सुमधुर स्वर सुमिताको सफलता



हरेक साँझ तिम्रो यादमा जल्ने टुकी हुँ म
चुपचाप तिम्रो मनभित्र फुल्ने बुकी हुँ म

उल्लिखित गीतका गीतकार प्रतीक चाम्लिङ राईको शब्दले जति तानिन्छु, त्योभन्दा बढी गायिकाको स्वरको माधुर्यले मोहित बन्छु । हुन त गायिका सुमिता राईसँग मेरो परिचय सांगीतिक कार्यक्रममा भएको थियो । गीत–संगीतको कुराकानीक्रममा बहिनी आफूले गाएको गीतको भिडियो सेयर गरेकी थिइन् । ‘आँखै नहेरी’ प्रेमिल भावको गीतको म्युजिक भिडियो हेर्दा सुन्दा रमाइलो अनुभूति भएको थियो । भिडियो उत्कृष्टमात्रै होइन, मनोरञ्जनात्मक थियो । उक्त गीत सुनेपछि उनी पृथक अनि श्रुतिमधुर स्वरकी गायिका हुन् भन्ने अनुमान लगाएँ ।

गायिका सुमिता राई ननिटन, युकेमा श्रीमान् खरुन राई अनि दुई छोरी नैना र सगुनको साथ रहँदै आएकी छन् । उनको घर खोटाङ खार्तम्छा हो भने माइतीघर बाक्सिला । लाहुरे पारिवारिक पृष्ठभूमि रहेको उनको पापा ब्रिटिस आर्मीको रिटायर्ड गोर्खा अफिसर हुन् भने श्रीमान् पनि ब्रिटिस आर्मीकै सिपाही हुन् । घरकी माइली छोरी उनको दिदीभिनाजु र आमापापालगायत सपरिवार युकेमै बस्छन् ।

व्यस्त जीवन र आफ्नो देशभन्दा टाढा रहनुको पीडाबोध हुनु प्रवासीका निम्ति स्वाभाविकै हो । आफ्नो देशबाट जति टाढा भइन्छ, उति सम्झना गाढा हुन्छ । यस्तो समयमा पनि आफ्नो रुचि र जोशका कारण विभिन्न सिर्जनात्मक काम गर्ने सिर्जनशील धेरै छन् । तिनै साधनारत सिर्जनशीलमध्ये गायिका सुमिता राई पनि एक हुन् ।

स्कुले जीवनमा नाच्न औधी मन पराउने उनको रुचि पनि नृत्य । समयको अन्तराल र घरव्यवहारले रुचि रुचिमै थाती राखी गीत–संगीतको यात्रामा सामेल भइन् । फलस्वरूप श्रीमान्सँग पल्टनघरमा आएपछि बेलायतमा हुने प्रत्येक कार्यक्रममा आफ्नो कला प्रस्फुटन गरिन् । धेरै चर्चामा रहेका नयाँ पुराना गीत श्रोता तथा दर्शकमाझ प्रस्तुत गर्दै गएपछि उनको आवाजको खोजी हुन थाल्यो । श्रोताको अपार मायाले आफ्नै गीत रेकर्ड गर्नुपर्छ भन्ने निष्कर्षमा पुर्यायो । भिनाजु प्रतीक चाम्लिङ गीतकार हुन् भने श्रीमान् खरुन राईलाई गीत र भिडियोसम्बन्धी गहिरो ज्ञान छ । पारिवारिक माहोलले आफूलाई सिर्जनायात्रामा अघि बढाउन उत्साहित बनाएको भन्दै सुमिता राई खुसी व्यक्त गर्छिन् ।

केही गीत पहिल्यै रेकर्डिङ गरे पनि उनको गीतिएल्बम ‘सगुन’ दुई वर्षअघि सार्वजनिक भएको थियो । सगुनका अधिकांश गीतको म्युजिक भिडियो बनिसकेका छन् । म्युजिक भिडियो गायिका स्वयम्कै युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

गीतिएल्बम सगुनमा समाविष्ट ‘हरेक साँझ’ शीर्षाकृत गीतले २०२० को उत्कृष्ट आधुनिक/पप गायिकाको स्पर्श म्युजिक अवार्ड जित्न सफल भइन् । हात पारेको अवार्डले उनलाई सांगीतिक यात्रामा अघि बढ्न ऊर्जा मिलेको सुनाउँछिन्

प्रतिक्रिया दिनुहोस्