तेजपत्ता सेवन गर्नेको मधुमेह चट्


विगत तीन दशकदेखि हात्तीपीडित गाउँका रूपमा चिनिँदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रका रूपमा परिचित छ । तर, कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन् ।

मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा फैलिएको साबिक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन् । विगतमा भारतीय बजारमा लैजाने बिचौलिया व्यापारी तेजपत्ता किन्न गाउँगाउँ डुल्थे । यसपालि कोरोनाको डरले बाहिरबाट व्यापारी आएका छैनन् ।

चिया, मसला र औषधीका रूपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ । सुगन्धित र स्वादिष्ट हुने भएकाले खानेकुरामा पकाएरसमेत यसको उपभोग हुने गरेको छ ।

मेचीनगर–४ आमडाँगीमा १५ बिघा निजी जग्गामा चियाखेती गर्दै आएका व्यावसायिक किसान रवि नेपालले चियाको बोटलाई छायाँ दिन पाँच हजारभन्दा बढी तेजपत्ताको बोट हुर्काएका छन् । बाहुनडाँगीमा एक सयदेखि १० हजार बोटसम्म तेजपत्ता हुर्काएका किसान एक हजारसम्म हुनसक्ने उनी बताउँछन् । तर, कति किसानले यसको खेती गरेका छन् र यसबाट के कस्तो लाभ भइरहेको छ भन्नेबारे अहिलेसम्म सरकारी तहबाट खोज भएको छैन ।

बजार नपाएपछि बाख्रालाई घाँस

बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्यबराबरको तेजपत्ता बर्सेनि उत्पादन हुने देखिन्छ । बजारीकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गइरहेको र कतिपयले बाख्रालाई घाँस खुवाउने गरेको पाइएको छ । संवत् २०६७ देखि तेजपत्ता खेतीमा लागेका नेपाल बन्धु कृषि फर्मका सञ्चालक रवि नेपाल आफूले अलिकति भए पनि प्रशोधन र ब्रान्डिङ गरेर प्रदेश नम्बर १ को अधिकांश बजारमा तेजपत्ता बिक्री गर्दै आएको बताउँछन् ।

‘मैले घरेलु प्याकेजिङ उद्योग चलाएर बेच्दै आएको छु,’ नेपाल भन्छन्, ‘अधिकांश किसानले त्यसो गर्न सक्नुहुन्न । उहाँहरूको तेजपत्ता नबिकेर बाख्रालाई घाँसका रूपमा खुवाइरहनुपरेको दुःखलाग्दो अवस्था छ ।’ दसैं, तिहारजस्ता चाडबाडमा तेजपत्ताको माग ह्वात्तै बढ्थ्यो । यसपालि कोभिड–१९ को महामारीका कारण बजार सुस्ताएको हुँदा विगतजस्तो भारतीय बिचौलिया काँचो तेजपत्ता किन्न घरघरै नआएको स्थानीय किसान बताउँछन् । किन्ने भारतीय व्यापारी नआएपछि हुर्किएको तेजपत्ता कि बोटमै खेर जान्छ, कि त बाख्रालाई घाँसका रूपमा खुवाउन किसान बाध्य छन् ।

अन्तर्राष्ट्रिय बजारको खोजी

तेजपत्ताको माग अन्तर्राष्ट्रिय बजारमा राम्रो रहेको हुँदा यसको बजार विदेशमा समेत खोज्न सकिने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काले बताए । ‘झापा, उदयपुरलगायत प्रदेश नंं. १ मा ठूलो मात्रामा उत्पादन भइरहेको तेजपत्ताबारे हाम्रो चासो छ,’ खड्काले भने, ‘तर, विदेशमा पठाउनुअघि कति मात्रामा, कहाँ–कहाँ, कस्तो गुणस्तरको उत्पादन भइरहेको छ भनेर अध्ययनको जरुरी हुन्छ । हामी लगत संकलनको तयारीमा छौं ।’

बङ्गलादेशलगायतका तेस्रो मुलुकमा नेपाली कृषि र जडीबुटीजन्य उत्पादनको निर्यात सम्भावना भए पनि नेपालले नै मागबमोजिमका वस्तु लैैजान नसकेको उनको भनाइ छ । बंगलादेशमा नेपाली अदुवाको माग धेरै भएको तर निर्यातमा कठिनाइ भइरहेको उनले स्मरण गराए ।

तेजपत्ता अहिले पनि भारतबाट आयात भइरहेको पाइएको हुँदा नेपाली उत्पादनलाई स्वदेशी बजारमै बिक्री हुने वातावरण तयार पार्ने विषयमा प्राथमिकता दिइनुपर्ने महासंघ प्रदेश अध्यक्ष खड्काले जोड दिए ।

तेजपत्ता उत्पादक रव नेपालले बंगलादेशस्थित नेपाली राजदूतावासमार्फत त्यहाँका व्यवसायीसँग तेजपत्ता निर्यातका विषयमा कुराकानी अघि बढिरहेको जानकारी दिए । ‘बंगलादेशका व्यवसायीले बाहुनडाँगीको तेजपत्ताको नमुना मागेका थिए,’ निर्यातको सम्भावनाबाट उत्साहित भएको जनाउँदै उनले भने, ‘उताबाट नमुना स्वीकृत भइसकेको छ । अब सामान पठाउने प्रक्रियासम्बन्धमा काम अघि बढाउँदै छौं ।’

