पत्रकारले नबुझीकन पो लेख्छन् कि



‘हामीले विषय छान्दैदेखि गल्ती गर्छौं,’ वरिष्ठ पत्रकार मोहन मैनालीको भनाइ छ, ‘कुन विषय हो, कुन विषय होइन भनेर हामी हाम्रो अथवा जनताका तर्फबाट कहिल्यै जज गर्दैनौं । जनताका तर्फबाट हेर्दैनौं ।’

हामीलाई स्रोतले योचाहिँ विषय हो है भनिदिएपछि समाचार तथा आलेख लेख्ने बानी परेको पत्रकार मैनालीको बुझाइ छ । ‘सबैले त्यसो गरेका छन् भन्नेचाहिँ होइन,’ उनको तर्क छ, ‘आममानिसका लागि त्यो विषय हो कि होइन, त्यसलाई आफ्नो तर्फबाट हेरेर अथवा आफ्नो सक्रियताले खोज्ने चलन छैन । आमपत्रकारले यस्तो गल्ती दोहोर्याइरहन्छन् ।’

‘हामी सूचनासमेत पर्याप्त मात्रामा खोज्दैनौं । सूचना खोज्न हामीसँग समय हुँदैन,’ उनको मान्यता छ, ‘जाँगर हुँदैन । यो नभएपछि हामीले लेखेको स्टोरी पूर्ण हुँदैन । त्यसको जे प्रभाव पर्नुपर्ने हो, त्यो प्रभाव पर्न सक्दैन ।’

पत्रकारले तथ्य–तथ्यांकलाई संवेदनशील भएर रुजुसमेत गर्दैनन् । ‘कसैले के कुरा भनिदेला, कसैले के कुरा भनिदेला, त्यसैलाई हामी विश्वास गरिहाल्छौं । हामी अलि सोझो छौं,’ उनले थपे, ‘जो–कसैले जे भनिदिए पनि विश्वास गरिहाल्ने बानीले हामीलाई राम्रो गर्दैन । किनकि धेरै मानिस हामीलाई ढाँट्न बसेका हुन्छन् । उसले ढाँट्यो कि ढाँटेन भनेर हामीले जाँच–पड्तालसमेत गर्दैनौं । यो आमप्रवृत्तिजस्तै बनेको छ ।’

त्यतिमात्रै होइन, पत्रकारले नबुझीकन पो लेख्छन् कि झैं लाग्छ । कुनै कुरो कसैले भन्दा नबुझे ए यो त मैले बुझिनँ, कुनै शब्द बुझिएन भने यो शब्द बुझिनँ, यो सन्दर्भ बुझिनँ, यो भनाइ बुझिनँ भनेर सोध्दा पत्रकारलाई म त नजान्ने पो रहेछु भन्ने ‘फिल’ हुन्छ । त्यसको ‘रिफ्लेक्सन’ पत्रकारले लेखेका समाचार तथा आलेखमा पर्ने नै भयो ।

‘एकचोटि थोरै मानिसको अगाडि नजान्ने हुँदा आममानिसको अगाडि मात्र जान्ने हुन सकिन्थ्यो तर हामीले त्यसो नगर्दाचाहिँ आममानिसअघि नजान्ने हुन्छौं,’ उनले सुझाए, ‘लेख्न खोजेको विषयमा हामी आफैं अन्योलमा छौं भनेदेखिन् हामीले लेखेको समाचार पढेर पाठकले के बुझ्लान् ।’

त्यस्तै, पत्रकारले प्रस्तुति र भाषामा किन हो किन ध्यानै दिँदैनन् । ‘हाम्रो शक्ति भनेकै भाषा हो । अभिव्यक्ति हो भन्ने कुरा हामीले बिस्र्यौंजस्तो लाग्छ,’ उनले उदाहरण पेस गरे, ‘हिजोआज सबैथोक नियन्त्रणमा लिन थालियो । भीड पनि नियन्त्रण हुन्छ । भीड कहिल्यै नियन्त्रण हुँदैन । भीड त तितरबितर पो पारिन्छ ।’

हामीले लेख्ने समाचारमा आगो पनि नियन्त्रण नै गरिन्छ । आगो नियन्त्रण नभएर निभाइन्छ । हुँदाहुँदा हिजोआज रक्तचन्दनसमेत नियन्त्रण हुन थालेको छ । शुद्ध लेख्ने नै हो भने त रक्तचन्दन बरामद पो गरिन्छ त ।

‘धेरै वर्षअगाडि म र हस्त गुरुङ पत्रकारिता तालिम दिन बुटवल पुगेका थियौं । हामीले तालिम दिएको देखेर किशोर नेपालले हामीलाई व्यंग्य गर्नुभयोे,’ पत्रकार मोहन मैनालीले विगत सम्झे, ‘२०/२५ शब्द भएका पत्रकारलाई फिचर लेख्ने तालिम दिन्छौ । शब्द नभई फिचर लेखिन्छ ? मलाई अहिले पनि त्यो कुरो खड्किरहेछ ।’

साँच्चै हामीसँग शब्दै नभएको हो कि । ‘हामी वनमा लागेको आगोलाई पनि आगो नै भन्छौं,’ पत्रकार मैनालीले सम्झाए, ‘ए बाबा, वनमा लागेको आगोलाई त डढेलो पो भनिन्छ । त्यसो भन्दा पो बुझिन्छ होला । तर, तपाईं–हामी शब्द खोज्नतिर जाँगर चलाउँदैनौं । हामी एउटा शब्दसमेत हेर्दैनौं ।’

अर्काे कुरा पत्रकारले प्रस्तुतिमा समेत ध्यान दिएको पाइँदैन । हामी अरूलेभन्दा फरक किसिमले प्रस्तुत गर्ने शैली अभाव छ ।

प्रतिक्रिया दिनुहोस्