जाजरकोटमा टर्कीबाट ल्याइएको ओखर खेती



जाजरकोट । जिल्लाको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याइएको ‘चाङदलर’ प्रजातिका ओखर लगाइएपछि वर्षौंदेखि बाँझो रहेको जग्गा सदुपयोग भएको छ । स्थानीयले दैनिकजसो ओखरको रेखदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहलसमेत बढेको छ ।

कर्णाली प्रदेशमातहतको कृषि विकास कार्यालय जाजरकोटले लक्षित वर्ग विशेष कार्यक्रममार्फत साकियाका १०० घरधुरी किसानलाई १ हजार ५०० बिरुवा वितरण गरेको छ । किसानको जीवनस्तर उकास्दै व्यावसायिक रुपमा गति दिन ओखर खेती थालिएको प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

स्थानीय किसान रामबहादुर बुढाले भने, ‘सबै बिरुवा सित्तैमा कृषि कार्यालयले उपलब्ध गराएको हो । यसलाई राम्रोसँग हुर्काएर नतिजा निकाल्न प्रयत्न गर्छौं ।’ अधिकारीका अनुसार तीन वर्ष नर्सरीमा रहेकाले अबको तीन वर्षभित्र फल दिनेछ । यहाँको भूगोल, माटो र वातावरणीय अवस्थाअनुसार टर्की चाङदलर बिरुवा उपयुक्त हुने भएपछि रोपिएकोे हो  । टर्कीबाट कार्गो भाडासमेत गर्दा प्रतिबिरुवा ९०० परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्