‘तिम्रो पत्रकारिताले देशको गरिबी कति प्रतिशतले घट्यो ?’ सयौं चेलालाई सोध्ने प्रश्न नै यही हो । नेपाली पत्रकारिताका गुरु प्राध्यापक लालध्वज देउसा राई यसरी नै सोध्छन् । त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर हासिल गरेका आमविद्यार्थीका निम्ति ‘देउसा सर’ प्रिय नाम हो ।
सन् १९६७ मा गोरखापत्र संस्थानले ‘दी राइजिङ नेपाल’ अंग्रेजी दैनिक प्रकाशन भएको दुई वर्ष भएको थियो । उपसम्पादकमा विज्ञापन खुलेको थियो । लालध्वजले पहिलो नम्बर नाम निकाले ।
समाचार सम्पादक भएर काम गरेको १० वर्ष पुग्दै थियो । त्यसपछि देउसाको जीवनले अर्को मोड आयो । मुलुकको जेठो त्रिभुवन विश्वविद्यालय (स्थापना २०१६) ले आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन तयारी गर्दै थियो । यो ०३३ सालतिरको कुरा हो । त्रिविको नियमानुअनुसार सम्बन्धित विषयमा स्नातकोत्तर गरेको व्यक्ति र उनको प्रमाणपत्रको आवश्यकता पर्यो । योग्य व्यक्तिको व्यापक खोजी हुँदा गोरखापत्र संस्थानअन्तर्गत प्रकाशित ‘दी राइजिङ नेपाल’ का समाचार सम्पादक लाल देउसा फेलापरे । त्रिविले उनै देउसालाई संस्थापक विभागप्रमुख बनाई पत्रकारिता विषयको पाठ्यक्रम पाठ्यपुस्तक निर्माण गरी ०३३ साउन १ गतेबाट पठनपाठन सुरु गर्यो ।
पत्रकारितामा डिग्री गरेका कोही थिएनौं । लाल देउसामात्र थिएछन् । त्यसरी पत्रकारितामा स्नातकोत्तर हासिल पहिलो नेपालीकै रूपमा देउसाले अवसर पाएका हुन् ।’ (वरिष्ठ पत्रकार भारतदत्त कोइराला, २०५६ असोज १५ गते नेपाल प्रेस इन्स्टिच्युटमा गरिएको कुराकानी) ।
देउसा सरले नेपाली पत्रकारिताको प्राज्ञिक ज्ञान प्रवद्र्धन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालय निमायनुसार उमेरहदका कारण ०६१ मा अवकाश लिए । त्यसपछि पनि करार सेवामा प्राध्यापन गर्दै आएका छन् ।
पुख्र्यौली थलो सोलुखुम्बुको देउसा गाउँ हो । बाजेकै पालामा बसाइँ सरेर दार्जिलिङ पुगेका थिए । गाउँकै सम्झनामा ‘देउसा राई’ बन्न पुगेका हुन् । लाल देउसाको जन्म सन् १९३३ जनवरी २६ तारिख गान्तोक, सिक्किममा भएको हो । उनले प्राथमिक र माध्यमिक शिक्षा सिक्किमबाट, कलकत्ता विश्वविद्यालयबाट एलएलबी र एमए जर्नालिजम हासिल गरेका छन् । कानुन पढेपछि लाल देउसा त्यतिबेला कलकत्ता हाई कोर्टमा एक वर्षसम्म अधिवक्ता भएर काम गरे । ‘सिद्धान्तलाई व्यवहारमा ल्याउन गाह्रोमात्र होइन, कानुनी पेसा चरित्रमा नअटाउने भएपछि आफू पत्रकारितामा लागेको,’ उनको कथन छ ।
गुह्य कुरो यस्तो छ । बाजे अगमसिंह देउसा राई (थुलुङ) नेपाली भाषा सम्बद्र्धनका योद्धा हुन् । जो आफैंले प्रेस (छापाखाना) स्थापना गरेर नेपाली भाषाको सेवा गरे । थुलुङ भाषामा ‘आसलच्छी शिक्षा’ पुस्तक लेखेर प्रकाशनमा ल्याए । अगमसिंहले नाति लालध्वजलाई सम्झाउँथे, ‘पत्रकारिता विश्वको उत्कृष्ट पेसामध्ये एक हो । यो पेसा कुनै जात, तह र तप्काले गर्ने भन्ने छैन ।’
अगमसिंहका जेठो छोरो चन्द्रध्वज इन्जिनियर बने । कान्छो नन्दध्वज बाबुको बिँडो थामेर बसे । ‘आखिरमा पशुपतिको शरणमा बस्नू’ भन्ने बाबुको वचन शिरोपर गरी सिक्किमको सुविधा छाडेर इन्जिनियर चन्द्रध्वज देउसा राई श्रीमती शुभलक्ष्मी, छोराछोरीसाथ नेपाल फर्किए । काठमाडौंको बालाजु हाइटमा जग्गा किनेर बसोबास थाले । उनैका दुई छोरा लालध्वज र चित्राङ्गध्वज तथा छोरी हरि देउसा राई परिवार त्यही घरघरेडीमा बसेको आधा शताब्दीभन्दा बढी पुगेको छ । लालध्वज परिवारमा श्रीमती मनकुमारी, छोरा आदित्य (एरोनटिकल इन्जिनियर) र छोरी सावाली (इन्भाइरोनमेन्ट इन्जिनियर) छन् । पुख्र्यौली थलोमा दाजुभाइ छँदै छन् । वंशसित अंश नलिई भौतिक चिनोमात्र लिएको जनाउँदै भन्छन्, ‘हाम्रा मूल पुस्ता रामलु हुन् । पन्ध्र पुस्ताको वंशावली मसित छ । घरको एउटा खोपीमा तिनै वंश र पुर्खाको चिनोस्वरूपको तरबार र तुलो पनि मस“गै छ ।’
