साउदी अरबबाट फर्केपछि सुन्तलाबाटै वार्षिक २ लाख आम्दानी



पोखरा (कास्की) । विदेश बसाइ । झन्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका भीरकोट नगरपालिका–५ स्वरेक स्याङ्जाका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक दुई लाख ५० हजार आम्दानी गर्दै आएका छन् । युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदी अरबमा बिताएका ५३ वर्षीय पाण्डेले पछिल्लो १८ वर्षयता भने सुन्तला खेतीसहित अन्य तरकारी फलफूल खेती थालेका छन् ।

पोखरासहितको बजारमा अत्यधिक माग हुने गरेको स्वरेकका सुन्तला बिक्रीका लागि पहिले डोकोमा बोकेर लैजानुपर्ने भए पनि हिजोआज घरघरबाटै बिक्री हुने गरेकोमा उनले खुसी व्यक्त गरे । ‘मेरो बगैंचामा अहिले २५० बिरुवा छन् । तततततती सबै फल्यो भने पाँच लाखभन्दा बढी आम्दानी गर्न सक्छु,’ उनको भनाइ छ, ‘स्वरेकआसपासका क्षेत्रमा सुन्तला खेतीको सम्भावना धेरै भए पनि यसतर्फ स्थानीय आकर्षित छैनन् ।’

प्याराग्लाइडिङको विश्वकपसमेत सम्पन्न भइसकेको स्वरेकलाई नेपाल सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यमा सूचीकृत गरेपछि स्थानीयालाई ठूलै आशा जगाएको छ । बढ्दो पर्यटकको आगमनसँगै सुन्तलासहित यहाँ उत्पादित फलफूल तथा तरकारीले स्थानीयस्तरमै बजार पाउने सम्भावना रहेको पाण्डेले सुनाए । एक छोरा, दुई छोरीका अभिभावक उनले व्यावसायिक कृषिकै माध्यमबाट परिवारको पालनपोषणका साथै शिक्षादीक्षा गराएका हुन् । रोजगारी खोजीमा बिदेसिएका युवालाई व्यावसायिक सुन्तला खेतीका साथै अन्य कृषिजन्य उत्पादनले खुसी र सुखी जीवनयापन गर्न सकिने दह्रिलो प्रेरणा स्रोत पाण्डे बनेका छन् ।

‘स्वरेकमा सुन्तला खेतीका साथै कोदो, मकै, भटमास आदिको राम्रो उत्पादन हुन्छ,’ उनले थपे, ‘बाटोको सुविधासमेत भएका कारण उत्पादित वस्तुले बजार पाउँदैन कि भन्ने चिन्ता कत्ति लिनुपर्दैन ।’ उनलाई व्यावायिक कृषिका लागि श्रीमती नेत्रकुमारी पाण्डेले दैनिक सघाउँदै आएकी छन् । श्रीमतीको प्रेरणा एवम् सहयोगले आफूलाई अझै क्रियाशील बनाउने उनले बताए ।

उत्पादित सुन्तालाको बजार मूल्य राम्रो भए पनि कृषकले पाउने मूल्य भने निकै कम रहेको कृषकको गुनासो छ । ‘बजारमा उपभोक्ताले प्रतिकिलो १०० सम्म तिर्नुपरेको वास्तविकतामा हामीले यहाँबाट प्रतिकिलो २५ देखि ३० रुपैयाँमा बेच्नुपरेको छ,’ उनले दुःखेसो पोखे, ‘कृषकले मूल्य पाएका छैनन् नै उपभोक्ता पनि नराम्रोसँग ठगिएका छन् ।’ कृषक र उपभोक्ताले सही मूल्य पाउनेगरी बजार व्यवस्थापनमा सरकारको चासो जानु आवश्यक छ ।

स्याङ्जामा सुन्तलाको व्यावसायिक खेतीको विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनसमेत सञ्चालनमा आएको छ । उक्त कार्यालयका अनुसार गत असोज २१ गते परेको असिनाका कारण यस वर्ष स्याङ्जामा लगभग दुई करोडको सुन्तला नष्ट भएको थियो ।

प्राकृतिक प्रकोपका कारण कृषकले भोग्नुपर्ने नोक्सानी दृष्टिगत गरी राज्यले उचित राहत दिनुपर्ने कृषक बताउँछन् । स्याङ्जाको स्वरेक पर्यटकीयस्थल मात्र नभई, कृषिजन्य उत्पादनका दृष्टिले उर्वर भूमि भएको नमुना स्वरेक सहयोगी समाज स्याङ्जा अध्यक्ष घनश्याम पाण्डेले बताए ।

पर्यटकीयस्थल स्वरेकमा सुन्तलालगायतका फलफूल र तरकारी खेतीको पर्याप्त सम्भावना हुने भएकाले यहाँका युवा रोजगारीको खोजीमा बिदेसिनु पाण्डेले जानकारी गराए । ‘युवालाई यहीँ आकर्षित गर्ने सरकारले पनि कार्यक्रम ल्याउन आवश्यक छ,’ उनले भने, ‘स्वरेकका सुन्तलामा सुनौलो भविष्य छन् । यसको भरपुर उपयोगको वातावरण तयार गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्