आमसञ्चारमा भाषा



भाषाको बुझाइ

भाषा मानिसको सबैभन्दा व्यक्तिगत र सार्वभौम वस्तु हो । हरेक व्यक्तिको भाषा आफ्नै हुन्छ, भाषामा बोल्छ र लेख्छ । भाषामा रहेको यादृच्छिकताले भाषाको अर्थलाई पूर्णता दिन्छ । अर्थात् भाषिक अभिव्यक्तिसँगै आउने वस्तु, पदार्थ वा भावको विशेष गुणको अर्थ सञ्चार भाषाले गर्छ । त्यस आधारमा यो विचार विनिमयको विशिष्ट माध्यम बनेको पाइन्छ । यसलाई तलको उदाहरणबाट अझ सजिलो गरी अथ्र्याउन सकिन्छ ।

आगो एउटा यादृच्छिकतायुक्त भाषिक एकाइ अर्थात् शब्द हो । आगो लेख्दा अक्षरमा लेखिन्छ र भन्दा यसमा प्रयुक्त वर्णहरूको उच्चारण गरिन्छ । यी दुवै भाषा सञ्चार प्रक्रिया हुन् । तर, दुवैले आगो शब्दले मूल रूपमा आगोको पोल्ने गुणलाई बुझाउँछन् र अर्थ प्रदान गर्छन् । यहाँ आगोलाई कहिलेबाट र कसले आगो भन्न थाल्यो, त्यो यहाँ खोजीको विषय रहँदैन न त यसका ध्वनि वा वर्णहरू अथवा कुन लिपिमा त्यो लेखिएको छ भनेर अध्ययन गर्न मानिस लाग्छ ।

सर्वप्रथम आगोले सञ्चार गरेको सर्वमान्य पोल्ने गुणको अर्थ त्यसले प्रदान गरिरहेको हुन्छ । तर, आगो भन्दा वा लेख्दाका वर्ण वा लिपिसँग मानिस अभ्यस्त छ वा छैन त्यस आधारमा उसले अर्थ बुझ्ने वा नबुझ्ने हुन सक्छ । नबुझेको हकमा भाषाको यादृच्छिकतायुक्त गुणलाई बताउँदै आगो शब्दमा त्यसको गुण प्रतिस्थापन गर्दै आगोको अर्थ बताइन्छ । यसो गर्दा आगो भनेको पोल्ने, बल्ने, बल्दा रातो ज्वाला देखिने, माथिल्लो भागमा धूवाँ वा कालो हुने आदि विभिन्न गुणलाई बताएर त्यो भनेको आगो हो भनिन्छ ।

त्यसैगरी पानी शब्द र यसले दिने अर्थलाई पनि यादृच्छिकताका आधारमा भिजाउने, तलतिर बग्ने, तिर्खा मेटाउने, आदि जस्ता बेग्लाबेग्लै किसिमले बुझाउन सकिन्छ । यसो गर्दा समानार्थी अरू शब्द भए त्यसले पनि बुझाउने प्रयास गरिन्छ । तर, ती सबै प्रयास यादृच्छिकता बुझाउने हुन्छन् ।

भाषाको अर्थको यादृच्छिकता भाषाको उत्पत्तिदेखि नै आएको हुन्छ । संसारका हरेक भाषामा आगो र पानी जस्ता यावत् वस्तु, पदार्थ वा भावको यादृच्छिकता बुझाउका लागि प्रयोग गरिने बेग्लाबेग्लै शब्द हुन सक्छन् । ती सबैले एउटै अर्थ प्रदान गर्छन् । यो नै भाषाको मौलिक गुण हो । तर, भाषामा शब्दको मेल वा वाक्य संरचनाका आधारमा पनि अरू नयाँ अर्थ आउन सक्छ । जस्तो कि आगो र पानीलाई एकै पटक पदावलीका रूपमा प्रयोग गर्दा त्यसले दुई विपरीतधर्मी वस्तु भन्ने खास अर्थ बहन गर्छ । भाषाका यस्ता धेरै आर्थी रूप हुन्छन् ।