दुबई, कोलकाता, दिल्ली र हैदरावादबाटसमेत यसको नमुना मागिएको उनले बताए । तेजपत्तालाई कृषि वस्तुको साटो वन पैदावारका रूपमा राज्यले सूचीकृत गरेको हुँदा विदेश निर्यातमा वन कार्यालयको स्वीकृति आवश्यक परेको उनले सुनाए । जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले व्यवसायीले आफ्नो पालिकाको वडा कार्यालयबाट सिफारिस लिएर आएमा निर्यातको स्वीकृति दिइने बताए । मेचीनगरबाट केही व्यवसायी तेजपत्ताको निर्यात अनुमतिका लागि आएको घिमिरेले जानकारी दिए ।

हात्ती आतंकले तेजपत्तको खेती सुरु

हात्ती आतंक उग्र बन्दै गएपछि बाहुनडाँगीमा हात्तीले नखाने र किसानलाई फाइदा हुने वैकल्पिक खेतीका रूपमा तेजपत्ता र चिया खेती विस्तार भएको स्थानीय सामाजिक अभियन्ता गोविन्द न्यौपानेले बताए ।

अलि–अलि गर्दै अहिले ठूलो मात्रामा खेती विस्तार भइसकेको हुँदा सरकारले किसानले उत्पादन गरेको तेजपत्ताको बजारीकरणमा सघाउनुपर्ने न्यौपानेको धारणा छ । किसानले लगाएको धान, मकै, सुपारीलगायतका नगदे बाली भारततर्फबाट आउने हात्तीले सखाप पार्न थालेपछि उनीहरूले विकल्पका रूपमा तेजपत्ताको खेती गर्दै आएका हुन् ।

हात्तीले खेतीबाली नष्ट गर्न थालेपछि चिया र तेजपत्ता खेती गर्न विज्ञहरूले सुझाउन थाले । किसानले धमाधम धानखेत मासेर कसैले चिया र धेरैले तेजपत्ता खेती सुरु गरेका थिए । अहिले तिनै तेजपत्ताको बोट हुर्किएपछि उत्पादन बढेको छ । तर, बजारको खोजीतर्फ कसैको ध्यान गएन ।

सुरुका केही वर्ष उत्पादन थोरै थियो र भारतबाट आउने बिचौलिया व्यापारीले सबै किनेर लैजान्थे । भारत लगेर उतैको ब्रान्डमा नेपाली तेजपत्ता बजारमा बिक्री हुन्थ्यो । रहरले नभएर बाध्यताले सुरु भएको खेती हुनाले यसको बजार प्रवद्र्धनबारे ध्यान पुग्न नसकेको हो । अब करोडको मूल्यमा बिक्री हुन सक्ने तेजपत्ता खेर जान नदिन सरकारको समेत ध्यानाकर्षण जरुरी भइसकेको अभियन्ता न्यौपानेले बताए ।

बल्ल एउटा प्याकेजिङ उद्योग

तेजपत्ताको उत्पादन सुरु भएको एक दशक बितिसक्दा यसको प्याकेजिङ गर्ने बल्ल एउटा उद्योग खुलेको छ । चिया, सुपारीलगायतका नगदेबालीको व्यावसायिक खेती गर्दै आएका रवि नेपालले नै तेजपत्ताको प्याकेजिङ गर्ने नेपाल बन्धु कृषि फर्म सञ्चालन गरेका हुन् ।

घरमै सञ्चालित उनको प्याकेजिङ उद्योगमा स्थानीय १५ जना महिलाले रोजगारी पाएका छन् । उद्योगमा मरिच, कागती र तेजपत्ताको प्याकेजिङ हुँदै आएको छ । दसैंको समयमा पाँच हजार केजी तेजपत्ता प्याकेजिङ गरिसक्ने उनको योजना छ । छरछिमेकीले उत्पादन गरेको तेजपत्तासमेत किनेर उनले प्याकेजिङ गरेका छन् । निकट भविष्यमा तेजपत्ता, बेसार, मरिच, अदुवालगायतका उत्पादन पिसेर धूलो उत्पादन गर्न मिल स्थापना गर्ने उनले बताए ।

तेजपत्ता, मरिचजस्ता स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सरकारको कुनै पनि निकायबाट अनुदान र प्रोत्साहन नपाइएको किसानको गुनासो छ ।

मानव स्वास्थ्यमा तेजपत्ताको गुण

समुद्र सतहबाट १०० देखि २ हजार ५०० मिटरसम्मको उचाइमा फस्टाउने तेजपत्ताको वैज्ञानिक नाम ‘सिन्नामोमम तामला’ हो । यसको सदावहार झुप्प पात हालेको रूख हुन्छ । झापाको बाहुनडाँगी भूबनोटका हिसाबले तेजपत्ता खेतीका लागि अनुकूल भएको बताइएको छ ।

भिटामिन ‘ए’ र ‘सी’का साथै फोलिक एसिड नामक तत्व पाइने तेजपत्तालाई औषधीय गुणयुक्त मानिएको छ । क्यान्सर, मधुमेह र पेटसम्बन्धी समस्यामा यसको उपभोग फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ ।

सन् २०१६ मा जर्नल अफ बायोकेमिकल न्यूट्रिसनमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार मधुमेहबाट पीडितले तेजपत्ता खाँदा उपयोगी हुन्छ । यसको सेवनले बोसोजन्य पदार्थबाट उत्पन्न समस्यामा फाइदा हुने र रगतमा ग्लुकोजको मात्रा सामान्य हुने शोधमा उल्लेख छ ।

कपर, पोटासियम, क्याल्सियम र आयरनजस्ता मानव स्वास्थ्यका लागि अति आवश्यक पोषक तत्व तेजपत्तामा पाइन्छ । कब्जियत र एसिडिटीको समस्यामा तेजपत्ताले औषधिकै काम गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्