नायिका पूर्णिमा लामाद्वारा दुबईमा यात्रुवहाक बस सञ्चालन



सात कक्षा पढ्दै गर्दा जापान जाने मौका पाइन् । १० कक्षा पढ्दै गर्दा बेलायत पुगिन् । चाहँदा उतै भविष्य खोज्न सक्छिन् । तर, नेपालमै केही गरौं भन्ने दृढइच्छा छ । त्यही इच्छा पूरा गर्न अभिनय, सामाजिक काम र विभिन्न व्यवसायमार्फत लागिपरेकी छन् ।

स्टाफ नर्स बन्ने सपना देखेकी नायिका पूर्णिमा लामा अभिनयमा रमाइरहेकी छन् । मिस जापान, मिस व्युटी र मिस एन्जल हुँदै अभिनयकर्ममा रमाइरहेकी नायिका लामाको व्यस्तता बढेको छ । ६/७ चलचित्र र १०/१२ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । चलचित्र ‘हिरोज’ बाट सुरु यात्रा अहिलेसम्म सुखद रहेको उनको स्वीकारोक्ति छ ।

अभिनयका लागि कसैले आग्रह गर्दा उनी तीनछक परिन् । हुन पनि हो, अभिनय र नृत्यसम्बन्धी तालिम नलिएकी उनको नृत्यकला हेरेपछि कसैले चलचित्रमा अभिनय गर्न आग्रह गरेका थिए । तालिम नगरे पनि पहिल्यैदेखि गर्दै आएको नृत्यको भरमा उनी चलचित्र अभिनयमा अनुबन्धित भइन् । उच्च शिक्षाका लागि दोलखाबाट काठमाडौं पसेकी उनले अहिलेसम्म अभिनय र नृत्यसम्बन्धी तालिम लिएकी छैनन् । स्वस्फूर्त कलाले अभिनयमा हिमालसरी अग्लिँदै छिन् ।

चलचित्र छायांकनमा आफूभन्दा अग्रज कलाकारले अभिनयसम्बन्धी सुझाउँदा उनले व्यवहारमा लागू गरिहाल्छिन् । भनिन्, ‘चलचित्र हिरोजमा आमाको भूमिकामा नायिका करिश्मा मानन्धर थिइन् । म छोरीको भूमिकामा थिएँ । त्यो दृश्य पहिलो टेकमै ओके भएपछि चलचित्र निर्देशक एनबी महर्जनले खुसी हुँदै हग गरेका थिए । त्यतिबेला मैले ठिकै अभिनय गरेछु भन्ने लाग्यो ।’ सोही चलचित्र छायांकनमा नायिका मानन्धरले उनलाई अभिनयबारे ‘टिप्स’ दिएकी थिइन् । सोही चलचित्रसम्बद्ध संजोग राणाले पनि उनलाई अभिनयकलाबारे जानकारी गराएका थिए ।

मह जोडीसँग पहिल्यैदेखि नृत्यमार्फत जोडिएका उनले नेपथ्य व्यान्डसँग समेत नृत्यमार्फत काम गरेकी छन् । उनले भनिन्, ‘नृत्यको मेरो गुरु भनेकै युटुब हो ।’

अभिनयसँगै थुप्रै क्षेत्रमा फराकिलो परिचय बनाएकी उनी सामाजिक अभियन्ता पनि हुन् । उनी फेथ नेपालकी अध्यक्षको भूमिकामा छिन् । नाफारहित संस्था फेथले हिंसामा परेका महिला र बालबालिकासम्बन्धी काम गर्छ । रेयुकाई, रेडक्रम र लायन्स क्लबमा रहेर काम गरेको अनुभवले संस्था स्थापना गर्न बाध्य बनाएको उनको भनाइ छ । उनको मान्यता छ, ‘सामाजिक अभियन्ताका रूपमा केही न केही गर्नुपर्छ भनेर संस्था स्थापना भएको हो । संस्थाले हिंसा कम गर्न कानुनी, व्यावहारिक र शिक्षामार्फत सचेतना फैलाउँदै गएको छ ।’

फेथ नेपालले महिला र बालबालिकालाई हिंसाबाट जोगाउन सालिन्दा ६ महिना शैक्षिक क्रियाकलाप गर्दै आएको छ । उसले ६ महिना अन्य काम गर्छ । यस्तो शुभकार्य काठमाडौंबाहिरसमेत गरिन्छ । त्यतिमात्रै होइन, फेथले बालबालिका र सम्बन्धित बालबालिकका अभिभावकलाई समेत काठमाडौंलगायत विभिन्न जिल्लामा पठनपाठन व्यवस्था मिलाएको छ ।

नायिका पूर्णिमा लामा नायिका, सामाजिक अभियनतासँगै विभिन्न व्यवसायमा संलग्न छिन् । नायिका लामा सफल व्यवसायीसमेत हुन् । यातायात व्यवसायी उनले दुबईमा यात्रुवहाक बस सञ्चालनमा ल्याएकी छन् । भाइसँगको साझेदारीमा सञ्चालित व्यवसाय बढाउँदै लैजाने उनको योजना छ ।

व्युटीपार्लरमा भारतबाट स्नातकोत्तरसम्मको अध्ययन पार लगाएकी उनले ट्रेनिङ सेन्टर खोलेकी छन् । सेन्टरले तीनजनालाई रोजगारी दिएको छ । अस्ट्रेलियामा समेत व्युटीपार्लरमा लगानी गर्ने सोच बनाएकी उनले व्यावसायिक साझेदारीसँग कुराकानी गरिरहेकी छन् ।

जोकोही राजनीतिसँग अछुतो रहेन सक्दैनन् । सानैदेखि बोलक्कड उनले बाल्यकालदेखि नै आफूभन्दा ‘सिनियर’ सँग संगत गर्न पाइन् । स्कुल तथा कलेजमा हुने वक्तृत्व प्रतियोगितामा थुप्रैपटक पुरस्कृत भइन् ।

त्यतिमात्रै होइन, सानै भए पनि गाउँमा अन्यायमा परेकाको पक्षमा बोल्थिन् । सानैदेखि राजनीतिक नेतासँग संगतले उनलाई राजनीतिप्रति मोह बढ्दै गयो । राजनीतिलाई ‘डर्टी गेम’ भनिए पनि उनी सहमत छैनन् । राजनीतिभित्र फोहोरी खेल भयो भन्दैमा १२ हात पर बस्न हुँदैन । सफा गर्न प्रयत्न गर्ने कोसिस गर्नुपर्छ । त्यही भएकाले अभिनयबाट ‘रिटायर्ड’ पछि राजनीतिमा जोडिने उनको इच्छा छ ।

प्रतिक्रिया दिनुहोस्