आलु सर


अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेसाले सरकारी शिक्षक हुन् । शिक्षक ऐरले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम माध्यमिक विद्यालय भातकाँडा हो । उनी सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गर्छन् । शिक्षण पेसामा आबद्ध भएको २२ वर्ष पुग्यो ।

शिक्षक ऐरको दिनचर्या फरक छ । बिहान ६ देखि ९ बजे र साँझ ५ देखि ८ बजेसम्म माटामा रमाइरहेको भेटिइन्छन् । तीन महिना आलु खेतीमा रमाउँछन् । तीन महिना काउली खेतीसँग मनोरञ्जन लिन्छन् । बाँकी समय घरवरपरका बोटबिरुवा, गाईभैंसी, माछाको हेरचाहमा बिताउँछन् ।

२० वर्षदेखि आलु खेती

प्रकाश सरले आलु खेती सुरु गरेको २० वर्ष भयो । १३ रोपनी जमिनमा आलु खेती गर्दै आएका छन् । विगतमा मकै बालीमा सीमित तडिपाटामा हिजोआज नगदे बाली खेती गरिन्छ । आलुको ‘सुपरजोन’ घोषणा भएको छ । अधिकांश स्थानीयका खेतबारी आलुको हरिया पातले हरियाली देखिन्छ ।

‘यहाँ सुरु–सुरुमा मकैमात्रै लगाउँथ्यौंं । हामी मकैमा मात्रै सीमित थियौं,’ उनले भने, ‘आलु खेतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि स्थानीयले आलु खेतीमात्रै गर्छन् ।’

सिँचाइ सुविधा नभएकाले धेरैले काम गर्ने छाडेको उदाहरण दिइन्छ । सुनाइन्छ । इच्छाशक्ति भए पुग्छ भनेजस्तै शिक्षक ऐरले खेतीभन्दा तलको खोलाबाट मोटर प्रयोग गरी सिँचाइ व्यवस्था गरेका छन् ।

सुरुमा आलु खेती गर्दा केही समस्या भोग्नुपरेको उनले सुनाए । ‘मैले १३ रोपनीमा आलु खेती गर्ने गरेको छु । सुरुमा गाईबस्तु पाल्नुपथ्र्यो । जोत्न कठिनाइ थियो,’ उनले थपे, ‘अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेसिन उपलब्ध छ । त्यसले जोत्ने काममा सहजता ल्याएको छ ।’

म्याडमको साथ

६ जनाको परिवार । उनलाई आलु खेतीमा घरपरिवारका अन्य सदस्यले पनि साथ दिइरहेका छन् । ‘तीन घन्टा बिहान र तीन घन्टा साँझ बारीमा काम गर्छौं,’ उनले जानकारी गराए, ‘आलु खेती गर्दा मलाई म्याडमले पनि सघाउनुहुन्छ । मिलेर काम गर्छौं ।’

एक याममा ६ लाख

एक याममा सरदर १२ देखि १५ टन आलु उत्पादन गर्छन् । आलु राम्रो उत्पादन भएका समयमा एक याममा ६ लाख र कम उत्पादन भएका याममा ३ लाख आम्दानी हुन्छ । बजार समस्या छैन । उत्पादित बीउ आलु नजिकैको उग्रतारा शीत भण्डार गृहमा राख्छन् । आलु रोप्ने समयमा तराईका जिल्ला कैलाली, कञ्चनपुर र पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ र डोटीका स्थानीय तहले सजिलै घरमै आलुका बीउ किन्न आउँछन् ।

प्रकाश सरले तमाम विद्यार्थीलाई औपचारिक शिक्षा दिइरहँदा आलु खेती गर्न चाहने किसानलाई आलु बीउ उत्पादन र बिक्री गरेर उदाहरणीय काम गरिरहेको स्थानीय बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन इकाइ आलु सुपरजोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ ।

सहयोग पाएपछि आलु खेतीको दायरा फराकिलो भएको उनले बताए । अहिले खायन आलु (खानका लागि लगाइएको आलु) मात्र हैन, बीउ पनि उत्पादन भइरहेको छ । खायन आलुको मूल्य प्रतिकिलो २५ देखि ३० तथा बीउ आलुको मूल्य प्रतिकिलो ७० देखि ८० पर्छ ।

‘आलु मेरो जीवन हो । व्यावसायिक आलु खेतीमा मुनाफा त छँदै छ । आनन्द पनि उत्तिकै छ,’ उनले खुसी व्यक्त गरे, ‘घरपरिवारका सदस्यले सघाउँछन् । कतिपय अवस्थामा ज्यालामा श्रमिक राख्छु ।’

विदेसिने युवालाई सुझाव

खाडी मुलुक तथा भारतीय सहर जानुभन्दा युवाले आफ्नै देशमा पसिना बगाउन सकेमा आम्दानी गर्न सकिने उनको सुझाव छ । देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने बताउँदै उनले भने, ‘युवाले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नुपर्छ । यहीं लाखौं कमाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्