मानिसले बोलेर वा लेखेर त्यस्ता आर्थी रूपको प्रयोग गर्छ । मानवीय विचार अभिव्यक्तिको माध्यमको रूपमा भाषाले प्राविधिक काम गर्छ । त्यसका लागि बोल्दा उच्चारण अवयव र लेख्दा लिपि, अक्षर, कपी, कलम, कागज, अन्य भौतिक साधनले त्यसमा थप प्राविधिक आश्रय दिइरहेका हुन्छन् । यसरी भाषाका बोल्ने र लेख्ने रूप हुन्छन् । तिनलाई कथ्य र लेख्य भाषाका रूपमा चिनिन्छ । संसारका प्रायः सबै भाषामा लेख्य र कथ्य दुवै रूप पाइन्छन् तिनलाई वाक्प्रतीकको अभिव्यक्तिगत भिन्न पद्धतिका रूपमा लिइन्छ । यसरी भाषालाई यादृच्छिक वाक्प्रतीकको संकेतात्मक अर्थ व्यवस्था हो भनेर बुझ्न सकिन्छ ।

विचार विनिमयमा भाषा

भाषा विचार विनिमयको माध्यम हो । एउटा मानव मनको अभिव्यक्तिलाई अर्को मानव समक्ष प्रस्तुत गर्ने माध्यम भाषा हो । मानव उत्पत्तिसँगै कुनै न कुनै रूपमा यसको प्रयोग हुँदै आएको छ । भाषिक प्रयोग ध्वन्यात्मक र दृश्यात्मक दुवै रूपमा हुने गरेको पाइन्छ । भाषिक प्रस्तुति र ग्रहणका क्रममा उच्चारण तथा श्रवण अवयव तथा हाउभाउ प्रदर्शन गर्ने तथा तिनलाई ग्रहण गर्ने मानव अंग भाषिक क्रियाका माध्यम हुन् तर भाषिक क्रियाका सन्दर्भमा प्रस्तुत कर्ता र ग्रहण कर्ताबीचको भाषिक प्रसारका लागि पनि केही माध्यमको आवश्यकता पर्छ । हावा र प्रकाश तिनका दुई माध्यम रहेका छन् । ध्वन्यात्मक भाषिक अभिव्यक्तिमा हावाको माध्यमबाट र दृश्यात्मक भाषिक प्रसारलाई प्रकाशको माध्यमबाट भाषिक कार्यसम्पादनमा सहयोग पुग्छ । मूलतः भाषिक सञ्चारका यी दुई रूपबाट भाषिक क्रिया सम्पन्न हुन्छ । त्यस्ता भाषिक क्रियाले अर्थबोध गराउँछन् र आपसमा विचारको विनिमय हुन्छ । यसरी मस्तिष्कीय निर्देशनमा व्यक्त र ग्रहण हुने मानव मनको अर्थपूर्ण बोधबाट भाषिक कार्यसम्पादन हुन्छ, जसबाट विचार विनिमय सम्पन्न हुन्छ ।

