कोइँचको परम्परागत सूचना तथा सञ्चार प्रणाली


आदिवासी जनजाति कोइँचको परम्परागत संस्था कोइँच चुप्लु हो । यस सामाजिक तथा राजनीतिक संस्थामा पोइँबो–ग्याँमिखिँ, नाअसोखिँ, गाउरोखिँ, दाइसशाखिँ, मुइलि (मुलि) खिँ, ङावाखिँ, तोँखिँ, दिगारखिँ, लुमोखिँ हुन्छ । स्थानविशेष यी खिँ अर्थात् कार्यालयको नाम विभिन्न किसिमको पाइन्छ । तिनै कार्यालयबाट सरकारी वा सार्वजानिक सूचना विगतमा जारी भएजस्तै हिजोआज पनि सोही खिँबाट वैयक्तिक तथा सार्वजानिक सूचना जारी हुन्छ । कोइँच परम्परागत सूचना तथा सञ्चार प्रणालीको प्रभाव, अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था छ । सूचनालाई सूचनाका रूपमा छाड्नुभन्दा पनि कस्तो, कुन प्रक्रिया र माध्यमबाट के, कसरी सूचना पस्किँदा त्यसको प्रतिफल के–कस्तो आयो वा निस्क्यो भनी छलफल गर्ने परम्परागत चलन पनि छ । सही सूचनालाई तोडमरोड गरेको खण्डमा सूचना प्रवाहकलाई सजाय व्यवस्था पनि कोइँच चुप्लुमा पाइन्छ ।

सूचनाको प्रकृति

दामलो पाइचचा : कुनै काम गर्न सम्बन्धित व्यक्ति निकायबाट जानकारीका लागि राखिएको सूचना वा सूचकले दिने सूचनालाई दामलो भनिन्छ । सूचनालाई विशेष संकेत सूचक शब्दलाई ठूलो स्वरले कराएर वा सुसेलेर वा कुनै पनि साधन प्रयोग गरी लेखेर प्रसार गर्नुलाई दामलो पाइचचा भनिन्छ । जस्तै ः रोकाको मह काढ्दा होः होः, ख्योलो, खोइततो भनिन्छ ।

किङलो किःचा : कुनै पनि एक विशेष स्थान वा स्टेसनबाट विशेष शब्द वा बाजा वा आवाज सूचना अधिकारीले बोलेपछि त्यसलाई विशेष अन्य व्यक्तिले त्यसरी नै सम्बन्धित निकाय वा सम्बन्धित अंकगणितीय रूपमा प्रसार गर्दै जानुलाई किङ्लो भनिन्छ । यसरी दिने सूचनालाई किङ्लो भनिन्छ । जस्तै : किश खोइलि पाचा, कोङ कोरोरो फोल फोल ।

होपा शेचा वा पेरचा : होपो वा प्रमुख व्यक्तिले राज्यको नीति नियम वा थारी, प्रशासानिक कुराबारे जानकारी दिन प्रयोग गरिने एकप्रकारको बिरुवा अम्लिसोलाई होपा भनिन्छ । होपाको कुरा वा आदेश, सूचना जानकारी दिने भएको हुँदा नै यस बिरुवाको नाम होपा राखिएको हो । यसरी सम्बन्धित जनतालाई जानकारी दिन अधिकार प्राप्त अधिकारीले हातमा होपा लिएर जानकारी दिने र मान्छे नभेटिएको घरमा होपा मारु वा पालीमा सिउरिने कामलाई होपा सेचा वा पेरचा भनिन्छ ।

संवत् २०४३ सम्म दोलखा जिल्लामा र ०४५ सम्म ओखलढुंगा जिल्लामा कोइँच मुलिच (मुखिया)ले तिरो उठाउँदा यो सूचना प्रणालीको अवलम्बन गर्ने गरेका प्रमाण पाइन्छ ।

