अक्षर राम्रो भएकाले पत्रकारितामा जागिर



‘काठमाडौंको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसछेउको बुथमा दूध लिन जानेक्रममा मैले पत्रिका हेर्ने मौका पाएको थिएँ,’ त्यतिबेला नौ कक्षामा पढ्ने पुष्पहरि क्याम्पा राईले संवत् २०४२ तिर फर्के, ‘किनकि दूध बाँडिने बुथको सार्वजनिक भित्तामै गोरखापत्र टाँसिएको हुन्थ्यो । मलाई सम्झना भएसम्म गोरखापत्र आठ पेजको छापिन्थ्यो । महत्वपूर्ण समाचार पहिलो पेजमै हुन्थे ।’

पत्रकार राईको आँखा गोरखापत्र दैनिकको चौथो पानाको ‘सम्पादकलाई चिट्ठी’ स्तम्भमा अडिन्थ्यो । जनताका समस्या र सरोकारका विषय प्रेषकको नामसहित छोटकरीमा छापिने त्यो स्तम्भ उनका लागि त्यत्तिकै प्रिय थियो । एक दिन उनले चिट्ठी लेखेर गोरखापत्र संस्थानबाहिरको पत्रमञ्जुषा बाकसमा खसाए । पत्र धारामा आउने दूषित पिउनेपानीबारे थियो । नभन्दै केही दिनपछि उनको चिट्ठी नामसहित छापियो । खुसी र हौसलाको सीमा रहेन । त्यसपछि चिट्ठी लेख्ने र छापिने सिलसिला चलिरह्यो । उनको बुझाइ छ, ‘सायद त्यहाँबाट म पत्रकारितामा डोरिन प्रेरित भएँ ।’

एसएलसी परीक्षापछि केही महिना गणकको काम गरे । यो ०४३ सालको कुरा हो । ०१५ तिर प्राकृतिक विपत्तिले बस्ने वास र बाँच्ने आस बगाएपछि पश्चिम पहाडवासी नवलपरासी र चितवनतिर झरेका रहेछन् । तिनैको आर्थिक र सामाजिक अवस्थाबारे अध्ययन केन्द्रित थियो । अध्ययनका लागि फाराम भराउँदै हिँड्नेक्रममा एक दिन नवलपरासीको पृथ्वी बस्तीका लागि गैंडाकोटबाट उज्यालो नहुँदै हिँडे । ‘दाउन्ने पुग्दा सूर्यको पहिलो किरणले माछापुच्छ«ेको शिर रंगाएको महनमोहक दृश्य मेरो मन र मस्तिष्कमा यति गहिरोसँग बस्यो,’ उनले सुनाए, ‘मैले एकाबिहानै दाउन्ने देवीको थानमुनि शीर्षकमा संस्मरण लेखें । कक्षा १० मा पढेको डा. तारानाथ शर्माको ‘घनघस्याको उकालो काट्दा’ संस्मरणको सम्झना दिमागमा ताजै थियो । त्यसको प्रभावले संस्मरण लेख्न प्रेरित भएँ ।’ मित्र भरत कोइरालाका माध्यमबाट युगान्तर साप्ताहिकमा उनको पहिलो लेख छापियो । पत्रिकाका प्रधानसम्पादक प्रेम कैदी र कार्यकारी सम्पादक लोकेन्द्र शाह थिए ।

वैरागीजस्तो मन गर्दै कलेजबाट कोठातिर फर्कंदै थिए । यो ०४४ मंसिरको कुरा हो । बागबजारमा लोकेन्द्र शाहसँग भेट भयो । शाहले अक्षर राम्रो छ भन्दै ठहिँटीमा रहेको युगान्तरको पुर्याएर कार्यालय प्रतिनिधिको काम दिए । उनको काम पत्रिकाका लागि प्राप्त सामग्री बुझिनेगरी राम्रो अक्षरमा नयाँ पानामा सार्नुपथ्र्यो । त्यतिबेला पत्रिका छाप्न कम्पोजिसन, इम्पोजिसन, लकअप र प्रिन्टिङको चार चरण हुन्थ्यो । ‘पहिलो चरणको कम्पोजिसन निकै अप्ठ्यारो थियो । कम्पोजिटरले अक्षरका स–साना टुक्रा उल्टोबाट छिटोछिटो जोडेर शब्द, वाक्य, कोलम र पेज तयार पार्नुपथ्र्यो,’ उनले जानकारी गराए, ‘त्यसैले उच्च सीप र कौशल तर शैक्षिक योग्यता कम भएका कम्पोजिटरका लागि बुझिने अक्षर चाहिन्थ्यो । लेटर प्रेसको मृत्यु हुन लागेको त्यो जमानामा अहिलेको जस्तो सुविधा र सजिलो दुवै थिएन ।’

