सहकारी इन्स्पेक्टरको जागिर छाडेर पत्रकारिता



पत्रकार विश्वजित किरातीको जन्म संवत् १९९९ असार २९ गते साबिक छिन्ताङ–४ कुभाङ धनकुटामा भएको हो । किराती बुवा डिल्लीमान बलिहाङ बान्तावा राई र आमा तितारी छारामाका जेठो छोरा हुन् । बाजे बाघवीरको पुख्र्यौली घर भोजपुरको हतुवा हो ।

संवत् ०२३ मा धनकुटाको गोकुन्डेश्वरबाट एसएलसी गरेका उनले ०२५ मा वाराणसीको सनातन कलेजमा भर्ना भई आईए र बीएसम्मको अध्ययन पूरा गरे । उनले ०२० देखि ०२२ सम्म जिल्ला पञ्चायत धनकुटामा बहिदार, ०२२ देखि ०२६ सम्म सहकारी विभागअन्तर्गत सहकारी इन्स्पेक्टर भएर काम गरेका थिए ।

पत्रकार किरातीले ०२६ देखि ०५२ सम्म ‘न्युलाइट’ र ‘नयाँयुग’ साप्ताहिक पत्रिकाको सम्पादकको भूमिका निर्वाह गरे । यसैगरी, ‘अन्तर्वार्ता’ र ‘हलचल’ साप्ताहित र ‘नेपाल टुडे’ अंग्रेजी मासिक पत्रिकाको सम्पादक/प्रकाशक थिए । ‘नयाँयुग’ साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर उनले करिब महिना दिन जेलजीवन बिताएका थिए ।

राजनीतिक रूपमा सचेत किरातीले ०३८ र ०४२ मा धनकुटाबाट राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवारी दिएका थिए । पाँचऔंले हत्केला चिह्न लिएर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको प्रतिद्वन्द्वी उम्मेदवार बने थापाले बाजी मारे ।

छिन्ताङको पञ्चकन्या प्राथमिक विद्यालय स्थापनाकाल (०१६) मा उनले अध्यापन गरेका थिए । ०३९ मा ललितपुरको चापागाउँमा हिलटप इंग्लिस बोर्डिङ स्कुल संस्थापक, ०४९ मा काठमाडौंको चाबहिलस्थित द रोयल इंग्लिस बोर्डिङ स्कुलको संस्थापक थिए । ०२७ देखि ०५२ सम्म नेपाल पत्रकार संघको साधारण सदस्य रहेको उनको वैयक्तिक परिचयमा उल्लेख छ ।

रेडियो नेपाल, गोरखापत्र दैनिकमा लेख–रचना प्रकाशित तथा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित ‘कविता’ पत्रिकामा ०५४ बान्तावा भाषाको कविता प्रकाशित छ । उनले भारत, श्रीलंका, सिंगापुर, थाइल्यान्ड, रूस, उत्तर कोरिया भ्रमण गरेका छन् ।

ओखलढुंगाबाट धनकुटा पुगेका जम्दार छत्रबहादुर खड्काकी माइली छोरीसित प्रेमविवाह गरेका उनको जेठी श्रीमतीबाट दुई छोरा स्पेस र एपोलो तथा एक छोरी लुना छन् । उनले ०३५ मा काठमाडौंको डिल्लीबजारका रामबहादुर खड्काकी छोरी सरस्वती खड्का
(सरस्वती माता/शिवकाली माता) सँग दोस्रो विवाह गरे । ०५६ फागुन २ गते पक्षघात भएपछि उनी पत्रकारिताबाट टाढिए । करिब १४ वर्षसम्म कान्छी श्रीमती सरस्वती खड्काको स्याहारसुसारमा रहेको उनको निधन ०६७ असोज ६ गते काठमाडौंमा भएको थियो ।

२०७१ साउन १२ गते परिवारजनसित भएको भेटघाट तथा सोधपुछपछि स्वर्गीय विश्वजित किरातको निधनसँगै उनका संकलित कागजात अज्ञानतावश फालिएको थियो । उनका केही फोटा, उनीद्वारा लिखित तथा सम्पादित ‘माता श्री शिवकालीकी छोरी माता श्री सरस्वती खड्काको सत्य आत्मकथासहित अदृश्य शक्तिका दिव्य वाणीहरू’ पुस्तक, नेपाली नागरिकताको प्रमाणपत्र र सवारीसाधनको फोटोकपी, दुईपानामा उल्लेख वैयक्तिक परिचय, अन्तर्वार्ता साप्ताहिको दर्ता प्रमाणपत्र र एक अंक पत्रिका, नेपाल टुडे र हलचल साप्ताहिकको प्रमाणपत्र फोटोकपी फेलापरेका थिए ।

यसैगरी, विश्वजित किरातीले ‘दोदिखाम’ साप्ताहिक पत्रिका २०४९/०७/१८ मा जिल्ला प्रशासन काठमाडौंबाट प्रकाशन प्रमाणपत्र लिएका थिए । नेपाली, अंग्रेजी, किराती, थुलुङ, बान्तवा, लिम्बू, चाम्लिङ भाषामा प्रकाशन हुनुका साथै समाचार, विचार तथा कला र साहित्य प्रकाशन गर्ने उल्लेख छ । तर ‘दोदिखाम’ साप्ताहिक पत्रिका प्रकाशनमा आए/नआएको प्रमाण भेटिएको छैन । त्यस्तै, आसमान सुब्बाद्वारा हस्तलिखित ‘पान्दङ याक्थुङ थोक्ला’ (किरात वर्ण परिचय उपहार) किरात लिपिकको फोटोकपिसमेत फेलापरेको थियो । आवरण, देवनागरीमा दुई पाना प्राक्कथनबाहेक २० पानामा हस्तलिखित किरात लिपिमा लिम्बू शब्द र देवनागरीमा अर्थसहित अनुवाद छ । (यसबारे छुट्टै चर्चा गरिनेछ ।) उनी जुझारु अग्रज किराती पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्