सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी



कुलुङ मातृभाषा, साहित्य, संस्कृति, वंशावलीको खोजीमा खुसुखुसु लागिपर्ने एउटा नाम हो– भूपध्वज थोमरोस् (राई) । आफू खाइनखाई भाषाको सेवामा जुट्नेमध्ये एक हुन् । हुन त अधिकांश मानिस सुखसयल, ठाँटबाँडको जिन्दगी जिउन सहर पस्छन् । तर, सोचेजस्तो र खोजेजस्तो नहुँदोरहेछ । आफ्नो इच्छाअनुसारको कर्म अँगाल्नु वैयक्तिक स्वतन्त्रता हो । सहर पस्नु सभ्यताको खोजी गर्नु पनि रहेछ ।

सभ्यता भनेको सुकिलोमुकिलो हुनु, कुरुस्तै पैसा कमाउनुमात्र होइन रहेछ । मान्छेको पहिचान प्रमुख हुँदोरहेछ । अधिक मानिस लेखपढ तथा उच्च शिक्षा हासिल गर्नकै निम्ति सहर पस्ने चलन छ । सायद यही मेसोमा सहर छिरेका हुन्– भूपध्वज थोमरोस् (राई) । उनको जन्म सोलुखुम्बुको साबिक गुदेल गाविसको नाम्लुङमा २०१३ सालमा भएको हो । बुवा अविदल र आमा सुविधनी राईका पुत्र अन्ततः भाषासेवी बन्नुभयो । पंक्तिकारसित मातृभाषाको पत्रिका प्रकाशनकै सिलसिलामा चिनाजानी भयो । मैले सम्पादन गरेको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक र भूपध्वज थोमरोस्को सम्पादनमा ‘सुक्तुम’ त्रैमासिक पत्रिका साटासाट भयो । दुवै पत्रिका ०५० देखि प्रकाशन आरम्भ भएको थियो । उनले २०५७ सम्म ‘सुक्तुम’ प्रकाशन जारी राखे । त्यसबीचमा उनी अलि गहन खोज अनुसन्धानमा लागे ।

उनका प्रकाशित कृतिहरू हुन्– (१) कुलुङ वंशावली–२०५४ काठमाडौं (कुलुङ भाषामा ६८३ पृष्ठको पुस्तक), (२) कुलुङ सांस्कृतिक अध्ययन–२०५७ (नेपाली भाषामा), (३) कुलु–नेपाली रीङबउ–२०६२ (कुलुङ राई–नेपाली शब्दकोश), (४) कुलु रीङ इम्चिम् सोक्सोबउ–२०६३
(कुलुङ राई शब्दमाला), (५) सोत्तो–कुलुचिम्–२०६४ (सोताङ–कुलुङ वंशावली), (६) नेपाली–कुलुङ राई शब्दकोश–२०६६ (नेपाली कुलु रीङ्बउ) ।

नेपाल किरात कुलुङ राई भाषा संस्कृति उत्थान संघ संस्थापक सदस्य एवम् ०४९ देखि ०५१ सम्म महासचिवसमेत भएर काम गरेका थिए । यद्यपि, नेपाली समाजमा समाजलाई एनजीओका रूपमा दर्ता गर्ने र आईएनजीओबाट सहयोग लिने प्रचलन बढ्यो । हुँदाहुँदा ‘बहुभाषा, एक जाति’का रूपमा ऐतिहासिक जातिका रूपमा रहेका किरात राईभित्र याक्खा छुट्टिन पुगे । सुनुवार छुट्न गए । कुलुङलगायतले छुट्टै जाति हौं भन्दै आवाज बुलन्द पार्न थाले । कुलुङ छुट्टै जाति बनाउन तम्सिनेहरूको ताँतीले भूपध्वजजस्ता भाषा, संस्कृतिकर्मीसमेतलाई दोमनमा पारे । यता ढल्किने कि उता भन्ने एकहदसम्म विचलनमा पारे ।

थाहा भएसम्म नेपालका गाउँघरदेखि पूर्वी सिक्किम, दार्जिलिङ, असमसम्म कुलुङको वंश खोजीमा थोमरोस् लागिपरेका छन् । उनकै शब्दमा ‘वर्तमान अवस्थामा कुलुङ भाषीहरूको बसोवास भुटान, हङकङ, भारतको दार्जिलिङ र सिक्किम क्षेत्रमा व्यापक रहेको पाइन्छ भने पूर्वी नेपालको सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लालाई कुलुङ भाषाको मूलथलो हो ।’

भूपध्वज थोमरोस्को खोजपूर्ण कार्यलाई समाजले कदर गर्नुको विकल्प छैन । त्यहीक्रममा किरात राई यायोक्खाले ०५८ सालमा ‘मदनश्वरी राई स्मृति पुरस्कार’ले सम्मानित गर्यो । उनले ०५९ देखि ‘छेलाम्तुम’ कुलुङ–नेपाली भाषाको त्रैमासिक पत्रिका प्रकाशन गर्दै आएका छन् । अनुकरणीय व्यक्तित्व अहिले पनि भीरमाहुरीझैं खुदो बटुलिरहेका छन्, सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्