घुम्तीमा कहिल्यै नभेटिने १ हजारभन्दा बढी गीतका आवाज



सिन्धुपाल्चोक । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा बिहीबार निधन भएको छ ।  छातीमा समस्या देखिएपछि बसुन्धरास्थित न्युरो अस्पताल काठमाडौंमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उनको जन्म काठमाडौंको नःघलमा भएको थियो ।

पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट संवत् १९९४ मा जन्मेका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । उनले गाएको २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’, २०२१/२०२२ तिरको ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’ जस्ता गीत अझै पनि लोकप्रिय छन् । यसैगरी, ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो’ जस्ता लोकगीत पनि चर्चित छन् ।

०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको ‘नमान लाज यस्तरी’ जस्ता गीत सबैको जनजिब्रोमा झुन्डिएको छ । उनका हजुरबुवा नारायणकृष्ण र आमा संगीतका पारखी भएकाले उनी संगीतमय वातावरणमा हुर्किएका थिए । किशोरावस्थामा नारायणगोपालका साथ झन्डै महिना दिन बिताउनेगरी उनी चौतारा आएको पारिवारिक स्रोतले जनाएको छ ।

आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाएका उनको श्रीमती र दुई छोरा छन् ।

प्रधानको योगदान चीरकालसम्म सम्झनेछौँ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांगीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बिहीबर बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलीसाथ शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेकी हुन् ।

‘नेपाली संगीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौं,’ ट्वीटमा लेखिएको छ ।

गायक प्रधानको योगदान सदा स्मरणीय : प्रधानमन्त्री

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गरेका छन् ।

दिवंगत प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । ‘नेपाली गीत–संगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहनेछ,’ ट्वीटमा भनिएको छ ।

प्रेमध्वजले पुर्याएको योगदान स्मरणीय : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनको खबरले आफू मर्माहत भएको जनाएका छन् ।

सभामुख सापकोटाले बिहीबार अपराह्न ट्वीट गर्दै प्रधानप्रति श्रद्धाञ्जलि अर्पणसाथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा प्रधानले पुर्याएको योगदान स्मरणीय रहने सभामुख सापकोटाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्