गायिका मीना राईलाई घुम्न मन पर्ने ५ ठाउँ



घुमघाममा निस्कनु भनेको मनोरञ्जनमात्रै होइन, आफू बसेको समाजमा कस्ता–कस्ता मानिस बस्दारहेछन् ? उसलाई असर पार्ने कुरा के–के रहेछन् ? तिनको हालखबर के रहेछ भनेर बुझ्ने अवसर पनि हो । दुःखमा पनि आनन्द लिनु भनेको घुमघाम नै हो । घुम्दा शरीर थाके पनि मन आनन्दित हुन्छ । यो घुमघामको विशेषता हो । त्यसैले गायिका मीना राई पनि घुमघाममा निस्कन मन पराउँछन् । गायिका राईलाई घुम्न मन पर्ने पाँच गन्तव्य :

भेडेटार

छिनमै घाम लाग्ने, छिनमै पानी पर्ने भेडेटार धरान र धनकुटाको संगमस्थल हो । समुद्र सतहदेखि १,४२० मिटर उचाइमा रहेको भेडेटारको प्राकृतिक सुन्दरता देखेर बेलायतका युवराज चाल्र्ससमेत लोभिएका थिए ।

यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वकै तेस्रो र चौथो अग्ला हिमशृंखला कञ्चनजंघा र मकालु, तराईका समथर फाँट, सूर्य अस्ताउँदै गरेको दृश्य धितमरुन्जेल हेर्न पाइन्छ । बाह्रैमास बग्ने चिसो हावा त्यत्तिकै लोभलाग्दो मानिन्छ ।

कन्याम

सूर्योदयको जिल्ला भनेर चिनिने इलाममा घुम्नलायक ठाउँ धेरै छन् । त्यसमध्ये कन्याम पनि एक हो । चिया बगान हेर्न र वनभोज खान कन्याम पुग्नेको कमी छैन । घोडा चढेर चिया बगान घुम्दाको आनन्द शब्दमा वर्णन गर्न गाह्रो हुन्छ । चलचित्र वरपीपल, आमाको काखलगायत थुप्रै नेपाली चलचित्र कन्याममा छायांकन गरिएका छन् ।

हलेसी

हलेसी किरात, बौद्ध र हिन्दु धर्मावलम्बीको पवित्र स्थल हो । हलेसी मन्दिर होइन, यो प्राकृतिक गुफा हो । सो गुफालाई किरात राई समुदायले आदिम पुर्खा खोक्चिलिपाले बसोवास गर्ने भएकाले ‘खोक्चिलिपा बुक्टो’ भनेर सम्मान गर्छन् । तीनै धर्मावलम्बीले हलेसीलाई विशेष महत्वसाथ हेर्ने गरेका छन् ।

हेलम्बु

हेलम्बु सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट १४ कोस पश्चिममा रहेको छ । एकताका स्याउ खेतीका लागि प्रख्यात हेलम्बुमा हिजोआज स्याउ उत्पादन हुँदैन । हिजोआज हेलम्बुलाई गुम्बैगुम्बाको गाउँ भनेर चिनिन्छ । यहाँ साना ठूला गरी ३० गुम्बा रहेका छन् । एउटै टोलमा तीन गुम्बा देख्न सकिन्छ । यहाँ ६७५ वर्ष पुरानो गुम्बासमेत रहेको छ । यहाँको सबैभन्दा प्राचीन गुम्बा चिरिघ्याङ हो । बौद्ध शिक्षाका लागि हेलम्बु सानोसानो पाठशाला हो ।

दार्जिलिङ

दार्जिलिङको प्राकृतिक सुन्दरता अरूसँग तुलना गर्न सकिँदैन । दार्जिलिङ पुग्नेले चौरस्ता, बोटानिकल गार्डेन, जापानिज टेम्पल, नेचुरेल हिस्ट्री म्युजियम, जुलोजिकल पार्क, बतासे पुल, हिमालय माउन्टेरिङ इन्स्टिच्यु, गंगामाया पार्क, फोक्सेरिङ चिया बगान, रक गार्डेन र टाइगरहिल नपुगे यात्रा अधुरो हुन्छ । तपाईंसँग समय छ भने यहाँका पुराना गुम्बा हेर्न नछुटाउनुहोला है ।

 

प्रतिक्रिया दिनुहोस्