लोसपा चिपचा : कुनै पनि व्यक्ति बाटो लागेर हिँड्दा वा सिकार खेल्ना हिँड्दा पछि आउने साथीलाई सूचना दिन बाटोमा राखिने बिरुवा तितेपातीको मुन्टालाई लोसपा भनिन्छ । लोस भन्नाले झाडी लतारिएको बाटो वा गोहो भन्ने अर्थ लाग्ने हुँदा नै यस बिरुवाको नाम लोसपा राखिएको हो । मान्छे जतातिर लागेको वा गएको छ वा लासो छ, त्यतैतिर मुन्टा फर्काएर ढुंगाले थिच्नुलाई लोसपा चिपचा भनिन्छ । यसरी कतै बाटो लागिएको छ भने जता मुन्टा फर्काएर लोसपा थिचेको हो, उतातिर नै जानु भन्ने सूचना हुन्छ भने सिकारमा हिँडिएको हो भने जता मुन्टा फर्काइएको छ उतातिर सिकारी छ भन्ने अर्थ बोक्छ ।

थारो क्युअचा : कोइँच भूमिमा अझै पनि चल्तीमा रहेको साँध सिमाना छुटाउन तथा प्राकृतिक स्रोत–साधन वन, घाँस, दाउरा, खानी संरक्षणका लागि पाँच अखटा भएको काठ, ढुङ, घाँस बाँधेर भुन्ड्याइएको कुनै पनि बुट्टान वा काठको चोके किलालाई थारो भनिन्छ । थारो बाँध्ने कामलाई थारो क्युअÞचा भनिन्छ । थारो पनि विभिन्न उद्देश्यअनुसार छुट्टाछुट्टै हुन्छ । घाँस संरक्षणका लागि काठ र घाँस, ढुंगा वा खानी संरक्षणका लागि ढुंगा र काठ, वन संरक्षणका लागि काठ, ढुंगा र घाँस झुन्ड्याउने गरिन्छ । यसरी अखटा लगाएको काठले भने उक्त सूचना उल्लंघन गर्ने जोसुकैले भोग्नुपर्ने दण्ड सजायको सूचना जारी गरेको मानिन्छ । जस्तो कि पाँच अखटा भएको एउटामात्र काठ झुन्ड्याइएको भए उहिले एक मोहोर जरिवाना थियो भने उक्त पाँच अखटा भएको काठ दुईवटा भए एक रुपैयाँ जरिवाना भन्ने जानकारी गराउँथ्यो ।

यदि थारो क्युअचा कार्य अर्काको सीमा मिचेर भएको रहेछ भने जसको सीमा मिचिएको हो, उक्त व्यक्ति वा समाजले तत्काल वास्ताविक सिमानामा गएर घाँसमात्र बाँधेर थारो बाँध्नुपर्छ । यसरी थारो बाँधिएपछि पन्ध्र दिनभित्रमा दुई पक्षको मुलिच, ङावाच, गाउरोच, थुङगुच, दिगारच, तोंकुच बसेर सहमतिमा कुराको टुंगो लगाउनुपर्छ ।

लिँक्यु कोःचा : पछि हुने वा अगाडि भएको कुरा थाहा पाउन पोइँबो–ग्याँमि वा नाअसोमार्फत विशेष विधिबाट सूचना खोजी गर्नुलाई लिँक्यु भनिन्छ । देश–विदेशमा रहेका आफन्तबारे राम्रो नराम्रो अवस्था के छ जानकारी पाउन तथा भविष्यमा के घटना घट्नेछ भनी जानकारी लिन खोजिएको सूचना नै लिँक्यु हो । यो सूचना पोइँबा–ग्याँमि तथा नाअÞसोमार्फत अदृश्य शक्तिबाट प्राप्त गरिन्छ । यसरी सूचना प्राप्त गर्नुलाई लिँक्यु कोःचा भनिन्छ ।