नेपाल टेलिभिजनका कार्यकारी सम्पादक राईको पत्रकारिताकोे पहिलो विद्यालय युगान्तर हो । धोबीचौरमा रहेको पब्लिक युथ कलेजमा बिहानको कक्षापछि नजिकै रहेको युगान्तरको कार्यालय पुगेर काम गर्थे । कैदी गोप्य रूपमा स्वायत्त कर्णालीका अभियन्ता थिएजस्तो लाग्छ । यसैगरी, खम्बुवानमा गोपाल किरातीको नाम आउँथ्यो । त्यसैताका सेतामगुराली अभियानले सबै आदिवासी जनजातिलाई सचेत र संगठित बनाउँदै थियो । युगान्तरले क्रान्तिकारी कम्युनिस्टको विचार घुमाउरोपाराले सम्प्रेषण गथ्र्यो । कम्युनिस्टहरूको गोप्य भेटघाट भइरहन्थ्यो । तर, उनलाई बूढाहरूको कुराले खासै प्रभाव पारेन । पञ्चायतको त्यो अन्तिमकालमा युगान्तरजस्तो पत्रिकामा काम गर्नु जोखिमपूर्ण थियो । तत्कालीन अञ्चलाधीश कार्यालयले गर्ने सुराकी र सेन्सरसिपको सन्त्रासमा समाचार सम्प्रेषण हुन्थे । यसैबीचमा उनले पुनर्जागरण साप्ताहिकमा कला र सिर्जना स्तम्भ लेखन थाले ।

‘नेपाल टेलिभिजनमा आबद्ध भएँ । टेलिभिजनले ठूलो आकारको टेलिपत्र नामक मासिक पत्रिका प्रकाशन सुरु गर्यो,’ उनले ०४६ भदौ सम्झे, ‘लोकेन्द्र शाह प्रधानसम्पादक हुनुहुन्थ्यो । म सहायक सम्पादक । पत्रिका लोकप्रिय भयो । तर, लगानी उठाउन सकेन । ६ महिनापछि टेलिपत्र बन्द भयो ।’ टेलिपत्र बन्द भए पनि उनको सेवाले निरन्तरता पायो । त्यसबेलाको उच्च नेतृत्वमा पनि गज्जबको समावेशी सोच थियो । उनले ०४६ कात्तिकमा नेपाल टेलिभिजनको दैनिक ज्यालादारीको नियुक्ति पाए । हाजिर भएको दिनको तलब २० रुपैयाँ हुन्थ्यो । कहिले एक, कहिले तीनमहिने करारपत्र बुझ्दै चार वर्षपछि खुला प्रतिस्पर्धाबाट स्थायी भए ।

‘नेपाल टेलिभिजन प्रवेशको समयमा वर्षा सकिँदै थियो । तर, जनआन्दोलन ०४६ को रापले हिउँदको काठमाडौंलाई तताउँदै थियो,’ उनले विगत कोट्याए, ‘त्यसै सालको चैतमा आएको आन्दोलनको आँधीले ३० वर्षे पञ्चायती व्यवस्था तहसनहस बनायो । त्यसपछि समाजका मसिना घटनादेखि विश्वका महाशक्तिहरू टुक्रिएको घटनासम्मको पहिलो समाचार लेख्ने र भन्ने अवसर पनि टेलिभिजन पत्रकारका रूपमा पाइयो ।’ यसक्रममा नेपाली समाज र राजनीतिमा उथलपुथलले ल्याएको जनयुद्ध, राजदरबार हत्याकाण्ड, शाही शासन, गणतन्त्र घोषणाजस्ता ऐतिहासिक घटना उनका लागि मात्रै नभएर, सबैका लागि अविस्मरणीय बन्यो । भनिन्छ– पत्रकारले लेख्ने समाचार इतिहासको पहिलो खेस्रा हो ।

‘पत्रकारितासँग बाँचेको जारी जीवनकालमा इतिहासका धेरै खेस्रा लेखियो,’ उनको स्वीकारोक्ति छ, ‘तर, समाचार संकलन, उत्पादन र प्रसारणको वेगमा खेस्रा न हो, सबै बासी भए । आफूसँग केवल अनुभव र अनुभूतिमात्रै बाँकी रह्यो ।’

पुष्पहरि अध्ययन नभएर, अनुभवले बनेका पत्रकार हुन् । उनले राम्रो अक्षर बनाएको भरमा अवसर पाएकोजस्तो जमाना अहिले छैन । सञ्चारले संसारलाई सानो गाउँजस्तो बनाइसक्यो । त्यसैले अबको विश्वलाई ‘डेथ अफ डिट्यान्स’ भन्न थालिएको छ । सूचना प्रविधिमा भएको विकासले समाचारमा सर्वसाधारणको पहुँच सुलभ र सजिलो बनाएको छ । त्यसले पत्रकारको भूमिकालाई पनि बढाएको छ । पछिल्ला वर्षमा पत्रकारिताका परम्परागत माध्यमबाट नयाँ पुस्ता ‘सिफ्ट’ हुँदै छ । सूचना र समाचारका लागि छनोटको प्रशस्त अवसर छ । ‘त्यसैले अबको पत्रकारिता सजिलो छैन,’ उनले बुझाइ छ, ‘तर, संसारलाई सानो बनाउने यो पेसा सम्मानित छ । किनकि मानवीय चेतनाले सिर्जना गरेको सूचनाको भोक मेटाउन सर्वश्रेष्ठ खुराक सूचना हो । समाचार हो । त्यसलाई सत्य, सन्तुलित र विश्वसनीय बनाउने पत्रकार हो । पत्रकारिताले हो ।’

प्रतिक्रिया दिनुहोस्