सुन्दर ‘सुटिङ स्पट’


दिक्तेल । तस्बिर : दमन राई

दिक्तेल (खोटाङ) । चलचित्र छायांकनका लागि खोटाङमा उपयुक्त स्थल कति छन् कति । चलचित्र छायांकनका लागि उपयुक्त र रमणीय स्थल जिल्लामा प्रशस्तै छन् । तर, चलचित्रकर्मीका आँखा यहाँका मनोरम स्थलमा पर्न नसकेको भने पक्कै हो । केही म्युजिक भिडियोबाहेक एक/दुई नेपाली चलचित्रका दृश्यमा खोटाङ कैद छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा रहेको त्रिधाम हलेसी, साकेला गाउँपालिका, खोटाङ र टेम्के मैयुङ गाउँपालिका भोजपुरको बीचमा रहेको टेम्केडाँडा, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको रूपाकोट डाँडा, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, लौरेडाँडा, मैयुँ, चिलिमढुंगालगायतका रमणीय स्थल चलचित्र सुटिङका लागि उपयुक्त स्थल हुन सक्छन् ।

किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाका केन्द्र हलेसी गुफाका प्राकृतिक संरचना हुन् वा लौरे, मैयुँ, टेम्केको लेकाली हराभरा फाँटले चलचित्र निर्माताको मन अवश्य लोभ्याउन सक्छन् । मैयुँ, मेरुङ, साल्पा, सिलिचुङ, रूपाकोट, चखेवा भन्ज्याङ, पानधारे र जन्तेढुंगा चलचित्र छायांकनका लागि उपयुक्त स्थल रहेको चलचित्र ‘बिनायो’का निर्देशक रोशन चाम्लिङले बताए ।

हलेसी तुवाचुङ नगरपालिकामै पर्ने किरात समुदायको मातृथलो तुवाचुङ, बुङालुङ, हलेसीगढी, भुम्जुगढी, सल्लेपोखरी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकै मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम, महुरेगढीमा पनि चलचित्र छायांकन गर्न सकिन्छ । यसैगरी, वराहपोखरी गाउँपालिकाको वराहपोखरी, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुंगा, हुम्मापोखरी, छोङ्खा साकेलाथान, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, सोलढुंगा, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको धिप्लुङ झरना, ऐंसेलुखर्क गाउँपालिकाको बहानेपोखरी, रावाबेंसी गाउँपालिकाको रावागढीलगायतका स्थलमा पुगेर चलचित्रका कथालाई आवश्यक दृश्य कैद गर्न सकिन्छ । ‘उल्लिखित स्थानमा मात्र होइन, खोटाङका जहींतहीं चलचित्र छायांकन गर्न सकिन्छ । यो स्टोरीवाइज हुने कुरा हो,’ निर्देशक चाम्लिङले भने, ‘खोटाङका प्रायजसो ठाउँ चलचित्र छायांकनका लागि कुनै न कुनै हिसाबले उपयुक्त मानिन्छ ।’

हलेसी

नागबेली डाँडाकाँडा, हिमालका चुचुरा, लेकका नागी, प्राकृतिक गुफा, धार्मिक तथा सांस्कृतिक सम्पदा जिल्लाका सम्भावित ‘सुटिङ स्पट’ हुन् । पर्यटन प्रवद्र्धनका लागि ‘एक्स्प्लोर’ गरिएको मुन्दुम ट्रेलसमेत चलचित्र छायांकनका लागि छुटाउनै नहुने स्थान हुन् । जिल्लाका अन्य डाँडाकाँडा, उकाली–ओराली, भन्ज्याङ, चौतारी, खोलानाला आदि चलचित्र छायांकनका लागि उपयुक्त ठानिन्छ । विविध जातजातिको बसोवास रहेको जिल्लाका सामाजिक र सांस्कृतिक पक्षलाई चलचित्रको दृश्यमा कैद गर्न सकिन्छ । तर, आजसम्म ‘एक्स्प्लोर’ गर्ने प्रयास गरिएको छैन । विभिन्न कालखण्डमा भए–गरिएका प्रयासलाई नगन्य मान्न सकिन्छ ।

जिल्लामा भएका प्राकृतिक सौन्दर्यले भरिएका स्थललाई चिनाउँदै सबैभन्दा पहिला नेपाली चलचित्र निर्मातालाई भित्र्याउन सक्नुपर्छ । जिल्लाकै दर्जनौं कलाकार कलिउड (नेपाली चलचित्र इन्डष्ट्रिज)मा संलग्न छन् । खोटाङले भीमबहादुर थापा, लक्ष्मी गिरी, नवल खड्का, किशोर खतिवडा, दीपाश्री निरौलादेखि एलिसा राई, पार्वन राई, प्रवीण पुमा, खेमराज राईलगायतका सिनेकर्मी पाएको छ । जिल्लाका रमणीय स्थलबारे जाने/बुझेका तिनै कलाकारबाट यसको सुरुवात गर्न ढिला भइसकेको छ । त्यसपछि क्रमशः बलिउड र हलिउडकर्मीलाई समेत खोटाङसम्म आउने वातावरण तयार गर्न योजनाबद्ध योजना बनाउन आवश्यक छ । चलचित्रमार्फत जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउन सकिन्छ ।

भुम्जु

बन्द भए चलचित्र हल

हलसम्म पुगेर चलचित्र हेर्ने दर्शक खोटाङमा नभएका होइनन् । तर, दिक्तेलमा खुलेका कुमारी चलचित्र हल र मुभिल्यान्ड हाइभिजन हल बन्द छन् ।

तुवाचुङ

प्रतिक्रिया दिनुहोस्