खादिमुदि खेचचा : आदिवासी ज्ञान प्रकृति तथा वातावरणका ज्ञाता हुन भन्ने कुरामा कसैको दुईमत छैन । यसैले उनीहरूसँग विशेष किसिमको ज्ञान हुन्छ । जस्तो कि आज पानी पर्छ पर्दैन, नेङ माछाको खोलामा आए आएनन्, जाडो हुन्छ वा गर्मी ? महामारी हुन्छ वा हुँदैन । अनिकाल, सहकाल के हुन्छ सबै प्रकृति र वातावरणलाई हेरेर, देखेर, सुनेर, सुँघेर र स्पर्श अनुभूत गरेर थाहा पाउँछन् । जस्तो कि आकाशमा मेघ गर्जिंदा वा झरी पर्दा नेङ माछा खोलामा आए भन्ने । बादलको रङ वा बहाव वा अन्य कारणले पानी पर्ने नपर्ने सूचना दिनु, हावाको गतिले असिना पर्ने थाहा पाउनु, वन बर्कुला हेरेको भरमा भाले पोथी कुन मृग, घोरल वा अन्य जनवार हो भन्ने थाहा पाउनुलाई खादिमुदी खेचचा भनिन्छ ।

निसानिरसि पाचा : कुनै पनि वस्तु वा संकेत वा खानेकुरा सम्बन्धित व्यक्तिलाई दिई उसको मर्यादाक्रमअनुसार दिइने सूचनालाई निसानिरसी भनिन्छ । जस्तो कि डोलो सुपारी, आधा सुपारी कुनै शुभकार्यकोे अनुरोध गरिएको सूचना हो भने ल्वाङ कुनै पनि शुभकार्यमा गीत गाउन दिइने अनुरोध गरिएको सूचना हो । फूल, पोङ/रक्सी, ओखर विशेष चाडबाडमा दिइने अनुरोध सूचना हुन् । यसको पनि विभिन्न स्तर छन् ।

आलाप लो पाचा : कुनै पनि कुरालाई अर्को मानिसलाई समूहगत रूपमा बस्दा पनि गोप्य रूपमा वा सांकेतिक शब्द वा क्रियाकलापबाट सूचना दिनुलाई आलाप लोः भनिन्छ । यसरी सूचना दिने कार्यलाई आलाप लोः पाचा वा पाइचचा भनिन्छ । जस्तै : जिर नाइचचा, नोफा ब्लेअचा, मिच रिअचा, थुअसु पाचा ।

सूचना अधिकारी

मुलिच वा ङावाच : कोइँच समाजमा समाचार पक्का हो कि होइन भन्ने कुरा टुंगो गर्न आफ्नो परम्परागत संस्थाका पदाधिकारीलाई सोधिन्छ । यसर्थ, समाचार रुजु गर्ने माथिल्लो अधिकारी गाउँको अग्रज, समाजको पाका र मुख्य व्यक्ति ङावाच वा मुलिच हुन्छन् । हिजोआज समुदायका प्रमुखलाई मुखिया भन्ने पनि चलन छ ।

गाउरोच : कोइँच समाजमा भूमि तथा प्रसाशनसम्बन्धी सम्पूर्ण सूचना पस्किने र त्यसको अभिलेख राख्ने अधिकारीलाई गाउरोच भनिन्छ ।

दिगारच : कोइँच समाजमा धार्मिक, सांस्कृतिक तथा आपतविपतसम्बन्धी सूचना दिने तथा त्यसको अभिलेख राख्ने अधिकारीलाई दिगारच भनिन्छ । जो गाउरोचको सहायक भएर पनि काम गर्छ ।

पोइँबो–ग्याँमि : अलौकिक शक्ति प्रयोग गरेर टाढाभन्दा टाढा रहेको व्यक्तिको वस्तुस्थिति तथा भूत तथा भविष्यको सूचना दिने व्यक्तिलाई पोइँबो–ग्याँमि भनिन्छ ।

नाअसो : कुनै पनि बस्तु वा सामग्री प्रयोग गरी व्यक्ति, परिवार वा समाजमा भविष्यमा घट्ने घटनाबारे तथा विधिन्न धार्मिक, सांस्कृतिक रूपमा मानिदै आएका चाडबाड र पूजाआजासम्बन्धी सूचना दिने व्यक्तिलाई नाअÞसो भनिन्छ ।

