एक दिनमा पाँच गीत रेकर्ड गर्ने गायिका


‘एक दिनमा ?,’ गायिका जुना प्रसाईंले सुनाइन्, ‘पाँचवटा गीतसम्म रेकर्ड गरेकी छु ।’ एक दिनमा पाँचवटा गीत रेकर्ड गर्नु भनेको सामान्य काम होइन । यही कामले पनि गायिका प्रसाईंको लोकप्रियता मापन गर्न सकिन्छ ।

 

संवत् २०५७ सालमा स्वर परीक्षा पास गरेकी उनले अहिलेसम्म ४ सयभन्दा बढी गीत रेकर्ड गराइसकेकी छन् । उनले आधुनिक, पप, लोक, राष्ट्रिय, भजन र चलचित्रका गीत गाएकी छन् । ४० भन्दा बढी चलचित्र गीत गाएकी उनको नेपाली चलचित्र पाश्र्वगायनमा लोभलाग्दो उपस्थिति देखिन्छ । त्यतिमात्रै होइन, ‘कन्सर्टमा डान्स’ गर्न मिल्ने (आइट स्टाइल) गीतसमेत गाएकी छन् ।

६ वर्षको उमेरदेखि गायिका जुना प्रसाईंले झापाका ‘स्टेज प्रोग्राम’मा गीत गाउन थालेकी हुन् । सुरु–सुरुको ‘स्टेज प्रोग्राम’मा गायक शम्भु राईको ‘आलु दम चना’ शीर्षाकृत गीत गाएको उनले अझै बिर्सेकी छैनन् । पछिल्लो पुस्ताकी चर्चामा रहेकी गायिका प्रसाईंको बुवा धनपति प्रसाईं गीतकार हुन् भने आमा चेतना प्रसाईं गायिका । उनले सम्झिन्, ‘बुवा, आमा र म एउटै मञ्चमा नाच्ने, गाउने गथ्र्यौं ।’ यस्तो सुखद संयोग थोरैलाई मात्र मिल्ला ।

उच्चशिक्षा हासिल गर्न २०५४ मा काठमाडौं पसेकी उनको जागिर, बैंक ब्यालेन्स, श्रीसम्पत्ति भनेकै गीत–संगीत हो । स्वर परीक्षालाई मात्रै आधार मान्ने हो भने उनले व्यावसायिक रूपमा गीत गाउन थालेको २० वर्ष भइसक्यो । उनले एउटा गीत गाएको पारिश्रमिक कति लिन्छिन् होला ? भनिन्, ‘अधिकतम १५ हजार र न्यूनतम ५ हजार रुपैयाँसम्म लिएकी छु । कतिपय अवस्थामा परिस्थिति हेरेर विनापारिश्रमिकसमेत गाएकी छु ।’ दिन नसक्नेबाट पारिश्रमिक नलिई चित्त बुझाउन सकिन्छ तर दिन सक्नेले समेत पारिश्रमिक दिन कन्जुस गर्दा भने नमीठो लाग्ने उनले गुनासो गरिन् ।

पद्मकन्या क्याम्पस बागबजार, काठमाडौंबाट संगीत र समाजशास्त्रमा स्नातक तहसम्मको अध्ययन पार लगाएकी उनले गायन अलावा कहिलेकाहीं गीत लेख्ने र संगीत गर्ने गर्छिन् । झापा चारपानेनिवासी उनले उल्लिखित कामका अलावा मोडलिङ गर्नसमेत भ्याएकी छन् । उनले आफैंले गाएको ‘पागल–पागल भएँ’ शीर्षाकृत गीतमा पहिलोपटक मोडलिङ गरेकी थिइन् । त्यो गीतको संगीत पनि उनैले गरेकी हुन् ।

‘नदेखेको भए हुन्थ्यो तिमीलाई’ शीर्षाकृत गीतले गायिका जुना प्रसाईंलाई चर्चामा ल्याएको हो । सर्वप्रथम परिचय गराउने गीत अहिले पनि उनलाई त्यत्तिकै मन पर्छ । उनी लामो सांगीतिक यात्रामा निस्केकी यात्री हुन् । गीत गाउनकै लागि बेलायत, हङकङ, कतार र म्यानमार पुगिसकेकी उनी सांगीतिक यात्रा अर्थपूर्ण बनाउने ध्याउन्नमा छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्