भाषाले चित्र, नृत्य जस्ता दृश्यात्मक सांकेतिक क्रियाकलापले जस्तै भाषाले विचार विनिमय गर्न सहयोग गर्छ । भाषा वाक् प्रतीकहरूको यादृच्छिक व्यवस्था तथा मानव सभ्यताको सर्वप्राचीन आविष्कार पनि हो । भाषिक क्रियाकलापमा अर्थ वा भाव वा विचार सम्प्रेषण गर्दा ध्वनि उत्पादन प्रक्रिया र हावामा रहेको इथरको माध्यमबाट त्यो ध्वनि श्रोतासम्म पुग्दा त्यसले अर्थबोध गराउने गर्छ । भाषाले अर्थबोध गराउने बेलासम्मका लागि विभिन्न प्रयत्न हुन्छन् र तिनमा मानव अवयव र वातावरणीय अन्य साधनको सक्रिय तथा सहयोगी भूमिका रहेको हुन्छ ।
भाषाको आन्तरिक तथा बाह्य संरचनाको विश्लेषणको आधार भाषाको मानसिक र भौतिक रूपको भेदलाई प्रस्तुत गर्ने एउटा आधार हो । भाषाविद् नोम चम्स्कीले मानव मस्तिष्कलाई मानसिक र भौतिक आधारको प्रशोधनशाला वा प्रविधिको रूपमा उल्लेख गरेबाट भाषिक अभिव्यक्ति वा ग्रहण पनि मानसिक र भौतिक आधारकै संयोजन हो भन्न सकिन्छ । उनले मानव मस्तिष्कलाई भाषा ग्रहण गर्ने संयन्त्र भनी उल्लेख गरेका छन् ।

अर्का भाषाविद् फर्डिनान्ड सस्युरले उच्चारण र भाषामा फरक देखाए । उनको यो भिन्नता व्यक्तिगत भाषा र सामाजिक भाषा बिचको हो । उनले भाषा र वाक्लाई क्रमशः सामाजिक र व्यक्तिगत कुरा भनी विश्लेषण गरे । वाक् बोली हरेक व्यक्तिमा फरक हुने र त्यो मनोसामाजिक विषय रहने तथा भाषा व्यक्ति बोलीको औसत प्रणाली हुने कुरा उनले उल्लेख गरेका छन् । यसरी हेर्दा भाषा मनोवैज्ञानिक र बोली मनोशारीरिक विषयका रूपमा स्थापित भएको पाइन्छ ।

यसरी पूर्वीय तथा पाश्चात्य दुवै भाषिक परम्परामा भाषाको रूप ग्रहण गर्नुअघिका भाषाका अवस्थाकाबारे भिन्न रूपमा समान चिन्तन रहेको पाइन्छ । त्यस्तो चिन्तन भाषाको व्यक्त रूपमा आउँदा मानसिक र भौतिक आधारमा रहने कुरालाई भाषाविद्हरूले स्वीकार गरेको पाइन्छ । यी दुई आधारबाट व्यक्त भाषा मूलतः कथ्य र दृश्य रूपमा प्रकट हुने गरेको देखिन्छ ।

भाषा सञ्चार

जुन माध्यमबाट भए पनि भाषिक सञ्चारको अभिप्राय अर्थबोध गराएर भाषिक कार्य व्यापार गराउनु हो । अभिव्यक्त भएको भाषाको सही अर्थबोध हुँदा मात्र सही कार्यव्यापार हुन्छ । भाषाको सञ्चरणमा भौतिक वा अभौतिक (मानसिक) कुरा सहयोगी र कहिलेकाहीँ अवरोधकका रूपमा पनि आउने गर्छन् । तिनलाई भाषिक सञ्चरणका साधन वा माध्यमका रूपमा र अवरोधकका रूपमा पनि लिन सकिन्छ । वक्ताको एउटा मात्र पनि अर्थयुक्त भाषिक एकाइ अर्को व्यक्तिसम्म पुगी अर्थबोध भएपछिको भाषिक कार्यमा हुने प्रक्रिया, माध्यम वा प्रविधिको प्रयोग हुने विद्वान्हरूले उल्लेख गरेका छन् । यसलाई निम्न चित्रबाट स्पष्ट गर्न सकिन्छ ।