सञ्चार प्रक्रिया

जो, जसले सूचना जारी गर्नुपर्ने ठहर गर्छ वा जसलाई आवश्यकता छ, उसले सर्वप्रथम के–कस्तो सूचना आवश्यकता हो, सुनिश्चित गर्छ ।
कोइँच चुप्लुको सार्वजनिक सूचनाको व्यहोरा सूचना अधिकारीले तयार गर्ने वा उत्पादन गर्ने गर्छ ।

पारिवारिक सूचना भए व्यक्ति वा घरपरिवारको मुलिचले तोकिएको व्यक्तिमार्पmत वा आफैं सूचनाको व्यहोरा तयार गर्ने वा उत्पादन गर्ने गर्छ ।

तत्पश्चात् सूचना माध्यमको छनोट गर्ने कार्य सुरु हुन्छ । सोहीअनुरूप सूचनाको प्रकृतिअनुसार कोइँच चुप्लुको भए होपा, अन्य भए काठ, ढुंगा, घाँस, किला, फूल, ढोल, बाँस, फक, सुपारी, ओखर, रक्सी पोङको पनि व्यवस्था गर्नुपर्छ ।

सबै कुराको टुंगो लागेपछि सूचनाको प्रकृतिअनुसार सम्बन्धित सूचनास्थलमा सूचना सार्वजनिक गर्ने वा राख्ने काम गरिन्छ ।

र, सो सूचना कत्तिको प्रचार–प्रसार भयो भनेर अनुगमन पनि निरन्तर भइरहेको हुन्छ । हेरेर, देखेर, सुनेर, अनुभूत गरेर मौखिक रूपमा एकपछि अर्को स्वतः व्यक्ति, परिवार, समाज तथा अर्को समाजमा सूचना प्रचार–प्रसार हुन्छ ।

यसरी भएको सूचनाको उपलब्धताबारे छलफल गर्ने काम कार्यक्रम सम्पन्न भएपछि जनता वा व्यक्ति, परिवार वा समाजले गुनासो गरेपछि वा नगरी उपलब्धिबारे छलफल गरिन्छ ।

सूचना स्थल

हरेक सूचनालाई बढीभन्दा बढी व्यक्ति, परिवार वा समाजमा पुर्याउन उपयुक्त माध्यम र स्थानको आवश्यक हुन्छ । कस्तो व्यक्तिलाई चाहेको सूचना जारी गरिएको हो वा पस्किएको हो ? सोहीअनुसार नाइलु (चौतरो), चुइँची (चुली), चुम्बा थारलुथेम (देउराली), ब्लाःला (दोबाटो), लेलाँ (चौबाटो), ङारिसुरि (घरको धुरी), धारा, साँघु, हाट, जात्रा, घरको विशेष कार्यक्रमजस्ता सूचना स्थल छनोट गरी सूचना जारी गर्ने वा पस्किने गरिन्छ । यो काम कोइँच चुप्लुको भए सूचना अधिकारी आफैं वा तोकेको व्यक्तिमार्पmत र व्यक्ति वा परिवारको सूचना भए सम्बन्धित व्यक्तिले जारी गर्ने वा पस्किने काम गर्छ ।

सञ्चार माध्यम वा साधन
मानिस : सर्वप्रथम त भरपर्दो र प्रभावकारी सूचना पस्किने काम अहिलेसम्म पनि घरदैलो कार्यक्रम नै हो । कोइँच समाजमा सूचनाको प्रकृति र आवश्यकतानुसार घर–घर गएर तोकिएको व्यक्ति वा स्वयम् सूचना जारी गर्ने व्यक्ति आफैंले आवश्यकतानुसार उसको क्रियाकलापबाट सूचना पस्किने काम होस् वा ढोल बजाउने काम होस् वा हरियो बाँसको ढुंग्रो फुक्ने काम होस् सजिलो र भरपर्दो माध्यम भनेको हिजो पनि मानिस थियो र अहिले पनि छ । जस्तै : खेताला डाक्नु, खेतबारीमा सिँचाइ गर्नु, तिरो तिर्नु ।

पोइँबो–ग्याँमि, नाअसो : कोइँच समाजमा पोइँबो–ग्याँमि, नाअसो आदिवासी जनजातीय कुल पुरोहित हुन् । ती कुल पुरोहितले घरबाट टाढा भएको व्यक्ति वा घटनाको सन्चो–बिसन्चो र शुभ–अशुभको सूचनाको जानकारी दिने तथा भविष्यमा घट्न सक्ने घटनाबारे जानकारी दिने गर्छ । साथै समाजमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमका मुख्य अधिकारी भएको हुँदा धेरै सूचनाका केन्द्र, स्रोत व्यक्ति तथा सूचना प्रसारक मानिन्छ ।

प्रत्यक्ष मानवीय आवाज : कुनै मानिसलाई सूचना जानकारी गराउन सुसेल्नु, डाँडामा बसेर ठूलो स्वरमा कराउनु र आवाज अगाडि बढाउने माध्यम मानव आवाज वा सुसेला हो । जस्तै : गाईले बाली खाँदा सुसेलेर कराउनु, वनकर ढेंडु बाँदर, स्याल, बाघ, भालु, चितुवा, कुँदु लखेट्नु– ओ होई, हाई–हाई, लाहाई–लाहाई ।

पशुपक्षी तथा जनावर : कोइँच समाजमा गौँथली, ढुकुर, तुबी, कालो, लाटकोसेरोलाई सूचना पस्किने पक्षीका रूपमा लिने गरिन्छ । बिरालो, कुकुरलाई सूचनावाहकका रूपमा लिने गरेको पाइन्छ । जस्तो : चिल, सिक्रे, स्याल आउँदा कुखुरा कराउनु । बाघ, भालु, स्याल देखेर गाई, भैंसी तर्सिनु, कुकुर भुक्नु । चराचुरुङ्गी अस्वाभाविक रूपमा कराएर उड्नु ।

बाजागाजाको आवाज : कतिपय अवस्था शब्दको अर्थ दिने आवाजले वा कराउनुले भन्दा पनि ढोल, घन्टी, ढ्याङ्ग्रोको बजाइको तालले के–कस्तो सूचना दिएको हो, प्रस्ट पार्ने काम गर्छ । यसर्थ, हरियो बाँसको ढुंग्रो, ढ्याङ्ग्रो, ढोल, बास्सै बाजा, टुङ्ना, क्योङ, माचिङ्गा, मादल, फाक, घन्टी पनि सूचना पस्किने असली माध्यम हुन् । जस्तै : चेँगु, कास, शाँदार पिदार गर्दा बजाइने बाजा ।

प्रकृति, विभिन्न बस्तु, यन्त्र वा औजर : प्रकृति तथा अन्य बस्तु, औजार र यन्त्र कोइँच समाजमा सूचनाका माध्यम हुन् । जस्तो : जंगलमा भएको बाख्रा एक ठाउँ जम्मा पार्नुपर्यो भने दुईवटा पात मुखमा च्यापेर बजाइन्छ । हात बजाइन्छ । विशेषगरी सिकार गर्दा विभिन्न वस्तु, औजार र यन्त्र प्रयोग गरिन्छ । ढुंगा पल्टाएर मकै छर्ने समयको सूचना पाउनु । दुई पक्षबीच झगडा हुँदा ढुंगामा पत्र बाँधेर अर्को पक्षलाई घुँयेत्रोले फालेर जानकारी गराउनु । तीरमा आगो बालेर वा कपास, चिट्ठी बाँधेर हान्नु, बाँस पड्काउनु, बन्दुक पड्काउनु ।