लाल देउसा युएन अरेस्पोन्डेन्टस् एसोसियसनबाट सन् १९७५ मा ‘डाग ह्याम्मरक्जोल्ड फेलोसिप’ प्राप्त पहिलो नेपाली हुन् । लाइन्स क्लब एन्ड इमानिसी मेमोरियल फेलोसिप ट्रस्ट एवार्ड १९९९ र इडिटर्स गाइड अफ नेपाल २००१, किरात राई यायोक्खा (२०६५) बाट ‘किरात व्यक्तित्व सम्मान’ बाट उनी सम्मानित भइसकेका छन् ।
हुमेन राइट्स इन हिन्दु–बुद्धिस्ट टे«डिसन (१९९५), मास मेडिया इन नेपाल : ओरिजिन्स एन्ड ग्रोथ इन दी इन्डियन कन्टेक्सट (१९९७), बहुवादी समाजमा नेपाली पत्रकारिता (१९९७) का लेखक लाल देउसा राईका नेपाली पत्रकारिता ः व्यवस्था र व्यवहार (१९९८), अखबारी पत्रकारिता (२०५०), इफेक्टिभनेस अफ नेप्लिज मास मेडिया इन कम्युनिटिज, कन्टेन्ट एनालाइसिस अफ नेसनल न्युज सर्भिस (रासस) लगायत पुस्तक प्रकाशित छन् ।
प्राध्यापनका अतिरिक्त आफूलाई स्वतन्त्र पत्रकारका रूपमा चिनाउने देउसाले अनुसन्धान कार्यसमेत गर्दै आएका छन् । नेपाल प्रेस इन्स्टिच्युट (१९७९) स्थापनाकालदेखि रिसर्च कन्सल्टेन्ट हुन् । त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का अनुसन्धाता, युनेस्को, युनिसेफका कन्सल्टेन्टको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।
‘किराती गौरवशाली जाति हौं । साकेला नाचेरमात्रै पनि पहिचान जोगिन्न । यो संस्कृति परम्परामात्रै हो । यसको उदार परिभाषा गरेर जीवन धान्ने तुल्याउन आवश्यक छ,’ उनले सुझाए, ‘गौरवलाई संरक्षण गर्न बौद्धिक प्रतिस्पर्धामा उत्रिन सक्नुपर्छ । प्रतिस्पर्धी युगमा छौं । सबैप्रति सद्भाव राखेर काम गर्न सक्नुपर्छ । यसमा पत्रकारिताले ठूलो भूमिका निर्वाह गर्न सक्छ ।’ पत्रकारिताले गरिबी घटाउने, साक्षरता बढाउने अनि दुई ठूला देशको बीचमा रहेको नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुकका नेपाली नागरिकबीच सद्भाव जरुरी हुनेप्रति उनले ध्यानाकर्षण गराउँदै आएका छन् ।
स्वतन्त्र पत्रकारका रूपमा स्थापित लालध्वज देउसा राई प्राध्यापनका अतिरिक्त आफ्नो काममात्रै गर्ने, गरेको कामलाई प्रवद्र्धन नगर्ने अनि किराती हुँ भन्ने किराती समुदायसित सम्पर्क विस्तार नगर्ने स्वभाव रहेको टिप्पणी हुने गरेको छ । ‘विशुद्ध ‘नेपाली’ मात्र बन्न खोज्नु पनि बौद्धिकताको हद हो । किनभने दक्षिण एसियामै पहिचानको राजनीतिले जरो गाडेको छ,’ टिप्पणी गर्नेहरू भन्छन्, ‘वर्तमान पुस्ताले ‘कुन राई ?’ भनेर सोध्छन् । भावी पुस्ताले पनि सोधिरहनेछन् । त्यतिखेर ‘देउसा राई’ मात्र भनेर पुग्दैन । पेसागत रूपमा लेखिएका पुस्तकमात्र पर्याप्त हुने छैन । प्राज्ञिक अगुवाहरूले वंशीय इतिहासको जोहो आफैंले गर्दै जानुपर्छ ।’
सन्दर्भस्रोत :
राई, पदम (सं.), किरात जर्नल, वर्ष १, अंक १, २०६५ चैत, काठमाडौं : किरात राई पत्रकार संघ, केन्द्रीय कार्यसमिति, पाना नं. ७६–८६ ।
NEPAL WHO’S WHO, Third Edition, 2010, Resear Centre for Communication and Development (RECOD), New Road, Kathmandu, Nepal Secont, pg 564