भाषिक सञ्चार प्रक्रिया

यस चित्रमा भाषिक सञ्चारको प्रक्रिया, त्यसमा प्रयोग हुने माध्यम वा साधनको अपरिहार्यता र साधनले भाषिक रूप वहन गर्दा माध्यम/प्रविधि अनुकूल हुने गरी स्वाभाविक रूपमा हुने संकेतन र अर्थबोध हुनु पहिले हुने प्रतिसंकेतनलाई देखाइएको छ । भाषिक सञ्चारको संकेतन र प्रतिसंकेतन भाषा सञ्चारका प्राविधिक कुरा हुन् ।

भाषिक सञ्चारमा संकेतन, माध्यम/प्रविधि र प्रतिसंकेतनको उपयोगिता र महत्व विशेष रहन्छ । संकेतन भाषिक अवरोधका रूपमा रहन्छ तर त्यसले भाषिक अभिव्यक्तिलाई माध्यम/प्रविधिअनुकूल बनाइदिन्छ र माध्यम/प्रविधिको सहायताले श्रोता/पाठक समक्ष पुर्याइदिन्छ । पुनः त्यसको प्रतिसंकेतन भई अर्थबोध हुने हुँदा यिनको अभावमा भाषिक सञ्चार अधुरो हुन्छ । यसलाई सरल रूपले बुझाउन पहाडका कन्दरामा बोल्दा वा कुनै अरू आवाज निकाल्दा आउने प्रतिध्वनि वा बन्द कोठा भित्रको आवाज भित्ताको अवरोध पार गर्दै कममात्र बाहिर आउने कुरा गर्नु उपयुक्त हुन्छ ।

पूर्वमा भाषिक अभिव्यक्तिको आफ्नै शक्ति हुन्छ । अर्थबोध गराउनका लागि त्यस शक्तिले विभिन्न प्रक्रिया अवलम्बन गर्छ । त्यसमा माध्यम वा प्रविधिको उपयोग भएको हुन्छ । शब्दको अर्थबोध गर्ने प्रक्रियालाई शक्तिग्रह वा संकेत–ग्रह भनिन्छ । ती व्याकरण, उपमान, कोश, आप्तवाक्य, व्यवहार, वाक्यशेष, विवरण र ज्ञात पदको सहचार्य रहेका छन् ।

पाश्चात्य भाषिक परम्परामा भाषिक अर्थबोधको परम्पराको अध्ययन अलि भिन्नै किसिमले भएको छ । संज्ञानात्मक वैज्ञानिक मार्क चान्गिजीले भाषा र सङ्गीत प्रकृतिबाट अनुकरण गरिएको उल्लेख गरेका छन् । उनका अनुसार मानिसको बोली प्रकृतिको आवाजलाई एकठ्ठा गर्ने गरी विशेष रूपमा संरचित छ र त्यसलाई सहज रूपमा बुझ्ने बनाउनका लागि लाखौं वर्ष लागेको छ । उनी भन्छन् – मानव विकास हुनुभन्दा धेरैअघि स्तनधारी जीवले प्रकृतिको आवाज वा ध्वनिलाई खतरा र अवसर दुवै कुरा बुझ्ने गरी सिके । त्यसैले भाषाका अतिरिक्त हाम्रो बोली ज्यादै नै स्पष्ट रूपमा प्रकृतिको ध्वनिमा आधारित रहेको छ ।

यसरी प्राकृतिक ध्वनिहरूलाई समयक्रममा संश्लेषित गर्दै अर्थपूर्ण अभिव्यक्तिका रूपमा ल्याउन नजानिनेगरी पनि भौतिक र मानसिक साधन वा माध्यमहरूको उपयोग भएको हुन्छ । साधन वा माध्यमलाई प्रविधिको रूपमा लिँदा भाषामा प्रविधिको संश्लेषण जतिबेला पनि भएको हुन्छ भन्नु उपयुक्त हुन्छ ।

