दुर्छिम (खोटाङ) । ‘आफ्नै तिप्पा (ठूलो बुवा) र बाबै (काका)हरूले आफैंले कथेर गीत गाउँथे,’ गीतकार सुरेश चाम्लिङले अतीत सम्झे, ‘ठूलो बुवा र काकाहरूले गाएको गीत ध्यानपूर्वक सुन्थें ।’
हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुमाखु खोटाङका गीतकार चाम्लिङलाई गाउने रुचि नभए पनि गीतचाहिँ कसरी बनाउने होला भनेर एकोहोर्यायो । उनले परिकल्पना गर्थे, ‘तिप्पा र बाबैहरूले गाउने गीतचाहिँ मैले लेख्नैपर्छ ।’
परिकल्पनालाई प्राथमिकतामा राखे । प्रतिबद्ध भएर जानी नजानी गीत लेख्न थाले । संवत् २०६३/०६४ देखि प्रतिबद्ध भएर गीत लेख्न थाले । गीतको संख्या बढ्दै गयो । डायरीका पानाहरू गीतैगीतले भरिए । गीत लेखेरमात्रै भएन । एउटा गीत रेकर्ड गरेरै छाड्ने गीतकारको रहर जाग्यो । रहरलाई रहरलाग्दो बनाउन कुनै आइतबार कुरेनन् ।
दुर्छिम, चुमाखुका गायक तथा संगीतकार दीपेश राईले एक गीतमा संगीत भरिदिए । दुर्छिम, वानाम्लाका गायक नरेन्द्र राईले आवाज दिए । ‘गीत रेकर्ड भयो । म्युजिक भिडियो पनि बन्यो । गीत रेकर्डसँगै म्युजिक भिडियो बन्दा कम्ती खुसी लागेन,’ उनले खुसी व्यक्त गरे, ‘गीत रेकर्ड भएपछि म सधैंका लागि बाँच्छु भन्ने लाग्यो । मेरो गीत सन्तान दरसन्तानले सुन्नेछन् । मैले कीर्ति राखें ।’
हो, गीतकार चाम्लिङले कीर्ति राखेकै हुन् । उनको गीत उनका सन्तान, दरसन्तानले मात्रै होइन, अरूले पनि सुन्न पाउनेछन् । गीतकार सुरेश चाम्लिङको गीत हो नि भनेर चर्चा–परिचर्चा हुने नै भयो । ‘पैसा कमाउन गीत रेकर्ड गरेको हो,’ उनले थपे, ‘न त भाइरल बन्ने लोभ नै थियो ।’
हिजोआज पनि गीतकार चाम्लिङले गीत लेख्न छाडेका छैनन् । आफूले लेखेको गीत धेरैलाई देखाउँछन् । हेर्नेले गीत भएको उत्तर दिन्छन् । त्यस्तो प्रतिक्रिया पाउँदा उनलाई लेख्न उत्साहित बनाउन नै भयो । आफ्नै तरिकाले लेख्दै आएको गीत पुनःलेखन गर्न भ्याएका छैनन् । लेख्यो । छाड्यो ।
‘गहिरो अध्ययन नभए पनि गीति लेखनलाई निरन्तरता दिएकै छु,’ उनले जानकारी गराए, ‘गीत लेखेर डायरी भर्ने काम चलेकै छ ।’
मानिसको प्रकृति र प्रवृत्ति एउटै हुँदैन । ‘कतिपयलाई कसैको कुरा नकाटी खाएको पच्दैनजस्तो गर्छन्,’ उनको बुझाइ छ, ’कसैकसैले आफूलाई जुझोबाझोमा सहभागी गराइरहन मन पराउँछन् । कोहीकोही नपढी नहुनेखालका हुन्छन् । भए पनि, नभए पनि मलाईचाहिँ गीत लेख्नैपर्ने हुन्छ । त्यत्तिका लागि लेख्दै आएको छु ।’
आफूले भोगेको समय गीतको माध्यमबाट सार्वजनिक गर्दा पाथीभात खाएजस्तो लाग्ने गीतकार सुरेश चाम्लिङले पुछारमा सुनाए ।
म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।