निङ्गुरोले बचाएको ६५ वर्षीया विश्वकर्माको ज्यान


पोखरा (कास्की) । ‘भूकम्पले घर भत्कायो । अहिले छाप्रोको बास भएको छ,’ जंगलमा भेटिएकी एक वृद्धाले दुःखेसो पोखिन्, ‘डोकोमा तरकारी बेचेर जेनतेन गुजारा चलेको थियो । त्यही पनि बन्द भयो ।’

रूपाताल सिनारान रहेको तालबेँसीको जंगलमा लौरोको सहायतामा डोको बोकेको अवस्थामा भेटिएकी ६५ वर्षीया विष्णुमाया विश्वकर्मा जीविकोपाजर्नका लागि निङ्गुरो खोज्न जंगल पुगेकी थिइन्् ।

बुढेसकालको शरीर । सेपिलो पाखो र चिप्लो खोलाखोल्सामा पाइने निङ्गुरो टिपेर गाउँबस्तीमा बिक्री गरी हात लागेको पैसाले दाल, चामललगायत आवश्यक सामग्री खरिद गरी छाक टार्नु उनको दिनचर्या बनेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि जारी बन्दाबन्दीले उनको दिनचर्यामा पारेको छ ।

‘सरकारले दिएको राहत खोज्नुभन्दा वनको निङ्गुरो टिपेर छाक टार्न मन पर्छ,’ उनले भनिन्, ‘यतिखेर जंगलबाट टिपेर ल्याएको निङ्गुरोे बिक्री गरेर आएको पैसाले दुःख–सुख खान पुगेको छ ।’ उनीजस्तै गरिखाने मानिस बन्दाबन्दीका कारण मारमा परेका छन् ।

बन्दाबन्दीअघि खरिद गरेको तरकारी डोकामा बोकेर स्थानीय बजारमा बिक्री गर्ने गरेको अनुभव सुनाउँदै उनले पछिल्लो समयमा भने विगतको दैनिकीको विकल्प खोज्न बाध्य भएको बताइन् । विशेषगरी यो समयमा जंगलका खोलाखोल्सामा प्रशस्त पानी निङ्गुरोे पाइने भए पनि यसपालि कम पाइएको जानकारी गराउँदै उनले सुनाइन्, ‘अन्यत्रको तुलनामा तालबेँसी खोला छेउछाउमा निङ्गुरोे बढी पाइन्छ ।’

जंगलमा दिनभरि निङ्गुरोे टिप्दा डोको भरिन्छ । मुठा बनाउँदा १० देखि १५ मुठा हुने गरेको सुनाउँदै उनेले पचघैयास्थित घरमा लगेपछि छिमेकमै मुठाको ५० रुपैयाँमा बिक्री हुने बताइन् ।

बुढेसकालको ज्यानलाई जोखिममा राखेर घर–घरमा निङ्गुरोे लैजाँदा धेरैले त खुसी भएर लिन्छन् । कोहीकोहीले त किनेको हैन सित्तैमा आएको हो, घटाएर देऊ भन्दा साह्रैै दुःख लाग्ने उनको भनाइ छ । दुई छोरा र दुई छोरीले आवश्यक पर्दा हेर्दै आएका छन् । हातखुट्टा चलिन्जेल बस्न मन लाग्दैन, त्यसैले जङ्गलमा निङ्गुरोे खोज्न आएको उनले सुनाइन् ।

बन्दाबन्दीसँगै साइकल, ठेला र भ्यानमा ल्याइएको तरकारीभन्दा विशुद्ध जंगलमा पाइने अर्गानिक पानी निङ्गुरोे, कालो निङ्गुरोे, जलुका, सिप्लिकानजस्ता विभिन्न जंगलमा उत्पादित तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्