वर्तमान सन्दर्भमा यसको महत्व र औचित्य

इसापूर्व आठौं शताब्दीदेखि हालसम्मको समयावधिलाई पश्चिमा इतिहासमा छ/सात चरणको सूचना आन्दोलन पार गरिसकेको समयमा परम्परागत सूचना प्रणालीको चर्चा–परिचर्चा, मूलाधारका भन्न रुचाउने वा भनिनुपर्छ भनी भन्ने दाबी गर्नेका लागि अचम्म लाग्न सक्छ ।

आदिवासी जनजाति कोइँच पहिचानका लागि परम्परागत सूचना प्रणाली अति आवश्यक छ । अझै पनि कोइँच समाजमा रेडियो, टेलिभिजन, पत्रपत्रिकाको सूचनालाई आधार मानेर आफ्नो उपस्थिति जनाउने गरेको पाइँदैन न त एसएमएस, इमेल, चिट्ठीबाट दिएको सूचनालाई आधार मानेर कामकारबाही अगाडि बढाएका नै छन् । उनीहरूमा अझै पनि यी माध्यममा पूर्ण विश्वास नरहेको अनुभूति गर्न सकिन्छ । सम्बन्धित मानिस वा आधिकारिक प्रतिनिधिको उपस्थितिलाई मात्र विश्वासनीय ठान्ने चलन भएको हुँदा पनि राज्यले पस्केको कतिपय महत्वपूर्ण सूचनाबाट कोइँच वञ्चित छन् । कतिपय राज्यको सूचना प्रणाली कोइँचमैत्री छैनन् । तसर्थ, कोइँच समाजमा आधुनिक सूचना प्रणालीबाट प्रसारित सूचनामा कोइँचको पहुँच पुग्न सकेको छैन । यसैले कोइँच समाजमा परम्परागत सूचना प्रणालीको आवश्यकता देखिन्छ । कुनै पनि सूचनालाई राज्यले दोहोरो सम्प्रेषण गरी जनप्रिय र विश्वासनीय बनाउन आदिवासी जनजाति कोइँचको परम्परागत सूचना प्रणालीको महत्व रहेको छ ।

जनताको अधिकार संरक्षण गरी देशले लिएको राष्ट्रिय नीति नियमलाई कार्यान्वयनमा सहयोग गर्न, गराउन सबै वर्ग, तह, तप्का र समुदायमा सूचना प्रवाह गर्न राज्यलाई देशका विभिन्न जातजाति र आदिवासी जनजातिको सूचना प्रणालीको अध्ययन गर्न अति आवश्यकता छ । यसरी हरेक आदिवासी जनजातिको पहुँच हरेक क्षेत्र र तह–तप्कामा पुर्याई समतामूलक समावेशी धार्मिक, सांस्कृतिक, भाषिक बहुल राज्यको सुनिश्चितता वा विश्वासनीय र व्यावहारिकता प्रस्तुत गर्नु छ भने परम्परागत सूचना प्रणालीको जानकारी राख्न हरेक नीति निर्माता र प्रशासकलाई आवश्यक देखिन्छ । देश गम्भीर रूपमा राजनीतिक, संवैधानिक संकटमा परेको अवस्थामा स्थायी शान्ति स्थापनाका लागि गाउँ–गाउँदेखि प्रत्येक जाति, व्यक्ति, आदिवासी जनजातिको कार्यशैली र व्यवहारमा तीव्रता र इमानदारी स्थापित गर्न पनि परम्परागत सूचना प्रणालीको आवश्यकता देखिन्छ । यसरी परम्परागत सूचना प्रणालीको कार्यान्वयनले प्रत्येक जनतालाई उत्तरदायी र जिम्मेवारी बनाउँछ । भ्रष्टाचाररहित समाज निर्माण गर्छ । अवश्य पनि वृहत् सूचना प्रणालीको कल्पना गर्छौं भने वा राज्य वा प्रशासनले आमजनताको सूचना हक सुनिश्चित गर्ने नीति लिएको हो भने सूक्ष्म परम्परागत सूचना प्रणालीलाई पाखा लगाउन मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्