वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको देहावसानसँगै नेपाली सञ्चार क्षेत्रका एउटा धरोहरको अन्त्य भएको छ । सहकर्मी साथीसँग मिलेर मुलुकमा पहिलोपटक समाचार समितिका रूपमा सगरमाथा संवाद समिति तथा पछि राष्ट्रिय समाचार समितिको स्थापना गरी सञ्चार क्षेत्रमा अतुलनीय योगदान गरेका श्रेष्ठसँग लामो काम गरेका सहकर्मी उनलाई इमानदार र परिश्रमी पत्रकारका रूपमा सम्झन्छन् ।

नेपालमा पहिलोपटक राष्ट्रियस्तरबाट संवत् २०१८ फागुन ७ गते राष्ट्रिय समाचार समितिको स्थापना भएको हो । रासस स्थापना हुनुअघि नेपालमा सगरमाथा संवाद समिति र नेपाल संवाद समिति नामका दुई समाचार समिति थिए । श्रेष्ठका सहकर्मी उनलाई देश र जनताप्रति प्रतिबद्ध पत्रकार मान्छन् ।

रासस समग्र राष्ट्रका लागि सूचनाको झ्याल हुनुपर्छ भनी मान्ने उनले साथीभाइसँगको भेटमा बारम्बार राससलाई विविधता र बहुलतातर्फ लैजाने बेला भइसकेको बताउने गरेको सम्झना ताजै रहेको वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी बताउँछन् ।

राससले जनजीवनबारे समाचार खोज्नुपर्छ र नेपाली जनताको सार्वजनिक समस्यालाई रिपोर्टिङ गर्दा राम्रो हुन्छ भन्नेमा उनी जोड दिन्थे । राससको अंग्र्रेजी समाचार सेवालाई अनुवाद होइन, अंग्र्रेजी भाषाको समाचार सेवा बनाउनुपर्छ भन्ने धारणा उनले बारम्बार आफूसँग व्यक्त गर्ने गरेको रेग्मीको अनुभव छ ।

वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन्, ‘मैले मणीन्द्रराज श्रेष्ठसँग धेरै संगत त गर्न पाएको छैन । तर, उहाँसँग जति संगत गरेको छु, त्यसबाट उहाँ एउटा इमानदार, साह्रै परिश्रमी तथा सहृदयी हुनाका साथै निर्णय क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो ।’

रिसालले सहपाठी मणीन्द्रराजले राससले छाप्न नसक्ने कडा खालका समाचार मेरो पत्रिका ‘मदरल्यान्ड’मा छापिदिन्छु भनेको स्मरण गरे । यस्ता कतिपय समाचार पत्रकार माधव आचार्यमार्फत ‘मदरल्यान्ड’मा छापिन्थ्यो । ०२४ मा राससको प्रमुख समाचारदातासहित लामो समय रासस समाचारदाताका रूपमा अनुभव सँगालेका रिसालले राससलाई समयअनुरूप परिमार्जन गर्न सकेमा श्रेष्ठजस्ता संस्थापकको सपना पूरा हुने बताए ।

रेग्मीले श्रेष्ठको ‘मदरल्यान्ड’ पत्रिकामा पनि आफूले लेखेको अनुभव सुनाउँदै श्रेष्ठ विवेक राखेर समाचार सम्पादन गर्नेमध्येका एक सम्पादक रहेको सुनाए । समाचार संकलनमा नवीनता हुनैपर्ने तथा सम्पादन गर्दा रिपोर्टिङको मर्म बुझेर सम्पादन गर्नुपर्नेमा राससका प्रमुख समाचारदाताका रूपमा सेवा गरिसकेका रेग्मीले जोड दिए ।

राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले सगरमाथा संवाद समिति र राससको स्थापना गरेर श्रेष्ठले नेपाली सञ्चार जगत्ले बिर्सनै नसकिने गहकिलो योगदान गरेको बताए ।

रासस स्थापना गर्नुअघिसम्म सगरमाथा संवाद समितिको नेतृत्व गरिरहेका श्रेष्ठले सन् १९६९ मा ‘मदरल्यान्ड’ अंग्र्रेजी पत्रिकाको पनि स्थापना गरी नेपालमा अंग्रेजी पत्रकारिताको सुरुवात गरेको थियो भन्दै बस्नेतले यो उनको बिर्सनै नसकिने महत्वपूर्ण योगदानका रूपमा आफूले लिएको बताए ।

राससको स्थापनाकालमा रासस बोर्ड अध्यक्षमा रामराज पौड्याल, गोविन्द वियोगी र श्रेष्ठ सदस्य थिए । हिमाल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका फाइनान्स अफिसर सुनील चित्रकारले श्रेष्ठले हिमाल ट्रेडिङ इन्टरप्राइजेज प्रालि स्थापना गर्नाका साथै रोटरी क्लब काठमाडौं र काठमाडौं जेसिजको अध्यक्ष तथा नेपाल गल्फ क्लबको १० वर्षसम्म अध्यक्ष भई काम गरेको जानकारी दिए ।

श्रेष्ठले ०४० मंसिर २ मा स्थापना गरेको हिमाल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विदेशी कम्पनीसँग एजेन्सीका रूपमा काम गर्दै आएको चित्रकारले बताए ।

काठमाडौँको सुप्रसिद्ध फुटबल क्लब एनआरटी (न्युरोड टिम) बाट खेलकुद क्षेत्रमा सहभागी हुने राम्रो खेलाडीका रूपमा महत्वपूर्ण योगदान गरेका श्रेष्ठ काठमाडौं खेल मण्डलमा पनि संलग्न रहेका उनका छोरा शनि श्रेष्ठले जानकारी दिए । १९९१ मा भाइटीकाका दिन जन्मेका श्रेष्ठको हृदयाघातबाट निधन भएको थियो ।

राष्ट्रिय समाचार समिति अध्यक्ष हरिहर अधिकारी (श्यामल)ले राससको संस्थापकमध्येका एक जीवित व्यक्तिका रूपमा रहेका श्रेष्ठलाई गुमाउनुपरेकामा दुःख व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्