सञ्चारमाध्यममा भाषा

भाषिक सञ्चार प्रक्रियामा संकेतन वा प्रतिसंकेतनमा होस् वा प्रत्यक्ष श्रव्य वा दृश्यात्मक भाषिक सञ्चारमा प्रविधिको पक्ष सशक्त रूपमा रहेको हुन्छ । तिनलाई सञ्चार माध्यमका तहमा भने छापा र प्रसारण सञ्चार माध्यमका रूपमा चिन्ने गरिएको हुन्छ । परम्परागत रूपमा प्रत्यक्षतः यी दुई भेदले भाषिक सञ्चार प्रक्रियामा लेख्य र कथ्य भेदलाई अंगीकार गर्ने गरिएको पाइन्छ । तर, सूचना प्रविधिको विकासले भाषिक विधा मिश्रणको कामसमेत गरेको छ, जसमा पाठ्य र श्रव्यदृश्य सामग्री एकै माध्यमबाट पाइने नेटपत्रिका हुने गर्छन् ।

भाषालाई मानिसको व्यक्तिगत र सार्वभौम विषयमा रूपमा यसरी बुझि सकेपछि आम सञ्चारको भाषा व्यक्ति–सामूहिक हुने कुराको परिकल्पना गर्न सकिन्छ । अर्थात् यसमा सामग्री तयारदेखि उपभोगसम्मका विभिन्न तहमा कतै व्यक्तिगत त कतै सामूहिक प्रयास भएको हुन्छ । तिनमा भाषाको कथ्य वा लेख्य जुनसुकै रूपको पनि प्रयोग हुुने गर्छ र त्यसको व्यापक प्राविधिक प्रशोधन गरेर मात्र आम सञ्चारका विधागत रूपमा व्यक्तिगत वा सामूहिक उपभोक्ता समक्ष पुग्ने गर्छ ।

छापा र विद्युतीय अर्थात् प्रसारण माध्यममा प्रयोग हुने भाषाको आफ्नै मौलिकता र विशेषता रहेको हुन्छ । यसो गर्दा सम्बन्धित माध्यमको प्रविधि सापेक्षतामा भाषाको प्रयोग हुने गरेको पाइन्छ । भाषामा हुने परिवर्तनशीलता र विकासको सार्वभौम विशेषताका आधारमा तिन भाषामा परिवर्तन गर्न खोजि रहेका हुन्छन् । तर सञ्चार माध्यमको भाषा आम प्रयोग र बुझाइका लागि हुने भएकाले भाषाको स्थिरीकरण वा मानकीकरणको अभ्यासलाई तिनले आत्मसात गर्नु आवश्यक हुन्छ ।

आमसञ्चारको नेपाली भाषाको प्रयोगलाई हेर्दा अहिले नेपाली भाषामा मानकीकरणको अभ्यास भएको पाइँदैन । एउटै विधाका पनि बेग्ला बेग्लै पत्रिका वा रेडियो वा टेलिभिजनमा प्रयुक्त भाषामा एकरूपता रहेको पाइँदैन । अझ एउटै पत्रिकामा पनि पृष्ठ वा अझ भन्ने हो भने समाचार वा विचारमा नै भाषिक वर्णविन्यास र संरचनागत भिन्नता पाइने गरेको छ ।

पूर्णतः विकास भइनसकेको र प्रविधिमा अनुकूलन भइ नसकेको भाषामा यस्ता समस्या देखा पर्न सक्छन् । तर भाषा र प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति वा संस्थाले यी समस्याको निराकरण गर्दै भाषाको संरक्षण र सम्बद्र्धनमा लाग्नु अपरिहार्य हुन्छ । नेपालमा बोलिने र लेखिने नेपाली लगायतका सबै भाषाहरू यो समस्याबाट गुज्रिइ रहेका छन् । भाषाको आमप्रयोक्ता र भाषाको व्यापार गर्ने सञ्चार माध्यमहरूले भाषाको अपरिहार्यता र संवेदनशीलता बुझेर यसको प्रयोग, संरक्षण र सम्बद्र्धनमा लाग्नु अपरिहार्य हुन्छ ।

(गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस्